समलिंगी तेस्रोलिंगीलाई एमाले—माओवादीले गरे नजरअन्दाज

समलिंगी तेस्रोलिंगीलाई एमाले—माओवादीले गरे नजरअन्दाज

काठमाडौं (पहिचान) कार्तिक २० – नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको संयुक्त बाम गठबन्धनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नजर अन्दाज गरेको छ । आफ्नो चुनावी घोषणापत्रमा यौनिक तथ लैंगिक अल्पसंख्यक समुदायलाई कतै पनि उल्लेख गरिएको छैन ।

कुल जनसंख्याको करिब १० प्रतिशत रहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगी भन्ने शब्द बाम गठबन्धनको घोषणापत्रमा काहिँ पनि उल्लेख छैन ।

‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !’ भन्ने वाक्यबाट सुरु गरिएको घोषणापत्रले महिला, बालबालिका, दलित तथा अन्य विभिन्न पिछडीएका तथा लोपोन्मुख वर्ग तथा समुदायलाई समेटे पनि समलिंगी तेस्रोलिंगीलाई भने समावेश गरेको छैन ।

संविधानमा समेत उल्लेख गरिएको र राज्यले नागरिकता र पार्सपोर्टसमेत दिन थालेको वर्गलाई बाम गठबन्धनले छुटाएको हो ।

नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले भने स्पष्ट रुपमा समलिंगी तेस्रोलिंगी शब्द प्रयोग गर्दै उनीहरुका मुद्दा र सवाललाई उठाउँदै उनीहरुको अधिकारका लागि सहजीकरण गर्ने उल्लेख गरेका छन् । नयाँ शक्ति पार्टीले तेस्रोलिंगी महिलालाई समानुपातिकतर्फ उमेदवार नै बनाएको छ । नयाँ शक्तिले तेस्रोलिंगी महिला पिंकी गुरुङलाई उमेदवार बनाएको हो ।

संविधानसभा निर्वाचन अगाडि समलिंगी तेस्रोलिंगीहरुलाई पार्टी केन्द्रीय कार्यालयमा भब्य कार्यक्रमको आयोजना गरी एमालेले आफ्नो पार्टी समलिंगी तेस्रोलिंगीको अभिभावक भएको सार्वजनिक उद्घोष गरेको थियो । तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनालले एमाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अभिभावक भएको बताउँदै पार्टीको केन्द्रीय तह देखि स्थानीय तहसम्म प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका थिए । यद्यपी उक्त प्रतिबद्धता एमालेले लत्याएको थियो ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.