निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आँखा चिह्नमा भोट माग्दै तेस्रोलिंगी सेलिब्रेटी

आँखा चिह्नमा भोट माग्दै तेस्रोलिंगी सेलिब्रेटी

840
SHARES

 

नितु घले/काठमाडौं (पहचिान) मंसिर १७ – यसपटकको भोट एउटा आँखा चिह्नमा हाल्न गाउँका सबैलाई फोन गरिसकेकी छन् मिस पिंक २०१६ एनी लामाले । लामा विराटनगरकी स्थायी बासिन्दा हुन् तर फेसन डिजाइनरका रूपमा काठमाडैाँमा अहिले काम गर्दै आएकी छन् । अरू बेलाभन्दा उनी यसपटकको चुनावमा निकै उत्साहित छिन् । कारण, तेस्रोलिंगी समुदायमा आमाको भूमिकामा आएकी पिंकी गुरुङलाई नयाँ शक्तिले समानुपातिक तर्फबाट उम्मेदवार बनाएको छ ।

हुन त एनीको नाम मतदाता सूचीमा छैन तर पनि उनी उत्साहित छिन् । उनले पहिला नै पुरुषको नामबाट नागरिकता लिएकी छन् तर महिलाका रूपमा लिन सकेकी छैनन् । यस्ता खालका प्राविधिक समस्याका कारण आफूलाई मन परेको व्यक्तिलाई भोट दिन नपाएकोमा दिक्क मान्छिन् उनी । भनिन्, ‘यो समस्या मैले मात्र होइन, सिंगो तेस्रोलिंगी समुदायले भोगिरहेको छ ।

सम्भवतः यस्ता समस्या मम्मी (पिंकी)को जितसँगै समाधान हुनेछ, अन्यथा तेस्रोलिंगी अन्योलमा बाँच्नुपर्ने देखिन्छ ।’एनी भन्छिन्, ‘यसपटक हामीले समान अधिकार, लैंगिक समानता, सामाजिक स्वीकार्यता, समलिंगी विवाहलाई मान्यता लगायतका मुद्दा उठाएका छौं ।’ सामाजिक सञ्जालमा पनि तेस्रोलिंगी उम्मेदवार पिंकीलाई जिताउन लागिपरेका तेस्रोलिंगीको जमात निकै ठूलो छ ।

विगत तीन वर्षदेखि मेकअप आर्टिस्टका रूपमा काम गर्दै आएकी नारायणगढकी सरगम गुरुङ पनि तेस्रोलिंगीको उम्मेदवारीले आफ्नो समुदायको भलो गर्ने बताउँछिन् । सरगमका अनुसार यो चुनावले पक्कै पनि तेस्रोलिंगी समुदायले भोग्दै आएका समस्या समाधान हुनेछन् । समाजले स्वीकार गर्ने अवस्था नभएका कारण उनी अहिलेसम्म खुलेकी छैनन् । तर, घरमा भने तेस्रोलिंगीका रूपमा खुल्दैछिन् ।

सामाजिक अस्वीकार्यताका कारण उनले नागरिकताजस्तो महत्वपूर्ण कागज बनाएकी छैनन् । जन्मँदा बालकका रूपमा जन्मिएकी उनलाई अहिले महिलाका रूपमा नागरिकता चाहिएको छ । ‘तर यो कुरा अरूले बुझ्दैनन्’, भनिन्, ‘यस्ता कुरा राज्यले बुझिदिए हुन्थ्यो । कानुनतः लागू गरिदिए हुन्थ्यो।’

अर्का गुरुङ थरका मेकअप आर्टिस्ट (नाम खुलाउन नरुचाएका) सेलिबे्रटी मिडियामा बारम्बार छाउँछन् तर परिवार र समाजमा खुलेका छैनन् । चितवनबाट काठमाडौं आएर सन् २००९ देखि मेकअप स्टुडियो सञ्चालन गरिरहेका उनी भन्छिन्, ‘पहिला त सामाजिक स्वीकार्यता हुनुपर्छ । जसरी महिला र पुरुषलाई हकअधिकार दिइन्छ, त्यसैगरी तेस्रोलिंगीलाई पनि कुनै अधिकारबाट वञ्चित गर्नु हुँदैन ।

हाम्रा यस्ता संवेदनशील मुद्दा पिंकीको उम्मेदवारीले राज्यलाई बुझ्न कर लाग्छ ।’ भन्छिन्, ‘हामीलाई सरकारी जागिरका लागि ढोका खुल्नुपर्छ । महिला, अपांगता, दलितलाई दिएजस्तै तेस्रोलिंगीलाई अवसर दिनुपर्छ । शिक्षाका लागि पनि कोटा छुट्याउनुपर्छ । अरूलाई दिएजस्तै अधिकार दिनुपर्‍यो ।’

एनी, सरगमजस्तै सम्पूर्ण तेस्रोलिंगीको समर्थन पिंकीलाई छ । उनको जित तेस्रोलिंगी समुदायको उत्थानका लागि कोशेढुंगा बन्नेमा विश्वस्त छन् तेस्रोलिंगी । तेस्रोलिंगी समुदायको प्रतिनिधित्व गरेर नयाँ शक्तिबाट उठेकी पिंकी पनि मुलुकभरको ६ लाख तेस्रोलिंगीको समर्थन रहेको दाबी गर्छिन् । पार्टीले गर्दै आएका कार्यक्रम तथा र्‍यालीमा तेस्रोलिंगीको ठूलो जमात देखिँदै आएको छ ।

साभार : अन्नपूर्णपोष्ट

समाचार शेयर गर्नुहोस्
840
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.