१३ बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै दोस्रो एलविटि सम्मेलन सम्पन्न, देवानी र फौजदारी संहितामा आफ्नो बिषय सम्बोधन नभएकोमा खेद व्यक्त

१३ बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै दोस्रो एलविटि सम्मेलन सम्पन्न, देवानी र फौजदारी संहितामा आफ्नो बिषय सम्बोधन नभएकोमा खेद व्यक्त

काठमाडौं (पहिचान) पुस ५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले देवानी र फौजदारी संहितामा आफ्नो बिषय नसमेटेको भन्दै खेद व्यक्त गरेको छ । नील हिरा समाजले काठमाडौंमा गरेको दुई दिने समलिंगी महिला, दुईलिंगी महिला र तेस्रोलिंगी पुरुषहरुको राष्ट्रिय सम्मेलनमा समलिंगी विवाह, धर्मसन्तान ग्रहण जस्ता बिषय सम्बोधन नभएकोमा खेद व्यक्त गरेको हो ।

१३ बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै सकिएको सम्मेलनले नेपालको एलविटि अभियानलाई महिला आन्दोलनसँग समन्वय गर्दै यौनिकता र यसका विविधताको विषयलाई निरन्तर रुपले जनस्तरमा बुझाउने प्रतिवद्धता व्यक्त गरेको छ । सम्मेलनले वैवाहिक समानता कायम गर्नका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले तयार पारेको अवधारणापत्र स्वीकृत गराई वैवाहिक समानताको कानुन निर्माणमा सरोकारवाला निकायसँग नियमित वकालतका कार्यक्रम गर्न समुदाय प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

सम्मेलनले जारी गरेको घोषणा पत्रमा एलविटि समुदायका जोडीबाट जन्मेका बच्चा वा धर्मसन्तानलाई नागरिक हैसियत प्रदान गर्न राज्यबाट पाउनुपर्ने प्रमाणपत्र वितरणको प्रावधान निर्माण गर्ने साथै सामाजिक सुरक्षा (एकल महिला भत्ता) प्राप्तिको लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, केन्द्रीय र प्रदेशिक विधायकहरु तथा मानव अधिकारकर्मीहरुसँग सहकार्य गरी वकालत गर्न प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।

नेपाल सरकारको सामाजिक समानता कायम गर्ने नीति अन्तर्गत २०३० सम्म कसैलाई पनि पछाडी नछोड्ने लक्ष्य प्राप्तिको लागि लिएको समावेशीताको सिद्धान्त अन्तर्गत एलविटि समुहलाई पनि आरक्षणमा पार्नको लागि प्रयास गर्ने सम्मेलनले घोषणा गरेको छ । सम्मेलनले यसका लागि समावेशीताको परिभाषालाई अझ बृहत र स्पष्ट बनाउँन सम्बन्धित निकायमा अभिमुखीकरण सञ्चालनका लागि तत्पर रहेको जनाएको छ । प्रजनन स्वास्थ्यको कानुनी प्रावधानमा समलिंगी तथा द्विलिंगी महिलाको यौनिकता, तेस्रोलिंगी महिला र पुरुष जस्ता शब्दहरुलाई स्पष्ट ढंगले तोकेर उनीहरुको स्वास्थ्य व्यवस्था तयार पार्न एलविटि समुदायले सम्बन्धित निकायलाई दवाब दिने घोषणापत्रमा उल्लेख छ ।

एलविटि समुदायका लागि मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु कार्यन्वयनका लागि विभिन्न तालिम तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न समुदाय तयार रहेको भन्दै घोषणपत्रमा घरेलु हिंसाको कानुनमा व्यक्ति–व्यक्ति विचको हिंसाको विषयलाई स्पष्ट पार्न वकालत गर्ने प्रतिवद्धता जनाइएको छ । साथै हिंसा न्युनीकरण गर्न पीडकलाई कारवाही तथा पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय प्रदान गर्न राष्ट्रिय महिला आयोग, प्रहरी र स्थानीय तहका अन्य कानुनी तथा सुरक्षा निकायसँग समन्वय गर्न तत्पर रहेको घोषणापत्रमा उल्लेख छ ।

समुदायका विविधता स्पष्ट हुने गरी सचेतनाका कार्यक्रम गर्न कटीबद्ध रहेको भन्दै एलविटि समुदाय लक्ष्यित कार्यक्रम तथा गतिविधिलाई श्रव्यदृश्य प्रविधिको प्रयोग गरी सामाजिक सञ्जालमा समुदायको सक्रिय सहभागिता बढाउने घोषणापत्रमा उल्लेख गरिएको छ । विभिन्न संघ संस्थाका फर्म तथा दर्ता प्रकृयामा एलविटि समुदायको भिजिविलिटि बृद्धिका लागि लिंगको महलमा अन्य को महल थपसँगै यौनिकताको महल पनि थप गराउन पहल गर्ने सम्मेलनले घोषणा गरेको छ ।

सञ्चार माध्यम, कलाकर्मी तथा रंगकर्मीहरूले एलविटि समुदायका विषय तथा मुद्दालाई वास्तविकता र सकारात्मक भूमिकामा प्रकाशन तथा प्रशारणको सुरुवातलाई सम्मेलनले सम्मान गरेको छ । यसको संख्यात्मक र गुणात्मक कार्य अभिवृद्धिका लागि आगामी दिनमा यस्ता क्षेत्रका व्यक्तिहरूका लागि समुदायको विषयमा अभिमुखीकरण कार्यक्रमका साथै अन्य किसिमकोे सहयोग प्रदानको सम्मेलनले प्रतिवद्धता जनाएको छ ।

तेस्रोलिंगी व्यक्तिहरूलाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता र पार्सपोर्ट वितरणको आरम्भलाई स्वागत गर्दै आफ्नो नागरिकता, पार्सपोर्ट, शैक्षिक प्रमाणपत्र लगायतका अन्य परिचय पत्रमा तेस्रोलिंगी व्यक्तिहरुले आफुले चाहेको नाम परिवर्तन गराउन तथा सहज ढंगले नागरिकता र पार्सपोट प्राप्त गर्ने कानुन निर्माण गर्नु भन्ने सर्वोच्चको फैसलाको कार्यान्वयनका लागि निरन्तर वकालत गर्न कटिवद्ध रहेको सम्मेलनले घोषणा गरेको छ । शैक्षिक संस्थाहरु एलविटि समुदायमैत्री बनाउन पहल रहने तथा अन्य नीतिगत र कानुनी अधिकार सुश्चितताको लागि नेपाल सरकारसँग आवश्यक पहल, वकालत तथा दवाव जारी रहने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनको समापन गर्दै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले सम्मेलनले समस्याको पहिचान गरेर समाधानका लागि दिएको सुझावलाई समाजले प्राथमिकताका साथ हेर्ने वताइन । उनले अरु समुदाय भन्दा एलविटि समुदाय लुकेर बसेका भन्दै खुलेर आउनु पर्नेमा जोड दिइन । समाजले कुनै पनि समुदायलाई नछुटाउने भन्दै पूर्ण रुपमा समुदायको अधिकार स्थानीय तहसम्म स्थापित गर्न आफूहरु प्रतिवद्ध रहेको अध्यक्ष गुरुङले वताइन ।

समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले एलविटिको सम्मेलन धेरै समय पछि भएको वताइन । उनले यो मुद्धा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रै हराएको मुद्धाका रुपमा रहेको भन्दै सामुहिक छलफल गरेर एलविटिको मुद्धा बाहिर ल्याउन नील हिरा समाज सफल भएको ढकालले वताइन । उनले घोषणापत्रमा उल्लेख भएका बिषय कार्यान्वयन गर्न एकजुट भएर लाग्न समुदायका सदस्यलाई निर्देशन समेत दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.