क्लोराडो होमोफोबिक बुलिङ्ग, ९ वर्षका बालकले गरे आत्महत्या

क्लोराडो होमोफोबिक बुलिङ्ग, ९ वर्षका बालकले गरे आत्महत्या

काठमाडौं (पहिचान) भदौ १२ – अमेरिकाको क्लोराडो, डेनबरमा ९ वर्षका बालकले आत्महत्या गरेका छन् । विद्यालयमा चारदिनसम्म समलैंगिक भएको भन्दै साथीहरुले जिस्क्याउने तथा धाकधम्की देखाउने (होमोफोबिक बुलिङ्ग) गरेपछि ९ वर्षका बालक जमेल माइल्सले आत्महत्या गरेका हुन् ।

आफ्नो छोरालाई स्कुलमा समलिंगी (गे) भएको भन्दै बुलिङ्ग गरिएको र त्यहि कारण उसले आत्महत्या गरेको आमा लिया पियर्सले केडिभिआर–टिभीसँग भनेकी छन् । जमेल विद्यालय गएर आफू समलिंगी भएकोमा लाज नभई गर्व रहेको बताउन चाहेको तर त्यो पूरा नभएको आमा लियाले बताएकी छन् ।

जमेलको एलिमेन्टरी स्कुल डेनबर पब्लिक स्कुल, डिपिएसले विद्यालयमा क्राइसिस काउन्सिलर उपलब्ध गराउने बताएको छ । विद्यालयले सबै विद्यार्थीका अभिभावकलाई शुक्रबार विद्यार्थीका लागि थप काउन्सिलिङ्ग सेवा प्रदान गर्ने बारे पत्र पठाएको छ । डेनबरको प्रहरीले जमेलको मृत्युका बारेमा अनुसन्धान गरिरहेको छ ।

जमेलको शव गएको बिहीबार घरमै भेटिएको छ । जमेलले जो शुमेकर एलिमेन्टरी स्कुलमा कक्षा चारमा पढ्न सुरु गरेका थिए गएको सोमबारदेखि । विद्यालयका साथीहरुले आफूलाई आफ्नै हत्या गर्न भनेको जमेलले दिदीसँग बताएका थिए । जमेलले यसबारे आफूसँग केही नभनेको आमा लियाले बताएकी छन् ।

जमेलले आफू समलिंगी रहेको कुरा बताउँदा निकै डराएको देखिएको लियाले बताएकी छन् । आफ्नो सन्तान गुमे पनि यसले बुलिङ्गको असर कस्तोसम्म हुन्छ भन्ने बारे सचेतना आउने आश रहेको लियाले बताएकी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.