जवरजस्ती विवाह र बलात्कार !

जवरजस्ती विवाह र बलात्कार !

काठमाडौं (पहिचान) भदौ १७ – अहिले दैनिक जसो महिला बलात्कारमा परेका घटना सार्वजनिक भइरहेका छन् । महिला पुरुषबाटै बलात्कार र हिंसामा परेका घटना यतिवेला राष्ट्रिय बसहको बिषय बनिरहेको छ । बलात्कारीलाई फासीको सजायको माग गरेर पेटीकोट लगाएर प्रदर्शन समेत भएको छ । त्यो प्रदर्शनमा तेस्रोलिंगी महिला सन्ध्या लामा पक्राउ नै परिन ।

कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभाबाट महिला बिरुद्ध हुने सबै किसिमका हिंसा अन्त्य गर्ने सम्बन्धमा प्रस्तुत संकल्प प्रस्ताव पारित भइसकेको छ । तर, कञ्चनपुरको भिमदत्त नगरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने पक्राउ समेत परेका छैनन् । बलात्कार पछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन समेत भएका छन् ।
बलात्कारका घटना अभिभावक, चिनेजानेका आफन्तबाट नै धेरै भएको सार्वजनिक भएका छन् । महिला मात्रै होइनन, महिलाबाट पुरुष बलात्कार भएका घटना सार्वजनिक हुन्छन तर, ति घटना नगन्य नै छन् । घटना धेरै थोरैकै होइन, घटना प्रवृत्तिको हो । नेपालमा पुरुषबाट पुरुषनै, महिलाबाट महिलानै बलात्कार बन्नु परेको सुनिएको छ । तर, यि घटना कानुनी कारवाही गरि न्याय पाउँ भन्ने तहसम्म पुगेका छैनन् । हुन त यस्ता घटनामा हत्या नै भएको भने पाइदैन ।

महिला महिलाबीच र पुरुष पुरुषबीच यौन क्रियाकिलाप हुनुलाई अझै पनि हाम्रो समाजमा प्राकृतिक मानिदैन । यौन त महिला र पुरुषबीच मात्रै पो हुन्छ भन्ने सामाजिक रुढीबादी सोचाईले महिलाबाट महिला र पुरुषबाट पुरुष नै जवरजस्ती करणी, सामुहिक बलात्कार तथा यौन हिंसामा परेपनि पहिलो कुरो आफै बाहिर ल्याउन चाहदैनन् । पोखरामा केही समयम अघि भएको कार्यक्रममा हिंसामा परेका पुरुषहरुले पीडकलाई कारवाही गराउने तिर भन्दा पनि घरमा समेत भन्दैनन् भन्ने कुरा बाहिर आएको थियो । उनीहरु पीडकबाट पाएको घाउ, चोट पटकलाई लडेर, चिप्लेर, ठोक्किएर भएको जस्ता बाहनाबाजी जवाफ दिएर लुक्दै आएका छन ।

रातमा आफू जस्तै केटा खोज्दै हिड्ने माथि हुने गरेका यि घटना थाहा पाउन पोखरासम्म पुग्नै पर्दैन । काठमाडौंकै ठमेल, रत्नपार्क, लाजिम्पाट, सोह्खुट्टे, गौशाला, नयाँबसपार्क पुरुषबाट पुरुषनै यौन हिंसामा परेको सुनिरहने परिचित ठाउँ नै हुन् । यि ठाउँ मध्येको ठमेल त पुरुष भएर महिला भएकाहरुको चर्चा हुने ठाउँ हो । जन्मदा पुरुष, हुर्कदै बढ्दै जादाँ महिला स्वभाव हाउभाउ भएकाहरुलाई तेस्रोलिंगी महिला भनिन्छ । ठमेलबारे एउटा भ्रम अझै हट्न सकेको छैन । नेपाली पत्रकारहरु समेत तेस्रोलिंगी भन्ने वित्तिकै ठमेल र ठमेल भन्ने वित्तिकै तेस्रोलिंगी सँगै सँगै उच्चारण गर्छन । त्यसैले प्राय रातमै हुने महिला बलात्कारका घटना सार्वजनिक भएपनि पुरुषबाट पुरुष नै बलात्कारमा परेका घटना सार्वजनिक हुँदैनन् ।

ठमेलमा तेस्रोलिंगी मात्रै जादैनन् यो सबैलाई थाहा भएकै कुरा हो । तर नाम लिदाँ भने धेरै जसोले तेस्रोलिंगी मात्रै जान्छन भने जसरी बोलिरहेका हुन्छन् । केहीले त ठमेल पर्यटक विकास परिषद्को हवाला दिदै ठमेलमा तेस्रोलिंगीलाई प्रबेशमा निषेध शिर्षकको समाचार नै प्रकाशित गरेका थिए । तर, त्यही ठमेलमा हरेक बर्ष जस्तै यो बर्ष पनि भदौ ११ गते तेस्रोलिंगी मात्र नभएर अधिकार प्राप्तिको एउटै अभियानमा होमिएका समलिंगी, द्वयलिंगी र अन्तरलिंगीले गाइजात्रा महोत्सव नै मनाए ।

नेपालमा लिखित रुपमा आएका संबिधान मध्ये २०७२ सालमा लेखिएर लागू भएको संबिधानमा मात्रै यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगी) समुदायको अधिकार लेखिएको छ । संबिधान जारी भएको तीन बर्ष भित्र कार्यान्वयन गरिसक्नु पर्ने संबैधानिक व्यवस्था अनुसार राज्य अहिले धमाधम मौलिक हक कार्यान्वयन गर्नका लागि बिधेयक तयार पार्दै संसदमा दर्ता गरिरहेको छ । सरकारले संसदमा दर्ता गरेका बिधेयक र भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र मुलुकी फौजदारी संहितामा महिला महिला र पुरुष पुरुषबीच यौन क्रियाकलाप हुने कुरा उल्लेख गरिएको छैन । सिधै उल्लेख नगरेपनि यो क्रियाकलापलाई प्राकृतिक भनेको छैन । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका प्रवक्ता रमेश ढकालको शब्द सापटी लिने हो भने यस्तो यौन क्रियाकलापलाई अप्राकृति भनेको छैन तर स्वीकार पनि गरिएको छैन ।

कानुनमा हुने यस्ता छिद्रहरुका कारण समलिंगी व्यवहार भएकाहरु खुलेर आफू माथि परेको पीडा भन्न डराइरहेका छन् । भनौ समाजले हेर्ने गलत दृष्टिकोण नभनौ पीडा सहेर बस्नु पर्ने बाध्यता । समाजमा जकडिएको महिला र पुरुषबादी यही चिन्तनले यौनिक तथा लैंगिक समुदाय अल्पसंख्यककै रुपमा रहन पुगेको छ । यो समुदायबारे लेख्ने, बोल्ने, एक्यवद्धता जनाउनेलाई पहिले पहिले त त्यही समुदायसँग जोडेर नै हेरिन्थ्यो र कतिपय अबस्थामा अहिले पनि त्यसरी नै हेर्ने गरिएको छ । अहिले पनि उनीहरुको मुद्धा स्वतन्त्र ढंगले उठ्न सकेको छैन । उनीहरुको मुद्धा जायज हो भनेर लेखिदिने, बोलिदिने, एक्यद्धता जनाइदिनेहरु नै अल्पसंख्यक छन् ।

राज्यको नीति, कानुन, योजना, कार्यक्रम जहिलेसम्म यौनिक तथा लैंगिक मैत्री हुदैन त्यहीले सम्म उनीहरुसँगै उनीहरुका मुद्धा उठान गर्नेहरु अल्पसंख्यक नै भइरहन्छन त ? के उनीहरु बिरुद्ध हुने घटना समाज पचाउने खालका छैनन भनेर कसैले वास्ता नगर्ने ? अल्पसंख्यक न हुन उनीहरुका कुरा कहाँ सुनेर कार्यान्वयन गर्ने हो त भनेर राज्य अनुदार भएर पञ्छिरहन मिल्छ ? घर, परिवार, समाज र राज्यको यही अनुदार व्यवहारका कारण एउटा पुरुषले जबरजस्ती महिलासँग विवाह गरेर बलात्कृत हुनु परेको र एउटी महिलाले जवरजस्ती पुरुषसँग विवाह गरेर बालात्कृत हुनु परिरेहेको छ ।

एक पुरुषले अर्को पुरुषसँग र एक महिलाले अर्की महिलासँग विवाह गर्ने कानुन नबन्दासम्म बलात्कारका घटना कम नहुने हो भने किन उनीहरुलाई बैबाहिक अधिकार नदिने ? किन राज्यले महिला र पुरुषबीच मात्रै विवाह हुन्छ भन्ने नीतिलाई परिवर्तन गरेर व्यक्ति व्यक्तिबीच विवाह हुन्छ भन्ने कानुन नबनाउने ? यसतर्फ सरकारको ध्यान कहिले पुग्ने हो कुन्नी ?

तस्बिर : इन्टरनेट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.