३ नम्वर प्रदेशले एलजीबीटीआईको संरक्षणका लागि विशेष कार्यक्रम संचालन गर्ने

३ नम्वर प्रदेशले एलजीबीटीआईको संरक्षणका लागि विशेष कार्यक्रम संचालन गर्ने

मकवानपुर (पहिचान) जेठ १९ – ३ नम्वर प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको संरक्षणका लागि बिशेष कार्यक्रम संचालन गर्ने भएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत ३ नम्वर प्रदेश सरकारले बिशेष कार्यक्रम संचालन गर्ने घोषणा गरेको हो ।

प्रदेश संसदबाट पारित नीति तथा कार्यक्रमको २ सय नम्बर बुदाँमा संघीय सरकार र स्थानीय सरकारसँग समन्वयन गरी संरक्षणका लागि बिशेष कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । संरक्षणमा राख्नुपर्ने बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा मनोरोगीहरुको लागि संरक्षण गृह, दिवा सेवा केन्द्र, बृद्धाश्रम लगायतका संस्थागत संरचनाहरु व्यवस्थित गर्न विभिन्न प्रोत्साहनका कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा लेखिएको छ ।

नीति तथा कार्यक्रमको २ सय नम्बर बुँदामै एकल महिला, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको संरक्षणका लागि विशेष कार्यक्रम संचालन गरिने उल्लेछ भने अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवद्र्धन तथा सशक्तीकरण गर्न समुदायमा आधारित पुनस्थापना कार्यक्रम संचालन गरिने भनिएको छ ।

मानव सभ्यताको सम्मान, छुवाछुत र सामाजिक कुरीति विरुद्धको अभियान भन्ने नारालाई सार्थक तुल्याउन बोक्सा बोक्सी, छुवाछुत जस्ता सामाजिक कुरीति विरुद्ध सचेतना कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश ३ सरकारले बोक्सा बोक्सी, बलात्कार, मानव बेचबिखन, घरेलु तथा लैंगिक हिंसा, बालबिवाह, बहुबिवाह लगायतका आपराधिक गतिविधि विरुद्ध कडा कारवाही गर्ने व्यवस्था मिलाउने भनेको छ ।

प्रदेश सरकारको पहिचान, निशुल्क कानूनी जनसहायता अभियान भन्ने नाराका साथ सरकारमा कमजोर पहुँच भएका र विभिन्न किसिमले अन्यायमा परेका महिला, दलित र अपाङ्गता भएका व्यक्ति लगायतलाई स्थानीय तहको सेवा प्रवाहमा कानूनी र प्रशासनिक सहजीकरण गर्न प्रत्येक गाउँपालिकामा कानूनी सहजकर्ता खटाउने कार्यक्रमलाई आवश्यकता अनुसार परिमार्जन गरी नगरपालिकाहरुमा समेत विस्तार गर्ने भनिएको छ ।

यो अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यक पर्ने नपर्ने नीति तथा कार्यक्रममा प्रष्ट उल्लेख गरिएको छैन । केन्द्र सरकारको नीति तथा कार्यक्रम र बजेटमा नपरेका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई ३ नम्वर प्रदेश सरकारले नीति तथा कार्यक्रममा राखेको छ ।

तस्बिर : इन्टरनेट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.