पहिचान खुलाएपछिको जीवन

पहिचान खुलाएपछिको जीवन

रुपन्देही (पहिचान) पुस १४ — तिलोत्तमा नगरकी आनिकको जन्म छोराका रूपमा भयो । परिवारले नाम राखे– यमबहादुर राना । तर उनको हाउभाउ छोरीको थियो । भाँडाकुटी खेल्ने, केटी साथी बनाउने । स्कुले सहपाठीले विभिन्न उपनाम दिन्थे ।

आफ्नो वास्तविकता थाहा नहुँदा विभिन्न उपनाम र हाँसोको पात्र बनिन् । सहनुको विकल्प पनि थिएन । अरूले खिल्ली उडाउँथे । उनलाई आफू अरूभन्दा फरक लाग्थ्यो ।

आफूमाथि हिंसा भइरहेको बारे धेरैपछि बुझिन्। ७ कक्षामा पुगेपछि मात्र आफ्नो फरक हाउभाउ किन भन्ने थाहा भयो तर बताउन सहज थिएन । उनी १० वर्षकै छँदा आमाको निधन भएको थियो । त्यसैले समाज र परिवारमा आफू छोरा भन्ने व्यवहार देखाउन कर लाग्थ्यो । छोराका रूपमा उभिनुपर्दा उकुसमुकुस हुन्थ्यो । आफ्नो शारीरिक अवस्थाबारे बुझेपछि पहिचान खुलाएरै आफूजस्ता धेरैलाई सार्वजनिक गर्नेर् सोच बनाइन् ।

सन् २००२ मा परिवर्तनका लागि महिला समूह संस्थामा काम सुरु गरिन् । त्यस क्रममा नीलहीरा समाजबाट पहिचान खुलाएर काम गर्ने प्रस्ताव आयो । उनले स्विकारिन् । तत्कालीन यमबहादुरले घरमै अपहेलना खेपिरहेका थिए । यसरी अपहेलित उनी एसएलसी सकेपछि घर र समाजबाट टाढिन पुगे । नाम परिवर्तन गरेर आनिक बनिन् । कोठा भाडामा लिएर बस्न थालिन् । मासिक ६ हजार रुपैयाँ कमाउँथिन् । त्यसले खर्च पुर्‍याउन थालिन् । ‘आमा नभएको पीडाले सताउँथ्यो,’ उनले भनिन्, ‘तर, पोख्ने ठाउँ थिएन ।’ पहिचान खुलाएर आफूजस्तै धेरैका लागि संघर्ष गर्न थालिन् ।

‘जीवन भनेकै संघर्ष रहेछ,’ उनले भनिन्, ‘यही सोचेर नीलहीरा समाज संस्थाका विभिन्न पदमा रहेर काम गर्न थालें ।’ यस क्रममा लान्छना, हेपाइ सहनुपर्‍यो । धेरैले महिला–पुरुषले गर्न नसकेका काम यिनले के गर्लान् भने । उनले बोल्नेको मुख थुन्न नसकिने बुझेर अघि बढिरहिन् । ती विभिन्न उपनाम, हन्डर, अपहेलनाले आफूजस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका विषयमा आवाज उठाउन सघाएको उनले बताइन् ।

अहिले उनी सशक्तीकरण नेपालको जिल्ला अध्यक्षका रूपमा काम गरिरहेकी छन् । यस क्रममा पहिचानसहितको नागरिकता प्राप्त गरेकी छन् । त्यसका लागि लामो संघर्ष गर्नुपरेको बताइन् । अहिले रूपन्देहीलगायत जिल्लामा उनी यस्ता समुदायको अधिकारकर्मीका रूपमा परिचित छन् । आफूजस्ताको स्थान अन्यसरह स्थापित गर्न अघि बढिरहेको उनले बताइन् । अहिले स्थानीय बुद्ध सामुदायिक टेलिभिजनमा परिवर्तन नामक कार्यक्रम सञ्चालन गर्छिन् । पहिचान र सामाजिक चेतनाको विषयमा बहस गर्छिन् ।

उनीजस्तै ३० वर्षीया परिना चौधरी बाँकेको नेपालगन्जमा बस्छिन् । बर्दियाको राजापुरकी उनी सानैदेखि केटीको पहिरन मन पराउने र गुडियासित खेल्ने गर्थिन् । अभिभावक केटाको जस्तो व्यवहार गर्न दबाब दिन्थे । उनलाई भने जतिखेरै केटीकै हाउभाउ मन पर्थ्यो । स्कुले साथीले गिज्याउँथे, घरमा गाली खान्थिन् । जब आफ्नो पहिचानबारे बुझेकी थिइनन् , ‘केटी’ बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। एसएलसी पास गरेपछि भने आफ्नो लैंगिक अवस्थाबारे बुझ्दै गइन् । नेपालगन्ज आइन् । त्यहाँ नील हिरा समाजको सम्पर्कमा काम गर्न थालिन् । परिवारलाई शारीरिक अवस्थाबारे बताएर उनी पहिचान खुलाउने र अधिकारका लागि लड्ने निश्चयका साथ अभियानमा लागिन् । पछि आमा, दिदी, दाजुले साथ दिए । उनी परिवारसितै बस्छिन् । अहिले वेस्टर्न स्टार नेपालको कार्यक्रम संयोजकका रूपमा कार्यरत छिन् । दृढ भएर लागिपर्दा समाजलाई पहिचान स्वीकार्न कर लागेको उनले सुनाइन् । ‘त्यही समाज, तिनै आफन्त, त्यो समय र अहिलेको समय देख्दा अचम्म लाग्छ,’ उनले भनिन्, ‘परिवर्तन आफैंबाट सम्भव रहेछ ।’ पहिले गाउँमा आफूलाई हिजडा, छक्का भनेर बोलाउने गरेको उनले बताइन् ।

त्यस्ता व्यक्तिकै बीचमा अहिले पहिचानसहितको नागरिकता बनाएर अधिकारकर्मीको भूमिका खेल्न सकेकामा खुसी लाग्ने बताइन् । अझै समाजले अगाडि राम्रो भने पनि पछाडि कुरा काट्ने प्रवृत्ति कायमै रहेको उनले बताइन् । यस्तै कारण खुल्न चाहेर नसकेका धेरै भएको उनले बताइन् । पहिचान खुलाएर अघि बढेपछि आमाले राम्रो काम गरेर स्थापित हुनु, नराम्रो नबन्नु भनेर आशीर्वाद दिएको उनले सुनाइन् ।

बेलाबेला आफ्नो वास्तविकता के रहेछ भनेर खोतल्ने र वास्ता नगर्ने पुष्पा लामाको कथा पनि उस्तै छ । बाल्यकालमा छोरीको खेलौना, लुगाले आकर्षित गर्ने उनलाई केटी साथी बनाउन मन लाग्थ्यो । जन्मजात केटीप्रति आकर्षण थियो । हिँडाइ, बोलाइ र क्रियाकलापले साथीका बीच हाँसोको पात्र बन्ने गर्थिन् । आफ्नो वास्तविकताबारे अनभिज्ञ थिइन् । कसैले खिसी गर्दा प्रतिकार गरे पनि हार हुन्थ्यो । कतिपटक म किन फरक छु भन्ने प्रश्नले पीडा हुन्थ्यो । महाभारत नामक कथा टीभीमा आउँदा सिखंडी भन्ने पात्रलाई हेरेर आफ्नो नाम पनि उही राखिदिएको कुराले झस्काउने गरेको उनले सुनाइन् । तर, जवाफ थिएन । परिवारले जन्मिँदाको अवस्थामै बस्न भन्थे, समाज र आफन्तले व्यवहार बुझ्थेनन् । नवलपरासीमा जन्मिएकी उनी ११ कक्षा पढ्न काठमाडौं गइन् । पढाइसँगै जागिर गर्न थालिन् । त्यस क्रममा नेपाल टेलिभिजनमा आरती चटौतको कार्यक्रम ‘संघर्ष’ मा यौनिक तथा अल्पसंख्यकको कथा हेरिन् । उनलाई अचम्म लाग्यो । सबै कुरा आफैंसँग मिल्ने सुनिन् ।

त्यसपछि आफ्नोबारे जानिन् । केही समयपछि साधना मासिकमा समलिंगी जोडीको विषयमा पढेपछि उनलाई वास्तविकता थाहा भयो । अनि, खुलिन् । सन् २००४ को अन्त्यतिर नीलहीरा समाजमा काम गर्न थालिन् । हरेक कार्यक्रममा परिवारका सदस्यलाई उपस्थित गराउँदै गइन् । त्यसबाट अभिभावकले उनको अवस्था बुझे । करिब सात महिनाको प्रयासमा उनी यौनिक तथा लैंगिक अल्पसंख्यक महिला बनेर समाजमा परिचित हुन सकिन् । यसरी आफू खुलेर अघि बढे पनि कतिपय साथी अझै बाहिर आउन नसकेको उनले बताइन् ।

अहिले उनीहरूको पहिचान स्थापित गर्न आफू लागिपरेको लामाले सुनाइन् । ‘परिवारको सहयोग नभए न खुल्न सक्छन्, न त खुसी भएर बाँच्न,’ उनले भनिन् । घुम्न, खान र नाच्न रुचाउने उनले विभिन्न सांस्कृतिक कार्यक्रममा नृत्य गरेर आफ्नो पहिचान बढाएकी छन् ।

परिवारसँग छँदा छोराकै व्यवहार गर्ने र केटाको पहिरन लगाउने रूपन्देहीको सिद्धार्थनगरका रोज थापा अरूलाई सिंगार्ने गर्छिन् । परिवारले अझै पनि छोराकै रूपमा उनीसँग व्यवहार गर्छ । छोरीकै भेष रुचाउने, छोरीले गर्ने क्रियाकलापमा पोख्त उनी विद्यालयका अतिरिक्त क्रियाकलापमा प्रथम हुन्थिन् । स्कुले बेलामा धेरै साथीले नराम्रो व्यवहार गर्ने, यौन प्रस्ताव राख्ने र गिज्याउने गर्थे।

पढाइको सिलसिलामा नील हिरा समाजसित सम्पर्क भएपछि उनले त्यहाँ रहेका चेतनामूलक तस्बिर र सहयोगीबाटआफ्नाबारेमा बुझिन् । कक्षा १२ सम्म पढ्नि। लैंगिक पहिचानका आधारमा घरबाट टाढिएकी छैनन् । काम गर्ने सिलसिलामा उनी यौनिक तथा लैंगिक अल्पसंख्यककै रूपमा परिचित छन् । मुलुकमा विभिन्न जिल्लामा मेकअप आर्टिस्टका रूपमा काम गर्छिन् । सामाजिक परिवर्तनका लागि घरमै वास्तविक पहिचानमा रमाउन आफू आर्थिक रूपमा सक्षम हुनुपर्ने उनले सुनाइन् ।

यस क्षेत्रमा क्रियाशील संस्थाका अनुसार मुलुकमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या झन्डै आठ लाख भए पनि पहिचानका आधारमा दुई सय हाराहारीले मात्रै नागरिकता पाएका छन् ।
साभार : कान्तिपुर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading