बैङ्क तथा वित्तीय संस्थाले मागे एडिबीसँग एक अर्ब डलर सहुलियत ऋण 

बैङ्क तथा वित्तीय संस्थाले मागे एडिबीसँग एक अर्ब डलर सहुलियत ऋण 

कर्जा लगानी गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूलाई १० प्रतिशत कर छुट दिनु पर्ने

काठमाडौं : एसियाली विकास बैङ्कका उपमहानिर्देशक मनमोहन परकाशले आफ्नै स्रोत साधनबाट  अर्थतन्त्रलाई दिगो बनाउनु पर्ने बताएका छन्।
एडिबी मनिलाका उपमहानिर्देशक परकाशले बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालले गरेको बैठकमा देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्ने बताएका हुन्।
उनले साना तथा मझौला व्यवसायीलाई विना धितो कर्जा उपलब्ध गराउनु पर्ने बताए।
परकाशले कुनै प्रक्रियागत बाधा बिना उचित ब्याज दरमा जोड दिए। उनले महिलालाई सीप र सहज वित्तीय पहुँचको माध्यमबाट व्यवसाय प्रवर्द्धन गरी दिगो बनाउन सके अर्थतन्त्रलाई ठुलो सहयोग पुग्ने सुझाव दिए।
बैठकमा सङ्घका अध्यक्ष पवन कुमार गोल्यानले नेपाललाई एक अर्ब डलर भन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन एडिबीसँग अनुरोध गरे। उनले एडिबीको सहयोगले तरलताको समस्या समाधान हुने र  बैङ्क तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने बताए।
गोल्यानले कोरोना महामारीका कारण थला परेका उद्योग पूर्ण क्षमतामा सञ्चालन भए आर्थिक क्रियाकलाप चलायमान हुने बताए। देशका वाणिज्य बैङ्कहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडिबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाई छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए। विभिन्न बाधा–अड्चन पार गर्दै अगाडि बढ्नुपर्ने र उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्ने बताउँदै उनले राज्यको सहजीकरण आवश्यक भएको बताए। उत्पादनमूलक उद्योग व्यवसाय प्रवर्द्धनका साथै आयात प्रतिस्थापन गर्ने कार्यमा नेपाल राष्ट्र बैङ्कले तोकेको प्राथमिकता प्राप्त छेत्रमा तोकेको सीमा भन्दा बढी कर्जा लगानी गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूलाई उनीहरूले तिर्ने करमा १० प्रतिशत छुट दिए दिगो अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने शाहले बताए।
कुमारी बैङ्क लिमिटेडका अध्यक्ष अमिर राणाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सक्नु पर्ने बताए। उनले नेपालमै रोजगार, आयातमा कटौती भई सरकारलाई ठुलो राजश्व उठाउन सकिने र तरलताको समस्या केही हदसम्म समाधान हुने तर्क गरे।
नेपाल हर्बल सङ्घ, राष्ट्रिय एलो उद्यमी सङ्घ, नेपाल निर्यातकर्ता महासङ्घ लगायतका व्यवसायीहरूले स्वदेशी निकासी हुने एलो, रेसम, जडीबुटी, कपडा तथा अन्य स्थानीय हस्तकलाका उच्च गुणस्तर उत्पादनहरूको प्रवर्द्धन गर्नुपर्ने विषय उठाएका थिए।
नेपाल उद्यमी महिला महासङ्घकी अध्यक्ष देविका बुढाथोकीले नेपाली महिलाले गुणस्तरीय वस्तु उत्पादन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उत्पादन विस्तार गर्न बैङ्क तथा वित्तीय संस्थासँग आर्थिक सहयोगको अपिल गरिन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading