दलका उम्मेदवारप्रति वितृष्णा

ललितपुर महानगर र नमोबुद्धको वडामा काँग्रेसका बागी उम्मेदवार निर्वाचित, काठमाडौँमा स्वतन्त्र उम्मेदवारको अग्रताले दलका उम्मेदवारलाई झड्का

ललितपुर महानगर र नमोबुद्धको वडामा काँग्रेसका बागी उम्मेदवार निर्वाचित, काठमाडौँमा स्वतन्त्र उम्मेदवारको अग्रताले दलका उम्मेदवारलाई झड्का

काठमाडौं : स्थानीय तहको चुनावमा मतदाताको आकर्षण दलबिनाका स्वतन्त्र उम्मेदवारमा देखिएको छ। दलमा सङ्गठित सदस्य बाहेकका मतदाताले दलबिनाका उम्मेदवारलाई मतसंकेत गरेर विजयी गराएका छन्।
ललितपुर महानगरपालिकाको वडा नम्बर एकमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मत ल्याएर विजयी भएका छन्। उनले काँग्रेसका ध्रुवलाल तण्डुकार र एमालेका दिनेश तण्डुकारलाई पराजित गरे।
उनी काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी बनेका थिए। काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १ को अध्यक्षमा पनि काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका प्रेम लामा विजयी भएका छन्। काँग्रेसका गणबज्र लामा र एमालेका निरोज पाण्डेलाई पराजित भए।
२०७४ को स्थानीय तह चुनावमा काँग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुँदा सदस्यका उम्मेदवार लामा पराजित भएका थिए। वडा अध्यक्षमा निर्वाचित लामाले ५५६ मत ल्याउँदा एमालेका पाण्डेले ४४७ र काँग्रेसका गणबज्रले २०८ मत मात्रै पाए। माओवादी केन्द्रले ९६ र एकीकृत समाजवादीले ६१ मत पाए।
सदस्यमा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। दलित महिला सदस्य र खुल्ला एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भए। महिला र खुल्ला एक सदस्यमा एमाले उम्मेदवार विजयी भए।
नमोबुद्ध नगर प्रमुख उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी परेको छैन। नगरको नेतृत्वमा भने दलकै उम्मेदवारबीच प्रतिस्पर्धा छ। वडा नम्बर एकको पुरानो फूलबारी मथुरापाटी गाविसमा २०५४ र २०७४ को स्थानीय चुनावमा दलका उम्मेदवार निर्वाचित हुन्थे। यो पटक मतदाताले स्वतन्त्र उम्मेदवारलाई विजयी गराए।
नमोबुद्ध नगरको वडा नम्बर २ मा पहिलो पटक काँग्रेसका उम्मेदवार विजयी भएका छन्। काँग्रेसका कविराज श्रेष्ठ १ हजार ५५ मत ल्याएर विजयी भएका हुन्।
एमालेबाट दोहोर्‍याएर अध्यक्षमा उम्मेदवार भएका सञ्जीव ढकालले ९३६ मत पाए पनि जित हासिल गर्न सकेनन्। वडा सदस्यमा पनि काँग्रेसकै विनोद खड्का र लक्ष्मण गौतम निर्वाचित भएका छन्। महिला सदस्यमा काँग्रेसकै बेली निलम लामा र दलित महिला सदस्यमा उषा परियार निर्वाचित भएका छन्।
विजयी हुने स्वतन्त्र उम्मेदवारको सङ्ख्या थोरै भए पनि राजनीतिक दल प्रति वितृष्णा हुने मतदाताको सङ्ख्या भने बढ्दै गएको छ । सहरदेखि गाउँसम्मका मतदाताले दलको भन्दा आफ्नो च्याइसमा परेका उम्मेदवार रोजेका छन्।
मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर २, ३,४ र ५ र ङिस्याङ गाउँपालिका वडा ३ र ९ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर १ को अध्यक्षमा विजयी स्वतन्त्र उम्मेदवार प्रेम लामाले राजनीतिक पार्टी प्रति वितृष्णा सिद्ध भएको बताए।
जितपछि प्रतिक्रिया दिँदै लामा राजनीतिक पार्टी प्रति वितृष्णा सिद्ध भएको सुनाउँछन्। ‘समाजका अग्रजहरूको साझा उम्मेदवार बन्दा सबैको स्वीकार्य हुँदो रहेछ,’लामाले भने,‘समाजका सबै अग्रज युवाहरूको सल्लाहमा संवृद्ध वडा बनाउने योजना सफल पार्नुछ।’
लामा दुई कार्यकाल वडा नम्बर एकमा काँग्रेसको इकाई सभापति थिए भने नेपाल विद्यार्थी सङ्घ काभ्रेको अध्यक्ष पनि बनेका थिए। देशको पुरानो राजनीतिक पार्टी काँग्रेसले टिकट नदिएपछि बागी बनेका लामा र तण्डुकार मात्रै होइन देशका अरू स्थानीय तहमा पनि दलका नेताहरूले टिकट वितरणमा अन्याय गरेको भन्दै बागी बनेका उम्मेदवारले जित हासिल गरेका छन्।
काठमाडौैं महानगरपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार दिएका कुनै पनि दलमा आबद्ध नभएका स्वतन्त्र उम्मेदवार बालेन साहले एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंहलाई अहिलेसम्मको गणनामा उछिनेका छन्।
अहिलेसम्मको गणनामा काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता लिन थालेपछि दलका नेताहरू अत्तालिएका छन्। उनीहरू चुनावको रिमोट कन्ट्रोल अन्यत्र रहेको बताउन थालेका छन्। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुरले रेडियो मध्यपश्चिमको वार्षिक उत्सव कार्यक्रममा दलहरूलाई बाइपास गर्ने काम भएको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading