"/>
अन्यायमा कर्मचारी

लोक सेवा आयोगको ठुल्दाई प्रवृत्ति, बढुवा रद्द गर्ने निर्णयविरुद्ध आक्रोश

लोक सेवा आयोगको ठुल्दाई प्रवृत्ति, बढुवा रद्द गर्ने निर्णयविरुद्ध आक्रोश

काठमाडौं : स्थानीय तहका कर्मचारीको बढुवामा लोक सेवा आयोगले ठुल्दाई प्रवृत्ति देखाएको आरोप लागेको छ। ललितपुर महानगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको स्वागतमा गरेको कार्यक्रममा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि रद्द गर्ने निर्णय ठुल्दाई प्रवृत्ति भएको आरोप लागेको हो।
२०७८ फागुनमा रुपन्देहीको तिलोत्तमामा सम्पन्न लोकसेवा आयोगहरूको दोस्रो राष्ट्रिय सम्मेलनले लोक सेवाका सहमतिविना भएका पदपूर्ति र बढुवा रद्द गर्ने निर्णय गरेको थियो।
पाँच वर्ष अगाडि विधिवत् तवरले एक तह पदोन्नति भएका कर्मचारीलाई घटुवा गर्ने निर्णयले अन्याय भएको ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए।
उनले नवनिर्वाचित जनप्रतिनिधि समक्ष न्यायपूर्ण ढङ्गले कर्मचारीमाथि भएको अन्यायलाई सम्बोधन गर्न आग्रह पनि गरे। अर्यालले लोक सेवा आयोगको निर्णयलाई आफू राजनीतिक व्यक्ति भएको भए तथाकथित शब्द प्रयोग गर्ने बताए।
‘राजनीतिक व्यक्ति भएको भए यसलाई तथाकथित शब्द प्रयोग गर्थे। कर्मचारी भएकाले त्यो भन्न मिल्दैन,’उनले भने,‘लोक सेवा आयोगको देशव्यापी भएको सम्मेलनले तहवृद्धि गरिएका कर्मचारीलाई घटुवा गर्ने भनेर गरेको निर्णय कार्यान्वयन गर्नु भनेर पटक पटक लिखित रूपमा पत्र आएको छ।’
स्थानीय तहमा दशकौँदेखि काम गरेका, समायोजन र सरुवा भएर आएका कर्मचारीको पदपूर्ति समिति मार्फत भएको बढुवा र तहवृद्धि लोक सेवा आयोगले रद्द गर्ने निर्णय गरेपछि कर्मचारीमा असन्तुष्टि देखिएको हो।
‘कर्मचारी पदपूर्ति समितिमा प्रतिनिधि पठाउन पत्राचार गर्दा प्रदेश लोक सेवाले जन्मेकै छैनौ भनेर प्रतिनिधि पठाएन,’एक कर्मचारीले प्रश्न गरे,‘विधि र प्रक्रिया अनुसार बढुवा भएका कर्मचारीलाई उति बेला प्यारालाइज्ड भएको आयोगले अहिले खारेज गर्न मिल्छ?’
लोक सेवाले स्थानीय तहका कर्मचारीलाई हेपेको ती कर्मचारीको गुनासो छ। आयोगको निर्णयबाट स्थानीय तहमा कार्यरत १ हजार १५४ कर्मचारीको बढुवा रद्द हुने अवस्था आएको उनले बताए।
ललितपुर महानगरमा ४१ जना कर्मचारीले स्थायी चाहियो भनेर दिएको निवेदन अनुसार पूर्व सचिव भरतबहादुर थापाको पदपूर्ति समितिले शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी नियुक्ति गर्ने निर्णय गरेको थियो।
जनप्रतिनिधिको स्वागतमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले राजनीतिक नेतृत्वले जनतासँग गरेको बाचा पुरा गर्न ललितपुर महानगरपालिकाको सम्पूर्ण कर्मचारी संयन्त्र आफ्नो लगन र ल्याकत प्रयोग गरेर लाग्ने बताए। उनले अब बस्ने संयन्त्रको बैठकबाट कर्मचारीको घरको रूपमा चिनिने अर्गानो ग्राम पारित गर्न आग्रह पनि गरे।
निवर्तमान उपप्रमुख गीता सत्यालले पाँच वर्षे कार्यकाल ललितपुरका जनताको साथ र सहयोगले सफल भएको बताइन। उनले कर्मचारीलाई गालीका शब्द प्रयोग गरेर बिझाएको भए एउटै घर भित्र बस्दा कहीँ कतै अगुल्टो ठोसिएको होला भनेर लिइदिन आग्रह गरिन।
जनप्रतिनिधिको विवादका कारण पाँच वर्षे कार्यकालमा ललितपुर महानगरका कर्मचारीको अर्गानोग्राम पारित हुन सकेको छैन। महानगर उपप्रमुखमा निर्वाचित मन्जली शाक्य बज्राचार्यले ललितपुरको मुहार फेर्ने मिसनमा कर्मचारीबाट एउटा परिवार भएर साथ र सहयोग पाउने आशा लिएको बताइन।
महानगर प्रमुखमा निर्वाचित चिरीबाबु महर्जनले आफूहरू जनताको सेवक भएको बताए। ‘हामी कोही पनि जनताको मालिक होइनौ,’उनले भने,‘हामी कोही पनि जनताको शासक होइनौ।’ उनले स्थानीय तहहरूमा कोभिडमा सबैभन्दा राम्रो काम ललितपुर महानगरमा भएको बताए।
उर्जामन्त्री पम्फा भुसालले पालिकाको बजेटले नभ्याएको प्रदेश र सङ्घबाट समायोजन गर्ने प्रतिबद्धता जनाइन। स्थानीय तहमा कालोपत्रे भएका सडक सङ्घको बजेटबाट भएको उनको भनाई थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.