एनआरएनए सेमिनार

नेपालमा लगानी गर्न सरकारको आव्हान, सबै पक्षसँग छलफल गरेर नागरिकताको विषय टुङ्गो लगाउने

नेपालमा लगानी गर्न सरकारको आव्हान, सबै पक्षसँग छलफल गरेर नागरिकताको विषय टुङ्गो लगाउने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने बताएका छन्।
सङ्घले बिहीबार आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए। उनले भने,‘तपाइहरूले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरूलाई आश्वस्त तुल्याउन चाहन्छु।’
संसद्को राज्य व्यवस्था समितिले एक वर्ष अगाडि प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको नागरिकता विधेयक विचाराधीन अवस्थामा छ। प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको र उनीहरूको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने बताए।
उनले संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पुँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे। ‘अब विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप र कौशललाई मुलुकको विकासका लागि उपयोग गर्न सङ्घमार्फत सबै गैरआवासीय नेपालीलाई आग्रह गर्दछु’, उनले भने।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुहरूको उपभोगलाई प्रोत्साहन गर्न सके निर्यात प्रवर्धन हुने र नेपाली उद्योगधन्दाको सदुपयोग हुने भन्दै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पुँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आव्हान गरे।
प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको जानकारी पनि दिए। यस्तै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने बजेटमा उल्लेख गरेको उनले बताए। उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय भएको पनि उल्लेख गरे।
प्रधानमन्त्री देउवाले सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीलाई नेपालका बैङ्कमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ देखि नेपाल राष्ट्र बैङ्कले ब्याज दिने गरी वैदेशिक रोजगार बचत पत्र निष्कासन गरेको बताए। उनले नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले गरिएको यो व्यवस्थाबाट संसारभरि रहेका नेपालीलाई डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन आग्रह गरे।
उनले गैरआवासीय नेपाली समुदायले नेपालमा विसं २०७२ को महाभूकम्पमा पीडितको उद्धार र राहतका साथै सुरक्षित आवास निर्माण तथा कोभिड–१९ महामारीको असहज परिस्थितिमा पिसीआर किट, अक्सिजन उपकरणलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर हजारौँको ज्यान बचाउन गरेको कामको सराहना गरे।
लगानीको सिलिङ हटाएर सानोसानो लगानी पनि गर्न पाउनु पर्छ : अध्यक्ष केसी
कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्न सरकारले ‘विशेष आर्थिक क्षेत्र’ स्थापना गर्ने योजना बनाइरहेको जानकारी दिए। उनले संविधानको भावना अनुरूप गैरआवासीय नेपालीका लागि नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री खड्काले अबको मुख्य लक्ष्य नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धनका साथै विदेशी ज्ञान, सीप, पुँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे। उनले नेपालमा जलविद्युत्, कृषि, पर्यटन, सञ्चारका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठुलो लगानीको आवश्यकता रहेको भन्दै लगानी भित्र्याएर लाभ लिन अनुरोध पनि गरे।
परराष्ट्रमन्त्री खड्काले वैदेशिक रोजगारबाट फर्केका नेपालीका लागि एउटा ‘च्यालेन्ज फन्ड’ स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए।
सङ्घका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा प्रधानमन्त्री देउवाले दिएको आश्वासनबाट आफूहरू उत्साहित भएको बताए। उनले गैरआवासीय नेपाली ऐन र नियमावलीमा पनि सामयिक परिमार्जन गर्न नेपाल सरकारलाई आग्रह गरे।
सङ्घका अध्यक्ष डा बद्री केसीले नेपालको संविधानले व्यवस्था गरेको गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय चाँडो टुङ्गोमा पुर्‍याउन आग्रह गरे। उनले गैरआवासीय नेपालीलाई नेपालमा डलर खाता खोल्न तथा साढे १२ प्रतिशत व्याज पाउने वैदेशिक रोजगार बचत पत्र किनेर लाभान्वित हुन अपिल पनि गरे।
एनआरएनमा अहिले तीन जना अध्यक्ष छन्। अध्यक्ष रबिना थापा भने अमेरिकामा रहेका कारण सेमिनारमा भौतिक उपस्थित हुन सकिनन्। सेमिनारको अघिल्लो सत्रको लगानी प्रवर्द्धनसम्बन्धी छलफलमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले नेपालमा विदेशी लगानी भित्र्याउन, पुँजी र प्रविधिलाई आकर्षण गर्न सरकारले नीतिगत सुधारका काम गरिरहेको उल्लेख गरे। उनले कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरे।
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर लिलिमा ढुङ्गाना तिम्सिनाका अनुसार विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कले सकारात्मक प्रयास गर्दै आएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन समन्वयकारी भूमिका निर्वाह गर्न गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.