पार्टी प्रवेश

वैकल्पिक राजनीतिको नारा लगाउने रवीन्द्र मिश्र राजावादी दलमा विलय

वैकल्पिक राजनीतिको नारा लगाउने रवीन्द्र मिश्र राजावादी दलमा विलय

काठमाडौं : अन्ततः वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि २०७४ सालमा विवेकशील नेपाल दल र र साझा पार्टी एकता भएर बनेको विवेकशील साझा पार्टी छिन्नभिन्न भएको छ। विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रोजेका छन्।
पार्टी एकताका क्रममा उति वेला वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरूले पार्टी एकता गराएको दाबी गरेका मिश्र राजावादी राप्रपाको जुवामा नारिन पुगे। वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गरेका मिश्रले सङ्घीयता खारेज गर्नु पर्ने र राजा आउनु पर्ने सुनाए।
मिश्र राप्रपामा प्रवेश गरेपछि लेखक खगेन्द्र सङ्ग्रौलाले सामाजिक सञ्जालमा अब चैँ इतिहासको मसानघाटबाट स्वर्गवासी राजा फर्किने हो कि भन्ने पो लागो हैट, कता लुकूँ, कता भागूँ भनेर व्यङ्ग्य गरेका छन्।
पत्रकार सञ्जीव बगालेले मान्छेले राजनीतिको ठुला–ठुला गफ गरे पनि लास्टा जोत्ने त नागार्जुनकै बारी रैछ भनेर ट्विट गरेका छन्। अर्थविद् एवं सरकारका पूर्व सचिव रामेश्वर खनालले भने पैला पैला मान्छे बाट्बाटै नाच्दै गरेको देख्दा बहुलाएको हो कि भन्ठानिथ्यो, आजकल, टिकटक बनाएका होलान् भनेर वास्ता गरिन्न भनेर व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जालमा डाक्टर बाबुराम भट्टराई र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, सक्खर र गोबर झैँ भएको उल्लेख गरेका छन्। काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रममा उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे।
चुनावको मुखमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेन भने उत्साहित बनेका छन्। कट्टर राजावादी कमल थापाले पार्टी छोडेर अर्कै पार्टी गठन गरेपछि झन्डै झन्डै एक्लै जस्तै परेका लिंदेनले मिश्रको प्रवेशसँगै आगामी निर्वाचनमा राप्रपा पहिलो दल बन्ने दाबी समेत सुनाएका छन्।
काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रमकाबीच मिश्र र लिङेनबीच आधिकारिक रूपमा एकता पत्रमा हस्ताक्षर भएको छ। वरिष्ठ उपाध्यक्षका रूपमा राप्रपाको दोस्रो वरियतामा रहने गरी मिश्र राप्रपा प्रवेश गरेका हुन्। पार्टी भित्र मतदान गराएर खस आर्यतर्फको समानुपातिकमा एक नम्बरमा परेका राप्रपाका नेता पशुपति शमशेर जबराले ठुला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताए।
काँग्रेसमा घर झगडा
राजावादी शक्तिहरू एक ठाउँमा उभिएर मोर्चा बन्दी गर्दा ठुला भनिएका दलहरूको घरमा भने भ्वाङ पर्न थालेको छ। समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै इतर समूहले पार्टी कार्यालयमा धर्ना नै दिएको छ।
सङ्घ तथा प्रदेश संसद्मा एकाघर परिवार तथा दम्पतीबाट एक जनालाई मात्र टिकट दिन माग गरेर केन्द्रीय सदस्य दिनेश कोइरालाले सभापति देउवालाई पत्र पठाएका छन्। सभापति देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणलाई काँग्रेसले समानुपातिकमा राखेपछि भएको विवाद विद्रोहमा परिणत हुन सक्ने देखिएको छ।
समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थ बलले सज्जित पात्रको नाम राखिएको भन्दै पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीप्रति इतर समूहले असहमति जनाएको छ।
काँग्रेस भित्रको असन्तुष्टि मतदानको दिनसम्म कायम रहे त्यसको असर गठबन्धन दलको चुनावी नतिजामा समेत पर्ने केन्द्रीय सदस्य अजय सिवाकोटीले बताए। त्यसको जिम्मा सभापति देउवाले लिनु पर्ने सिवाकोटीले बताए।
कलाकारको सांसद बन्ने मोह
मिश्र राप्रपा प्रवेश गरेकी दिन कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने घोषणा गरेका छन्। पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न लागेका हुन्।
मङ्सिर ४ गते हुने निर्वाचनमा भाग लिने कलाकार बढ्दै गएका बेला पन्तको नाम पनि थपिएको हो। पन्तसहित यसअघि नै कुमार कट्टेल, मधुसूदन पाठक, शिव शङ्कर रिजाललगायतका हास्य कलाकार तथा रेखा थापा, मनोज पण्डित, रोज राणा, गणेश उप्रेती लगायतका फिल्मकर्मी पनि चुनावमा उठ्ने तयारीमा लागेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.