चुनाव

सचिव दुवाडीले ‘एप्रुभ’ गरेको भिडियो डिलिट, आयोगले माग्यो माफी

सचिव दुवाडीले ‘एप्रुभ’ गरेको भिडियो डिलिट, आयोगले माग्यो माफी

काठमाडौं : मङ्सिर ४ को चुनाव गराउने तयारीमा लागेको निर्वाचन आयोगलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले र्‍याखर्‍याख पारेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री हटाएर आयोगले माफी नै मागेको छ।
पोस्ट भएको भिडियो सामग्री परिमार्जनका लागि हटाएको आयोगले जनाएको छ। निर्वाचनमा सामाजिक सञ्जाल चुनौती बन्दै गएको छ। राज्यको संवैधानिक निकाय आयोग सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रतिक्रियापछि भिडियो हटाउन बाध्य हुनु परेको छ।
चुनावका लागि १० अर्ब खर्च गर्ने बताएको आयोगले भिडियो भिडियो निर्माण गर्न लागेको खर्च खेरै गएको छ। बिहान अपलोड गरेको भिडियो बेलुकासम्म राख्न नसक्ने आयोगले निर्वाचन कसुर तथा सजाय ऐन अनुसार अनुसन्धान गर्न पठाएको भनिएको पत्र जिल्ला प्रहरी कार्यालयले अझै नपाएको जनाएको छ।
आयोगका सचिव गोकर्णमणि दुवाडी संयोजक रहेको छनौट समितिले भिडियो अपलोड गर्ने निर्णय गरेको थियो। आयोगले भिडियो निर्माण गर्न लागेको खर्च भने सार्वजनिक गरेको छैन। आयोगका उपसचिव कमल भट्टराई भिडियो क्यान्सिल गर्न नहटाएको बताउँछन्। रिभ्यु गर्ने र राम्रो भिडियो बनाएर पुन प्रसारण गर्ने उनले बताए।
उनले छनौट समितिले स्वीकृत गरेर अपलोड भएको भिडियोमा नकारात्मक प्रतिक्रिया आएपछि हटाइएको बताए। ‘छनौट समितिले हरेक भिडियो हेरेर एप्रुभ गर्छ।सचिवज्यूको संयोजकत्वमा सामग्रीहरू अनुमोदन समिति छ,’उनले भने,‘त्यसमा सुधार गर्नु पर्ने देखिए फिर्ता गर्ने गर्छौ।’
आयोगलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नेगेटिभ कमेन्ट गरेपछि भिडियो सोचेजस्तो नबनेको लाग्यो। नेगेटिभ कमेन्ट नआएको भए आयोगले भिडियो डिलिट गर्दैनथ्यो। ‘त्यो भिडियोमा ब्लण्डर त्यस्तो केही पनि छैन,दिनु नपर्ने म्यासेज, दिन नहुने म्यासेज गएको होइन,’उपसचिव भट्टराईले पहिचानसँग भने,‘आकर्षक र अलिकति गुणस्तरीय भएन भन्ने मात्रै विषय हो,गलत म्यासेज त्यहाँ छैन।’
सामाजिक सञ्जाल प्रयोगकर्ताको अपेक्षा अनुसार नभएको भन्ने नेगेटिभ कमेन्ट आएको उनले बताए। आयोगसँग समय छोटो भएकाले गहिरिएर अध्ययन विश्लेषण गर्ने चाप रहेको उनको भनाई छ।
टिकटक भिडियोलाई पुरस्कार
बिहान अपलोड गरेको भिडियो बेलुकी नहुँदै डिलिट गरेको आयोगले निर्वाचन शिक्षा सम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कार दिने निर्णय गरेको छ। निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने निर्णय शनिवार गरिएको आयोगका उपसचिव भट्टराईले बताए।
उनले टिकटक भिडियो बनाउने पहिलेकै योजना रहेको बताए। ‘आयोगको मतदाता शिक्षा सम्बन्धी अगाडि देखिकै योजनामा थियो,’उनले भने,‘आज निर्णय भयो।’ टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगलाई इमेल पठाउनु पर्छ।
कात्तिक ५ देखि १५ गतेभित्र आयोगमा प्राप्त भिडियोमध्ये उत्कृष्ट पाँच वटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने आयोगले जनाएको छ। आयोगका अनुसार भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ।
आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइने आयोगले जनाएको छ। कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सक्ने र दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिने आयोगले जनाएको छ। आयोगका अनुसार उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading