चुनावी घोषणा

चुनावी नारा : विद्युत् उत्पादनदेखि भ्रष्टाचार अन्त्यसम्म

चुनावी नारा : विद्युत् उत्पादनदेखि भ्रष्टाचार अन्त्यसम्म

काठमाडौं : देश चुनावमय भएको छ। चुनावी प्रचारमा उम्मेदवारहरू व्यस्त छन्। प्रदेश र प्रतिनिधि सभा केन्द्रित चुनावी प्रचारमा लागेका उम्मेदवारलाई मतदाताको घरदैलोसम्म पुग्नुपर्ने चटारो छ।
घर आँगनमा भित्रिएको तिहार पर्वले उम्मेदवारहरूलाई शुभकामना आदानप्रदान गरेर धेरै मतदातासम्म पुग्न सहज भइरहेको छ। अबको २७ दिनपछि हुने चुनावका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्।
आफ्नो निर्वाचन क्षेत्रका मतदाता आकर्षित गर्न उम्मेदवारहरूले आकर्षक नारा दिइरहेका छन्। जलविद्युत आयोजना निर्माण गर्नेदेखि मानसिक स्वास्थ्य उपचारसम्मका घोषणा उम्मेदवारहरूले गरेका छन्। काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार बसुनारायण श्रेष्ठ रोशी खोलामा जलविद्युत आयोजना गर्ने नारा लगाइरहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।
दलको उम्मेदवारलाई चक्मा दिन स्वतन्त्रबाट उम्मेदवार बनेकी काठमाडौं क्षेत्र नं ५ कि रन्जु दर्शनाको मुख्या नारा मानसिक स्वास्थ्य उपचार सेवा नै रहेको छ। काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ कै उम्मेदवार प्रदीप पौडेलले ‘बिसिडी’ मोडल सार्वजनिक गरेका छन्।
२०४६ सालको बहुदलीय व्यवस्थामा एमालेबाट गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ स्वतन्त्र पार्टीको झन्डा बोकेर घरदैलो अभियानमा जाँदा रोशी खोलाबाट विद्युत् निकाल्ने नारा सुनाइरहेका छन्। ‘पार्टीले पीडित बनायो,स्वतन्त्र पार्टीमा लागियो,’श्रेष्ठले भने,‘मतदाताले तपाई आउनु भयो, खुसी लाग्यो भनिरहेका छन्, चुनाव जित्नेमा विश्वस्त छु।’
एमालेले राप्रपाबाट पार्टी प्रवेश गरेका रेसम लामालाई उम्मेदवार बनाएपछि श्रेष्ठ स्वतन्त्र पार्टीको चिन्हमा उम्मेदवार बनेका हुन्। उनी स्वतन्त्रको माहौल देखेर छक्कै परेको सुनाउँछन्। सत्ता गठबन्धनको माओवादी केन्द्रले सूर्यमान दोङलाई उम्मेदवार बनाएको छ। काँग्रेसले प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवारी दर्ता नै गरेन।
सत्ता गठबन्धनको काँग्रेसले क्षेत्र नं २ मा शिवप्रसाद हुमागाईँ उम्मेदवार बनाउँदा माओवादी केन्द्रले उम्मेदवारी नै दर्ता गरेन। दुवै दलले आआफ्ना उम्मेदवार निर्वाचित गराउन भोट साटासाट गर्ने समझदारी गरेका छन्।
स्वतन्त्र उम्मेदवार रन्जु दर्शना : समलिङ्गी विवाहबारे नीति संवाद गर्ने
राजनीतिक दलहरूको दुई वटा र स्वतन्त्रहरूको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू मतदातालाई फकाइरहेका छन्। २०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित रन्जु दर्शना काठमाडौं क्षेत्र नं ५ की प्रतिनिधि सभा उम्मेदवार बनेकी छन्। स्वतन्त्र नामको पार्टीमा सहभागी नभएकी दर्शना विवेकशील साझा पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेकी हुन्। २६ वर्षकी दर्शना राजनीतिमा युवाहरू आउनु पर्ने बताउँछिन्। दलभित्र अवसर नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी उनले विद्यार्थी राजनीतिबाट खारिएर २०७४ को प्रतिनिधि सभा चुनावमा ३ मतले मात्रै पराजित भएका प्रदीप पौडेल र पानी ट्याङ्कीदेखि कोरोना महामारीसम्म अनियमितताको आरोप लागेका ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थानीय मतदाता बताउँछन्।
गणतन्त्रवादी नेताका रूपमा परिचित नरहरि आचार्यले चुनाव जित्दै आएको क्षेत्रमा बाम गठबन्धनका साझा उम्मेदवार बनेका पोखरेल निर्वाचित भएका थिए। स्वास्थ्यका कारण आचार्यले सक्रिय राजनीतिबाट विश्राम लिएपछि यो दोस्रो चुनावमा बिचार र सिद्धान्तमा अडिग प्रदीप पौडेल काँग्रेसबाट उम्मेदवार बनेका छन्।
काँग्रेसको महामन्त्रीमा पराजित बनेका पौडेलले ठुलठुला सभा आयोजना गरेका छैनन्। उनी मतदाताको घरदैलोमै पुगिरहेका छन्। ‘तिहारको अवसरमा चियापान र शुभकामना आदानप्रदान चलिरहेको छ,’आचार्यको समेत चुनावी कमान्डर बनिसकेका रामचन्द्र घिमिरेले भने,‘सत्ता गठबन्धनको साथ पाउँदा हामी चुनाव जित्छौ।’
नरहरि पछि काँग्रेसमा क्षेत्र नं ५ बाट चुनाव जित्न पौडेललाई चुनौती दिने उम्मेदवारहरू पनि पराजित गराउन कम्मर कसेर लागेका छन्। यो क्षेत्रबाट ईश्वर पोखरेल उपप्रधानमन्त्रीसम्म बने। पोखरेललाई पराजित गर्न सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनेका पौडेलले ‘रूपान्तरणको आधार सुशासन र सदाचार अहँ भ्रष्ट्राचार’ नामको नारा सार्वजनिक गरेका छन्।
पौडेलले निर्वाचन अभियानमा भ्रष्टाचार अन्त्य मुख्य प्राथमिकता बनाएका छन्। पौडेलले भ्रष्टाचारीलाई डिसलाइक गर्ने चिन्ह पनि प्रतिबद्धता पत्रमा सार्वजनिक गरेका छन्। पौडेलले भ्रष्टाचार अन्त्यका लागि राज्यको कार्यकारी भूमिकामा रहेकाहरूको अख्तियारले सम्पत्ति छानबिन गर्न पाउनुपर्ने बताए।
‘सुझबुझ सहितको निष्ठा, इमानदारिता र जबाफदेहिताको राजनीतिले मात्रै सुशासनको ग्यारेन्टी गर्न सक्छ,’उनले भने,‘देश र नागरिकका तमाम समस्याहरूलाई पार लगाउन सक्छ’ पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ‘बिसिडी’ मोडल अघि सारेका छन्।
‘बी’ अर्थात् ब्रेन ड्रेनको समस्या समाधान गरेर नेपाली युवाले नेपालमै आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यबाट गराउन नीति बनाउने प्रक्रियाको नेतृत्व गर्ने रहेको पौडेलले मतदातालाई आश्वासन दिएका छन्।
‘सी’ अर्थात् करप्सन (भ्रष्टाचार) अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने र अन्तिम मोडल अर्थात् ‘डी’ डेभलपमेन्ट (विकास) र यसको व्यवस्थापन गरी व्यवस्थित ढङ्गबाट कम खर्चमा धेरै उपलब्धिहरू हासिल गर्ने योजना रहेको पौडेलले जानकारी गराएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading