समानुपातिक निर्वाचन

लैङ्गिक पहिचानमा फरक विवरण दिने ३७ जनाको नाम हट्यो, नाम हटेका तेस्रोलिंगी नभएको आयोगको दाबी

लैङ्गिक पहिचानमा फरक विवरण दिने ३७ जनाको नाम हट्यो, नाम हटेका तेस्रोलिंगी नभएको आयोगको दाबी

काठमाडौं : राजनीतिक दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट ५५० जनाको नाम हटेको छ। दलहरूको च्वाइसमा परेका ५५० जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले महिलालाई पुरुष र पुरुषलाई महिला उल्लेख गर्ने ३७ जनाको नाम बन्दसुचीबाट हटाएको छ। प्रतिनिधि सभातर्फ १७ जना र प्रदेश सभातर्फ २० जना व्यक्तिहरूको नाम बन्दसुचीबाट हटाइएको आयोगले जनाएको छ। दलले पेस गरेको विवरणमा पुरुष उम्मेदवारलाई महिला र महिला उम्मेदवारलाई पुरुष उल्लेख भएको हुँदा त्यस्तो बन्दसूची प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ को दफा १९ को उपदफा (३) को खण्ड (ख) तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को उपदफा (३) को खण्ड (ख) बमोजिम पेस नभएको आयोगले उल्लेख गरेको छ।
नाम हटाइएको उनीहरू तेस्रोलिंगी नरहेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए। ‘महिलाको क्लष्टरमा नाम राख्ने तर डकुमेन्ट पुरुषको बुझाएकाले नाम हटेका पनि छन्,’वाग्लेले पहिचानसँग भने‘पुरुषको क्लष्टरमा महिलाको डकुमेन्ट पेस भएकाहरूको नाम हटेको हो। उनले उनीहरू तेस्रोलिंगी नभएको बताए। दाङबाट एक जना ‘अन्य’ उम्मेदवार समानुपातिकको बन्द सुचीमा रहेको उनले बताए।
दाङकी शिल्पा चौधरीको नाम समानुपातिकको बन्द सुचीमा कायम रहेको आयोगले जनाएको छ। ‘विदेशमा लिङ्ग परिवर्तन गरेर पुरुषबाट महिला भएका एक जनाको नामबारे आयोगलाई सम्बन्धित दलले पहिल्यै जानकारी दिएको थियो,’सहायक प्रवक्ता वाग्लेले भने,‘एक जनाको समानुपातिकतर्फ अन्यमा उम्मेदवारी कायम रहेको छ।’
जनताको सेवा गर्न उम्मेदवारी : तेस्रोलिंगी राधा मौसी
नागरिकतामा उल्लेख भए बमोजिमको लैङ्गिक पहिचान कायम राख्दा दलहरूले पेस गरेको उम्मेदवारको बन्दसूचीको समावेशी समूह र बन्दसूचीको क्रममा समेत गम्भीर प्रभाव/असर पर्न जाने देखिएकोले त्यस्ता व्यक्तिहरूको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।
जरिवाना नबुझाउनेदेखि कालोसूचीमा परेकासम्म
बन्दसूचीमा समावेश भएका तर निर्वाचन कानुन तथा आचारसंहिता उल्लङ्घनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कालो सुचीमा रहेका १ जना र लाभको पदमा रहेका १ जना गरी जम्मा ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको हो।
आयोगका अनुसार उम्मेदवारहरूको सम्बन्धमा परेको दाबी विरोध जाँचबुझ गरी कानुन बमोजिम अयोग्य देखिएका उम्मेदवारको नाम सूचीबाट हटेको छ। आयोगले आचारसंहिता उल्लङ्घनमा जरिवाना नबुझाएका ३६९ जना व्यक्तिको नाम उम्मेदवारको बन्दसूचीबाट हटाउने निर्णय गरेको जनाएको छ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरू ३७४ जनामध्ये प्रतिनिधि सभा तर्फको बन्दसूचीका उम्मेदवारहरू नेपाल लोकतान्त्रिक पार्टीका कविता सुनार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सत्यम पुन र प्रदेश सभा तर्फका बन्दसूचीका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका दर्सिल वि.क.को उमेर नपुगेका कारण सूचीबाट हटाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रतिनिधि सभा तर्फका उम्मेदवार नेपालका लागि नेपाली पार्टीका कल्पना विश्वकर्माको नाम अल्पसङ्ख्यक सम्बन्धी कागजात नपुगेका कारण र प्रदेश सभा तर्फका उम्मेदवार अशोक घिमिरेको बन्दसूची र मतदाता नामावलीमा लिङ्ग फरक परेको कारण बन्दसूचीबाट नाम हटेको छ।
आयोगले कात्तिक ५ गते भित्र जरिवाना बुझाउने मौका दिएको थियो। कार्तिक ५ भित्र समेत जरिवाना नबुझाउने व्यक्तिको नाम उम्मेदवारको रूपमा कायम गर्न नमिल्ने भएकाले निजहरूको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय गरिएको जनाएको छ।
उमेर नपुगेका उम्मेदवार
उमेर नपुगेका ५२ जना उम्मेदवारको नाम पनि बन्दसुचीबाट हटेको छ। प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना व्यक्तिको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको आयोगले जनाएको छ। उनीहरूको उमेर बन्दसूची पेस गर्न तोकिएको मिति २०७९ असोज २ गतेसम्ममा २५ वर्ष पूरा नभएकाले बन्दसूचीबाट नाम हटेको हो।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६६ जना व्यक्तिहरूको नाम दोहोरो रूपमा समावेश भएकोले हटाउने निर्णय गरेको आयोगले जनाएको छ।
बन्दसूचीमा नाम समावेश भएका ६ जना व्यक्तिहरूको नाम कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा समावेश नभई उम्मेदवार हुन अयोग्य देखिएकोले सूची बमोजिमका व्यक्तिहरूको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय आयोगले गरेको छ। प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमा नाम समावेश भएका १२ जना व्यक्तिहरूको नाम सम्बन्धित प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश नभएकाले उम्मेदवार हुन अयोग्य देखिएको आयोगले जनाएको छ।
स्वतन्त्र उम्मेदवार रन्जु दर्शना : समलिङ्गी विवाहबारे नीति संवाद गर्ने
बन्दसूचीमा नाम समावेश भएका ६ जना व्यक्तिहरूको हकमा उम्मेदवारको बन्दसूची पेस हुँदा उम्मेदवारको मन्जुरीनामा, नागरिकता वा परिचयपत्र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (९), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (८), प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १७ को उपनियम (२) तथा प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १७ को उपनियम (२) अनुसार पेस नगरेको हुँदा सम्बन्धित दलले पेस गरेको बन्दसूची अनुसारका ६ जनाको नाम हटाइएको आयोगले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading