चुनाव

उपाय सकिएपछि भिराइदिए ‘टुरिस्ट’को बिल्ला

उपाय सकिएपछि भिराइदिए ‘टुरिस्ट’को बिल्ला

काठमाडौं : प्रतिनिधि र प्रदेश सभा सदस्य चुन्नका लागि अबको ७ दिनमा मतदान हुँदैछ। प्रतिनिधि सभाको २७५ सदस्य पदमा समानुपातिक तर्फका ११० र प्रत्यक्षतर्फका १६५ जना निर्वाचित हुनेछन्। प्रदेश सभाका ३३० सदस्य पदमा निर्वाचित हुन उम्मेदवारहरूले जनताको आवश्यकता भन्दा धेरै आश्वासन दिइरहेका छन्।

चुनाव जित्नकै लागि राजनीतिक दलहरूले घोषणापत्र, प्रतिबद्धता पत्र, भाकल पत्र, बाचा पत्र सार्वजनिक गरेका छन्। स्वास्थ्य, शिक्षा, रोजगार, सडक, बिजुली, पानी, पुलपुलेसा निर्माणको एजेन्डा प्राथमिकतामा परेको छ।

उम्मेदवारहरूका चुनावी एजेन्डामा कागजका अस्पताल ठडिएका छन्। उम्मेदवारका एजेन्डा सुनाउन टोलटोलमा कार्यकर्ता खटिएका छन्। कार्यकर्ता उम्मेदवारको स्तुतिगान सुनाइरहेका छन्। घोषणापत्रमा नभएका विषयमा समेत आश्वासन दिइरहेका उम्मेदवार जसरी पनि निर्वाचित हुने कसरत गरिरहेका छन्।

काभ्रे प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा काँग्रेस काभ्रेका सभापति तीर्थ लामाले पाँच वर्षे कार्यकाल सकेर पुन उम्मेदवार बनेका एमालेका चन्द्र लामासँग प्रतिस्पर्धा गर्दैछन्। प्रदेश सभा (ख) मा नेपालका लागि नेपाली पार्टीका नरमान लोप्चन, नेमकिपाका कृष्णबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाईजेशनका जनकबहादुर तामाङ, स्वतन्त्र दुर्गाबहादुर घर्ती, विश्वेश्वर बन्जारा, जनता समाजवादी पार्टी नेपालका बुद्धबहादुर लामा र राप्रपाका सहदेव भण्डारी चुनावी मैदानमा छन्।
पूर्वसहकर्मीले छोडेपछि सङ्कटमा गोकुल, गठबन्धनको साथले उत्साहित हुमागाईँ
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका तीर्थ लामाको पल्ला भारी छ। अघिल्लो पटक निर्वाचित चन्द्र लामा यो पटक कमजोर देखिएका छन्। बामगठबन्धनको समर्थनमा चुनाव जितेका चन्द्रले नयाँ एजेन्डा सुनाउन सकेका छैनन्। काँग्रेसका जिल्ला सभापति समेत रहेका तीर्थलाई एमाले कार्यकर्ताले भोट क्रस गराउन ‘टुरिस्ट’ नारा बनाएका छन्। अरू उपाय सकिएपछि एमाले कार्यकर्ताले तीर्थलाई ‘टुरिस्ट’ उम्मेदवारको बिल्ला भिराइदिएका छन्।

२०७० को दोस्रो संविधान सभा चुनावमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित लामाको मतदाता नामावली प्रदेश (क) मा छ। उनले आफैलाई भोट खसाल्न पाउँदैनन्। सत्ता गठबन्धनका माओवादी उम्मेदवार रत्न ढकाललाई प्रदेश (क) मा काँग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नेपालको समर्थन छ भने प्रदेश (ख) का उम्मेदवार तीर्थ लामालाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन छ।

गठबन्धन दलको समर्थनमा तीर्थ लामा विजयी हुने देखिएपछि एमाले उम्मेदवार चन्द्र लामाले टुरिस्ट उम्मेदवारको नारा लगाउन कार्यकर्ता परिचालन गरेका छन्। अरू कुनै उपाय नलागेपछि एमालेले देशैभरि जस्तो काभ्रे प्रदेश सभा (ख), प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का काँग्रेस काभ्रेका पूर्वसभापति शिवप्रसाद हुमागाईँ, काठमाडौं निर्वाचन क्षेत्र ५ का काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलविरुद्ध ‘टुरिस्ट’ नारा लगाइरहेको छ। बलिया प्रतिस्पर्धीको मत भाँड्न कार्यकर्ता अनेक नारा लगाइरहेका छन्।

काभ्रे प्रतिनिधि सभा १ मा काठमाडौँ १० बुद्धनगर घर भएकी ५६ वर्षीया रुकमणी श्रेष्ठ पनि उम्मेदवार छिन्। काभ्रे जिल्लामा मतदाता नामावली नभएकी श्रेष्ठलाई एमालेले टुरिस्ट भनेर प्रचार गरेको छैन। किनकि उनलाई एमालेले प्रतिस्पर्धी मानेको छैन। प्रतिस्पर्धीलाई भने कुनै उपाय नलाग्ने देखिएपछि एमालेले टुरिस्ट उम्मेदवारको नारा लगाइरहेको छ। काठमाडौँकी रुकमणी प्रतिनिधि सभातर्फ काभ्रेमा गएर उम्मेदवार बन्ने एक मात्र महिला उम्मेदवार समेत हुन्।

झलनाथको क्षेत्रमा चिन्ह समस्या

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको यो पहिलो संसदीय निर्वाचन हो। समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार छन्। उनी सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनेका छन्। उनलाई पराजित एमाले कार्यकर्ताहरूले ‘चुनाव चिन्ह त सूर्य नै हो नि’ भन्दै भोट मागिरहेका छन्।

समाजवादीका केन्द्रीय सदस्य प्रेमल खनालले झलनाथले चुनाव जित्ने निश्चित भएपछि एमाले कार्यकर्ताले झलनाथको चुनाव चिन्ह सूर्य भन्दै प्रचार गरिरहेको बताए। ‘हामी चुनाव जित्छौ,माहौल राम्रो छ,’पहिचानसँग उनले भने,‘उम्मेदवार झलनाथ खनाल, चिन्ह सूर्य भन्दै भोट मागिरहेका छन्,त्यस्तालाई के भन्नु।’

२०७४ को निर्वाचनमा खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत मात्र पाएका थिए। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा इलाम १ अन्तर्गतका वडाहरूमा वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मतमा सत्ता गठबन्धन अगाडि छ।

काँग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले १० हजार ४२९, माओवादी केन्द्रले एक हजार २३५ पाउँदा एमालेका वडा अध्यक्षका उम्मेदवारले २६ हजार २३३ मत पाएका छन्। राप्रपाले एक हजार १६९ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले ३ हजार ८०५ मत पाएका छन्।

खनाल इलामबाट २०४८, २०५१, २०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी भएका थिए। त्यसैले उनको व्यक्तिगत प्रभाव पनि सो क्षेत्रमा राम्रै मानिन्छ। कतिसम्म भने २०६४ मा पार्टीका नेतृत्व तहका अधिकांश नेताहरू हार्दा पनि उनी विजयी भएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading