अबको संसद्

बढारियो माओवादी, देउवा सातौ पटक निर्वाचित 

बढारियो माओवादी, देउवा सातौ पटक निर्वाचित 

काठमाडौं : प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म २७ स्थानको नतिजा सार्वजनिक भएको छ। नेपाली काँग्रेसले १३ स्थानमा विजयी हासिल गरेको छ। नेकपा एमाले पाँच स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ४ र नेकपा माओवादी केन्द्र २ स्थानमा विजयी भएको छ।

नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा खाता खोलेका छन्। काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा काँग्रेस विजयी भएको छ भने ४ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। एमाले एउटा मात्रै निर्वाचन क्षेत्रमा विजयी हुँदा काठमाडौँबाट माओवादी बढारिएको छ।

माओवादीका उम्मेदवार ओनसरी घर्ती, कल्पना धमला, अञ्जना विसंखे र मानुषी यमी भट्टराईले निकटतम प्रतिस्पर्धीको रूपमा समेत मत पाउन सकेनन्। सत्ता गठबन्धनको एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ र काँग्रेसका भीमसेनदास प्रधानको अवस्था पनि मतका हिसाबले माओवादीका उम्मेदवारको जस्तै रह्यो।

काठमाडौं १ बाट काँग्रेसका प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगनकुमार थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजन केसी निर्वाचित भएका छन्। पछिल्लो विवरण अनुसार काठमाडौं ३ बाट काँग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याएर विजयी भएका छन्। चालिसेसँग पराजित एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत ल्याएका छन्।

प्रदीप पौडेलको इच्छा देशको कार्यकारी बन्ने, नरहरि आचार्यको अभाव खड्कन नदिने

यस्तै काठमाडौं क्षेत्र नम्बर ५ मा काँग्रेसका प्रदीप पौडेल १५ हजार २३७ मत ल्याएर विजयी भएका छन्। पौडेलसँग पराजित एमालेका ईश्वर पोखरेलले १० हजार १७५ मत ल्याएका छन्। पहिलो पटक संसदीय यात्रामा पाइला टेकेका पौडेलले विजयी जुलुस निकालेनन्। निर्वाचित भएसँगै पौडेलले मतदाताको घरदैलोबाट सुझाव लिएर समस्या समाधानमा लाग्ने उद्घोष गरेका छन्।

काठमाडौं क्षेत्र नं १० मा काँग्रेसका राजेन्द्रकुमार के.सी.ले ह्याट्रिक गरेका छन्। उनी १४ हजार ४४८ मत ल्याएर विजयी भएका छन् । उनीसँग पराजित एमालेका हिमेश के.सी.ले ११ हजार ७८६ मत ल्याएका छन्। उनी २०७० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर निर्वाचित भएका थिए। २०७४ मा बाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका केसीको अबको संसद् यात्रा तेस्रो हो।

स्वतन्त्र पार्टीका ४ निर्वाचित

काठमाडौँका ४ निर्वाचन क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन र एमालेसहितको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भएकी छन्। उनीसँग पराजित एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत ल्याएका छन्। विजयी भएसँगै गौतमले संसद्मा खानेपानीको समस्या निरन्तर उठाउने बताएकी छन्।

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन्। प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका छन्। काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर विजयी भएका छन्। श्रेष्ठसँग पराजित हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्। खनालले १४ हजार २०४ मत ल्याएका छन्। उनीसँग पराजित एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याएका छन्।

काठमाडौँमा एमालेले एउटा क्षेत्रमा मात्र विजयी प्राप्त गरेको छ। २०५१ सालको उपनिर्वाचनबाट संसदीय राजनीतिमा प्रवेश गरेका एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले मात्रै पराजित गरे। विजयी श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी पोखरेल १० हजार ९६१ मत ल्याएर पराजित भएका छन्।

देउवा सातौँ पटक निर्वाचित

डडेलधुरा क्षेत्र नम्बर १ मा काँग्रेसका शेरबहादुर देउवा २५ हजार ५३४ मत ल्याएर विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई पराजित गरे। १२ हजार ४९२ मतान्तरले पराजित ढकालले १३ हजार ४२ मत ल्याए। देउवा काँग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री हुन्।

देउवा २०५२ सालमा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए। देउवा पटक पटक गरी ५ पटक प्रधानमन्त्री बन्न सफल भएका छन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सातौँ पटक डडेलधुराबाट विजयी हुन सफल देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा ‘असक्षम’को आरोप लगाई विघटन गरेका थिए।

दुई वर्ष पछि ज्ञानेन्द्रले नै २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। यो चुनावमा देउवा पत्नी आरजु राणा देउवालाई काँग्रेसले समानुपातीतर्फको उम्मेदवार बनाएको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको काँग्रेसका सभापति देउवालाई टक्कर दिन स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावी मैदानमा थिए।

राणा, आचार्य, रिजाल र थानी निर्वाचित

ललितपुर १ बाट सत्ता गठबन्धनका काँग्रेस उम्मेदवार उदय शमशेर राणा निर्वाचित भएका छन्। उनले २३ हजार ८९२ मत ल्याएर विजयी भए। उनीसँग पराजित एमालेका नवराज सिलवालले १९ हजार २७८ मत ल्याएका छन्।

यस्तै रसुवा क्षेत्र नम्बर १ मा काँग्रेसका मोहन आचार्य १८ हजार २३५ मत ल्याएर विजयी भएका छन्। उनीसँग पराजित एमालेका छोवाङतेन्जिङ तामाङले ८ हजार ६१४ मत ल्याएका छन्।

तनहुँ क्षेत्र नम्बर २ मा काँग्रेसका शङ्कर भण्डारी ३० हजार ६०४ मत ल्याएर विजयी भएका छन्। उनीसँग पराजित एमालेका किरण गुरुङले २५ हजार १३० मत ल्याएका छन्।

यस्तै सुर्खेत क्षेत्र नम्बर २ मा काँग्रेसका हृदयराम थानी ३४ हजार ६२५ मत ल्याएर विजयी भएका छन्। उनीसँग पराजित एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत ल्याएका छन्।

पर्सा क्षेत्र नम्बर ४ मा काँग्रेसका रमेश रिजाल ३१ हजार १४२ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका जालिममियाँ मन्सुरीले २५ हजार ६१९ मत ल्याएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading