चुनाव

४ मन्त्री पराजित, ६ जनाको जमानत जफत

४ मन्त्री पराजित, ६ जनाको जमानत जफत

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा वर्तमान सरकारका तीन मन्त्री विजयी हुँदा तीन मन्त्री र एक राज्यमन्त्री पराजित भएका छन्।

श्रममन्त्री शेरबहादुर कुँवर अछामबाट निर्वाचित भएका छन्। अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका श्रममन्त्री कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्। कुँवरसँग पराजित झपटबहादुर बोहराले १५ हजार ४५ मत ल्याएका छन्।

उद्योग मन्त्री दिलेन्द्र बडू पुर्वमन्त्री गणेश ठगुन्नालाई पराजित गरेर दार्चुलाबाट निर्वाचित भएका छन्। दार्चुला क्षेत्र नम्बर १ बाट काँग्रेसका बडू २८ हजार ५१५ मत ल्याएर विजयी भएका हुन्। बडूसँग पराजित गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत ल्याएका छन्।

शिक्षा मन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका पौडेल २४ हजार ७७९ मत ल्याएर विजयी भएका हुन्। पौडेलसँग पराजित मञ्जु शर्माले २० हजार १८० मत ल्याएकी छन्।

गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी, अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्पर्धीलाई पछाडि पार्दै अग्रता कायम गरेका छन्। खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १, संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का उदयपुर १ मा जितका लागि सङ्घर्ष गरिरहेका छन्।

राज्यमन्त्री उमेश श्रेष्ठ चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रबी लामिछानेसँग पराजित भएका छन्। चितवन क्षेत्र नं २ मा श्रेष्ठलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४९ हजार २६४ मत ल्याएर विजयी विजयी भएका छन्। पराजित श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका छन्।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र ऊर्जा मन्त्री पम्फा भुसाल पराजित भएका छन्। बाँकेको क्षेत्र नम्बर १ मा एमालेका सूर्य ढकालसँग गहतराज पराजित भएका छन्। ढकालले २५ हजार २६ मत प्राप्त गर्दा मन्त्री गहतराजले १९ हजार ६३२ मत पाएका छन्।

‘ढुङ्गा हान्ने विज्ञान प्रविधि मन्त्री हुँदैन’

काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार पर्यटन मन्त्री जीवनराम श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन्। प्रतिस्पर्धामा तेस्रो भएका श्रेष्ठले ४ हजार ८७७ मत मात्रै ल्याए।

ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी उर्जामन्त्री पम्फा भुसाल पनि निकटतम प्रतिद्वन्द्वी बन्न सकिनन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की ३१ हजार १३६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन्। प्रतिस्पर्धामा तेस्रो भएकी मन्त्री भुसालले ८ हजार ७६९ मत मात्रै पाइन।

वर्तमान मन्त्रिपरिषद्मा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी चुनावी मैदानमै उत्रिएनन्।

प्रतिनिधि सभाको कार्यकाल सकिने बेला उपसभामुख बनेकी पुष्पा भुसाल पराजित भएकी छन्। अर्घाखाँची क्षेत्र नम्बर १ की उम्मेदवार भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी हुन्। रायमाझी ४२ हजार ६७५ मत ल्याएर विजयी हुँदा पराजित भुसालले ४० हजार ९४५ मत ल्याएकी छन्।

७ जनाको जमानत जफत

मङ्सिर ४ मा सम्पन्न चुनावको परिणाम अनुसार चर्चित ७ उम्मेदवारको जमानत जफत भएको छ। काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले जमानत नै जोगाउन सकिनन्। काँग्रेसका प्रदीप पौडेल निर्वाचित यो क्षेत्रमा दर्शनाले जम्मा ६०० मत मात्रै पाइन।

काठमाडौं ९ मा प्रतिस्पर्धा गरेका साझा पार्टी नेपालका मिलन पाण्डेको पनि जमानत जफत भएको छ। उनले २ हजार ३२७ मत ल्याए पनि जमानत जोगाउन सकेनन्।

झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका युग पाठकको पनि जमानत जफत भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेका दीपककुमार पाठक (युग)ले ३५६ मत मात्रै ल्याए।

४४१ मत ल्याएका काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईँ १०२ मत ल्याएका काठमाडौं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका ईश्वर अर्यालको जमानत जफत भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं संसदीय सुनुवाइ समितिका निवर्तमान सभापति समेत रहेका लक्ष्मणलाल कर्णको जमानत नै जफत भएको छ।

पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका कर्णले कूल सदर मतको १० प्रतिशत मत समेत ल्याउन नसकेपछि जमानत जफत भएको हो। कर्णले १ हजार १ सय १७ मत मात्रै ल्याए। सदर मतको १० प्रतिशतभन्दा कम ल्याएका उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading