अबको संसद्

अहिलेसम्मकै कम मतान्तरमा छिनोफानो

अहिलेसम्मकै कम मतान्तरमा छिनोफानो

काभ्रे : काभ्रेमा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको छ। निर्वाचन क्षेत्र १ को (क) मा सत्ता गठबन्धनका माओवादी उम्मेदवार रत्नप्रसाद ढकाल २० हजार ७२० मत ल्याएर निर्वाचित भएका छन्। ढकालसँग पराजित एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत ल्याए।

जमानत जोगाउन नसकेका नेकपा मालेका ङेमा लामाले १ हजार १५६, राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल श्रेष्ठले १ हजार ५१, मङ्गोल नेशनल अर्गनाइजेसनका चन्द्रमान लामाले ३८३, जनता समाजवादी पार्टीका मानबहादुर तामाङले ३५४, नेपाल मजदुर किसान पार्टीका प्रज्ञान अस्तानी मगरले १८०, नेकपा परिवर्तनका बीजबहादुर लामा थिङले १६६ र नेपाल लोकतान्त्रिक पार्टीका सञ्जीव बल तामाङले १२३ मत ल्याए।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित ढकाल यो निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट निर्वाचित भए। उनी बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री छन्। ढकालले प्रदेश सभामा फरक फरक गठबन्धनबाट दोहोरिने अवसर पाए।

निर्वाचन क्षेत्र १ को (ख) मा देशभरमै कम मतान्तरले हारजित भएको छ। गठबन्धनका काँग्रेस उम्मेदवार तीर्थबहादुर लामा जम्मा ३ मतान्तरले विजयी भएका छन्। प्रतिस्पर्धीलाई ३ मतले पराजित गर्दै निर्वाचित भएका लामाले १९ हजार २८० मत ल्याए भने प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर लामाले १९ हजार २७७ मत पाए।

चन्द्र २०७४ को चुनावमा बाम गठबन्धनबाट निर्वाचित भएका थिए। यो चुनावमा उनी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार तीर्थसँग पराजित हुन पुगे। प्रदेश (क) मा ढकालको जस्तै चन्द्र दोहोरिएर निर्वाचित हुन सकेनन्। जित निकालेका तीर्थलाई भने चन्द्रले कडा टक्कर भने दिए।

उपाय सकिएपछि भिराइदिए ‘टुरिस्ट’को बिल्ला

प्रतिनिधि सभा छोडेर प्रदेश झरेका काँग्रेसका जिल्ला सभापति तीर्थ लामा २०७० को दोस्रो संविधान सभामा निर्वाचित भएका थिए। प्रतिनिधि सभाका दाबेदार तीर्थ प्रदेश झरेपछि २०७४ मा काँग्रेसबाटै टिकट लिएर चुनाव लडेका गणेश लामा प्रचारमै निस्किएनन्।

आफ्नो क्षेत्रमा जिल्ला सभापति उम्मेदवार बनेपछि काँग्रेसका केन्द्रीय सदस्य गणेश लामा असन्तुष्ट देखिए। तीर्थले आफैलाई पनि मत दिन पाएनन्। उनको मतदाता प्रदेश सभा (क) मा थियो। पार्टी भित्रको असन्तुष्टि आफूतिर तान्न प्रतिस्पर्धी एमालेले उनलाई ‘टुरिस्ट’ उम्मेदवार भनेर प्रचार गरेको थियो।

प्रदेश (ख) मा राप्रपाका सहदेव भण्डारीले ३ हजार ९५४ र स्वतन्त्र उम्मेदवार विश्वेश्वर बन्जाराले १ हजार ७५९ मत ल्याए। जमानत जोगाउन नसकेका नेपाल मजदुर किसानका कृष्णबहादुर तामाङले २२२, नेपालका लागि नेपाली पार्टीका नरमान लोप्चनले २०८, मङ्गोल नेशनल अर्गनाइजेसनले १४५, जसपाका बुद्धबहादुर लामाले ११८ र स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर घर्तीले ५० मत ल्याए।

काभ्रे निर्वाचित क्षेत्र २ को प्रदेश (क) मा काँग्रेससहितको गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल १९ हजार ४०८ मत ल्याएर निर्वाचित भएका छन्। उनले आफ्नै पूर्वसहकर्मी एमालेका कुमारप्रसाद खकुरेललाई पराजित गरे। पराजित खकुरेलले १९ हजार २२० मत ल्याए।

राप्रपाका रन्जीव श्रेष्ठले ४ हजार २३० मत ल्याए भने हाम्रो नेपाली पार्टीका ताराबहादुर कुँवरले २ हजार ७१२ मत ल्याए। जमानत नै जोगाउन नसकेका नेपाल मजदुर किसान पार्टीका सूर्य लाल तामाङले ४५२ र मङ्गोल नेशनल अर्गनाइजेसनका मुस्कान लामाले १५६ मत मात्रै ल्याए।

प्रदेश सभा (ख) मा काँग्रेसका कन्चनचन्द्र वादे २६ हजार ३५ मत ल्याएर विजयी भए। काँग्रेस बागमती प्रदेशका महामन्त्री वादेसँग पराजित एमालेका कुमार थापाले २१ हजार ९५७ मत ल्याए। संविधान सभाका सदस्य र उद्योग राज्यमन्त्री भएका वादे तीर्थ लामा जस्तै प्रदेश झरेर निर्वाचित हुन सफल भए।

प्रदेश सभा सदस्यका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका राम कृष्ण लामा तामाङले ३ हजार १८१ मत ल्याए। ९७४ मत ल्याएका नेपाल मजदुर किसान पार्टीका मुना तामाङ, ३८६ मत ल्याएका नेकपा मालेका दानबहादुर थापा, १२७ मत ल्याएका जसपाका वीरबहादुर तामाङ र ९६ मत ल्याएका मङ्गोल नेशनल अर्गनाइजेसनका सुकमान तामाङले जमानत नै जोगाउन सकेनन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading