दूधको मूल्य

डेरी व्यवसायीको आफूखुसी, प्रतिलिटर १४ रुपैयाँसम्म बढाए

डेरी व्यवसायीको आफूखुसी, प्रतिलिटर १४ रुपैयाँसम्म बढाए

काठमाडौं : डेरी व्यवसायीले किसानबाट खरिद गर्दा महँगो परेको भन्दै दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका छन्। सीमित व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका हुन्।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा वार्षिक मूल्य वृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था छ । राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ को दफा ६ (ख) मा दुग्ध विकास बोर्डले दूधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी सरकार समक्ष सिफारिस गर्ने भनिएको छ।

विद्यमान कानुनी व्यवस्थाले दूधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहे पनि व्यवसायीले ११ महिनामै दूधको मूल्य बढाएका हुन्। यसअघि बोर्डको सिफारिसमा सरकारले २०७८ माघमा दूधको मूल्य तोकेको थियो। एक वर्ष नपुग्दै व्यवसायीले एकतर्फी रूपमा मूल्य बढाएपछि उपभोक्ता मर्कामा परेका छन्।

दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परेपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीहरूको भनाइ छ। किसानको उत्पादन लागत नै महँगो परेपछि बाध्य भएर मूल्य बढाएको नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताए। ‘दाना, चोकरको मूल्य बढेका कारण लागत बढ्यो। कर्मचारीको तलबदेखि बैङ्कको ब्याजसम्म बढेको छ। मूल्य बढाउन किसानले पटकपटक दबाब दिए,’उनले भने,‘महँगोमा नकिने किसान पलायन हुने र दूध नपाउने अवस्था आयो।’

भैँसी भन्दा गाईको दूध धेरै

सरकारले दूधको न्यूनतम समर्थन मूल्य तोके पनि अधिकतम मूल्य भने बजार मागअनुसार तोकिने उनले बताए। ‘किसानलाई न्यूनतम मूल्य नदिएको भए नियामकले कारबाही गर्न सक्छ। तर बढी मूल्य दिन नपाउने भनेर अहिलेसम्म हामीलाई कुनै पत्र आएको छैन,’उनले भने,‘दिन प्रतिदिन किसानको मूल्य बढ्दै जाने तर हामीले सस्तोमा बेच्ने भन्ने सम्भव छैन।’

गत वर्ष माघमा सरकारले दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ९७ पैसा तोकेको थियो। त्यसमध्ये किसानले प्रतिलिटर ५६ रुपैयाँ चार पैसा पाउँछन् भने प्रतिलिटर ९३ पैसा चिस्यानमा राख्ने खर्चका रूपमा रहन्छ। तर पछिल्लो समय किसानले नै प्रतिलिटर ७० रुपैयाँ सम्ममा दूध बेच्न थालेको र किसानबाट खरिद मूल्य बढेपछि बजारमा उपभोक्ता मूल्य पनि बढाइएको उनले दाबी गरे।

दूधमा मूल्य बढाउँदा त्यसको लाभ किसानले नभई व्यवसायीले नै लिने गरेको भन्दै आलोचना भइरहेको छ। तर दाहाल भने किसानले पाउने दूधको मूल्यको मार्जिन बढेको दाबी गर्छन्। ‘सामान्यतया दूधको मूल्यमा ७० प्रतिशत किसानको नाफा र ३० प्रतिशत व्यवसायीको रहन्छ,’उनले भने,‘तर अहिले प्रतिलिटर १४ रुपैयाँ बढाउँदा १२ रुपैयाँ किसानले नै पाएका छन्।’

धान उत्पादन क्षेत्र घट्यो, ४ लाख मेट्रिक टन चामल अपुग

दुग्ध विकास संस्थान (डीडीसी) भन्दा निजी क्षेत्रले प्रतिलिटर एक रुपैयाँ बढी मूल्य तिरेर दूध खरिद गर्ने पारस्परिक समझदारी भएको पनि उनले बताए। डेरी उद्योगी–व्यवसायीले घटी मूल्य लिन नपाउने भए पनि बढी मूल्य भने लिन सक्ने उनले जिकिर गरे। यद्यपि, दूधको मूल्य बढाउने विषयमा डेरी उद्योग सङ्घले औपचारिक निर्णय भने नगरेको अध्यक्ष दाहालले बताए।

राष्ट्रिय समाचार समितिका अनुसार डेरी उद्योग सङ्घले दूधको मूल्य बढाउने निर्णय गरे पनि नेपाल डेरी एसोसिएसन र केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले भने त्यसमा सहमति जनाएका छैनन्। राष्ट्रिय दुग्ध विकास बोर्डले भने केही व्यवसायीले आफूखुसी मूल्य बढाउनु उचित नरहेको जनाएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले सीमित दुग्ध व्यवसायीले मूल्य वृद्धि गर्न नपाउने बताए। ‘राष्ट्रिय दुग्ध विकास नीति र दुग्ध विकास ऐनले हरेक दुई वर्षमा मूल्य समायोजन हुन्छ भन्ने प्रावधान राखेको छ। सबै सरोकारवालासँगको छलफलपछि २०७८ माघमा मूल्य निर्धारण भएको थियो,’उनले भने,‘अहिले व्यवसायीले आफैँ मूल्य बढाउनु जायज होइन।’

दुग्ध व्यवसायीले एकलौटी मूल्यबारे आइतबार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिवसँग छलफल राखिएको पनि उनले बताए। ‘उनीहरूले यस्तो गर्न पाउँदैनन्। समस्या नै परेको भए समन्वय गरेर जानकारी दिएर छलफल गरेको भए हुन्थ्यो,’उनले भने,‘यसबारे आइतबार (भोलि) सचिवको नेतृत्वमा छलफलमा बस्दै छौँ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading