बैङ्क मर्जर

कुमारी बैङ्कले सुरु गर्‍यो एकीकृत कारोबार, डिपोजिटमा समस्या

कुमारी बैङ्कले सुरु गर्‍यो एकीकृत कारोबार, डिपोजिटमा समस्या

5.5k
SHARES

काठमाडौं : कुमारी बैङ्कमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क मर्जर भएर एकीकृत कारोबार सुरु भएको छ। २०७९ असोज १० मा एनसीसी बैङ्कका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैङ्कका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले दुई बैङ्कबिच १ बराबर १ अनुपात रेसियो हुने गरी मर्जर सम्झौता आइतबारदेखि कार्यान्वयनमा आएको हो।

शेयर स्वाप अनुपात भन्नाले गाभ्ने गाभिने लक्षित संस्थाका शेयर धनीहरूले आफ्नो प्रत्येक शेयर बापत पाउने गाभिएपछि कायम हुने संस्था वा प्राप्त गर्ने संस्थाको शेयर सङ्ख्यालाई सम्झनु पर्ने बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ मा उल्लेख छ।

मर्जरपछि बैङ्कले कुमारी बैङ्ककै नामबाट कारोबार सञ्चालन गरेको छ। बैङ्कले एनसीसी बैङ्कका ग्राहकको चेक सटही सुविधा दिएको छ। डिपोजिट सिस्टम बिहान ११ बजेसम्म चालु हुन सकेको थिएन। कुमारी बैङ्कले भने बिहान डिपोजिटमा देखिएको समस्या अहिले समाधान भइसकेको दाबी गरेको छ।

ललितपुरको कुमारी बैङ्क एनसीसी बैङ्कको कार्यालयमा गाभिएको छ। दुवै बैङ्कका कर्मचारीले एकीकृत कारोबार थालेका छन्।

गाभिने वा लक्षित संस्थाको इजाजत पत्र गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको दिनदेखि स्वतः रद्द हुने गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावलीमा उल्लेख छ। विनियमावली अनुसार गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाका कर्मचारीहरूले साबिकमा खाइपाई आएको तलब, भत्ता तथा सुविधा नघट्ने गरी पदमिलान गर्नु पर्नेछ।

१७ पुस आइतबारदेखि एकीकृत कारोबार गरेका कुमारी बैङ्क र एनसीसी बैङ्कले साधारण सभा गरेर मर्जर तथा प्राप्तिलाई अनुमोदन गरेको छ।

कुमारी बैङ्कको चुक्ता पुँजी २६ अर्ब रुपैयाँ भएको छ। शाखा सङ्ख्या ३५५, एटिएम सङ्ख्या २४४, एक्सटेन्सन काउन्टर सङ्ख्या ५१, निक्षेप ३ खर्ब १ अर्ब र कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुने कुमारी बैङ्कले जनाएको छ।

कर्मचारीका लाग स्वैच्छिक अवकाश योजना ल्याउने बताएको एनसीसी बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल कुमारी बैङ्कको प्रमुख कार्यकारी अधिकृत बनेका छन्।

नियमावलीमा ‘दुई वा सोभन्दा बढी इजाजत पत्र प्राप्त संस्थाहरू गाभ्दा वा गाभिँदा वा एक संस्थाले अर्को संस्थालाई प्राप्ति (एक्विजिशन) गर्दा सोबाट बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना हुने वा कुनै संस्थाको एकाधिकार वा नियन्त्रित अभ्यास कायम हुन सक्ने सम्भावना देखिएमा वा प्रचलित कानुन बमोजिम कुनै निकायबाट स्वीकृति वा सहमति लिनु पर्नेमा सो प्राप्त गर्न नसकेमा राष्ट्र बैङ्कले सोको कारण खोली त्यस्ता संस्थालाई गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) को लागि दिएको सैद्धान्तिक सहमति खारेज समेत गर्न सक्नेछ’उल्लेख छ।

बैङ्कको चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार कुमारी बैङ्कको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार र एनसीसी बैङ्कको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रहेको छ।

गत आर्थिक वर्षको अन्त्यमा कुमारी बैङ्कको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार र एनसीसी बैङ्कको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रहेको छ। मर्जर भएको कुमारी बैङ्कको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैङ्कको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कुल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुगेको कुमारी बैङ्कले जनाएको छ।

असार मसान्तसम्मको तथ्यांकअनुसार कुमारी बैङ्कको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार र एनसीसी बैङ्कको खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार गरी कुल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैङ्कले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको छ। चालू आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैङ्कहरूले थप एक वर्षको सहुलियत पाउनेछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.