विश्वासको मत

काँग्रेसको भूमिका प्रति एमाले सशङ्कित

काँग्रेसको भूमिका प्रति एमाले सशङ्कित

तस्बिर: थाहा खवर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावमा अत्यधिक बहुमत पाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा २६८ सांसदले प्रस्तावको पक्षमा मत दिए।

बैठकमा उपस्थित २७० मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै प्रस्तावको विपक्षमा मत दिए।

काँग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङसहित मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत बैठकमा अनुपस्थित रहे। हत्या आरोप लागेका एमालेका लक्ष्मी कोइरीले विश्वासको मत लिने प्रस्तावको पक्षमा मत दिएका छन्।

प्रधानमन्त्री नियुक्तिका लागि समर्थन नगरेका काँग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिए। विश्वासको मत दिए पनि काँग्रेस, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने बताएका छन्।

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति सुरु गर्दाको आवेग बिचमा केही अलमलिएको जस्तो भए पनि आज त्यही आवेग र अठोटका साथ रोष्टममा उभिएको बताएका थिए।

ओलीले देउवालाई ‘गुरु’ थापे, नेपालले दिए खरो जवाफ

प्रधानमन्त्री प्रचण्डलाई काँग्रेसले विश्वासको मत दिएपछि एमाले सशङ्कित भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिने काँग्रेसको निर्णयमा जालझेलको शङ्का गरे। ‘यो समर्थन जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने स्वागत योग्य छ,’ओलीले भने,‘जाल हो भने भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याके जस्तै हुनेछ जाल।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काँग्रेसले पनि विश्वासको मत दिनु विचित्र भएको बताए। प्रतिपक्षीले विश्वासको मत दिँदा एमाले तर्सिनुलाई केसीले डरलाग्दो दृश्य भनेका छन्।

‘सबै सरकारमा सामेल भएर विगतका गल्ती कमजोरी ढाक्ने,त्यही भित्र लडाई गरेर एउटालाई पन्छाउने अर्को फेरी सरकारमा आउने त होइन,यसरी देश चल्छ, सरकार चल्छ?’केसीले भने,‘अब यस खालको दृश्य जुन देखियो, यो डरलाग्दो विषय हो।’

तर, सरकारमा उपप्रधान तथा गृहमन्त्री सहित सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वासको मत दिए पनि काँग्रेस प्रतिपक्षी दल नै भएको बताए।

‘प्रतिपक्षमा रहे पनि अहिले सरकारलाई समर्थन गर्छौ भन्नु भएको कुरालाई शङ्काको दृष्टिले हेर्नुपर्छ भन्ने लाग्दैन,’उनले भने,‘तर आशङ्काहरू भने राजनीतिमा विभिन्न कोणबाट आउने गर्छन्, त्यसमा सचेत र सजग हुनु पर्ने राजनीतिक इतिहास भएकाले त्यो कुरा आएका होलान्। तर,यसलाई सहज र स्वाभाविक रूपमा लिनुपर्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading