एसईई परीक्षा : बालिकामाथि शिक्षकको कुकृत्य

एसईई परीक्षा : बालिकामाथि शिक्षकको कुकृत्य

काठमाडौं : देशभरका विद्यालयमा उज्ज्वल भविष्यको उत्कट अभिलाषा सहित विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। देशभरका ३२ हजार सामुदायिक र ६ हजार बोर्डिङ स्कुलमा अध्ययनरत चार लाख बढी विद्यार्थीले यो वर्ष एसईई परीक्षा दिँदै छन्।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई चैत दोस्रो हप्ता गर्ने जनाएको छ। तालिका अनुसार एसईई दिने विद्यार्थीले गत वर्षको रजिस्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री गरिसकेका छन्।

जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने तालिका छ। एसईई दिने विद्यार्थीको सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अङ्क र अयोग्य विवरण पठाइसक्नु पर्नेछ।

एसईईको परीक्षा सञ्चालन २०७९ चैत दोस्रो हप्तादेखि हुने तालिका छ। २०८० असार तेस्रो हप्ता नतिजा प्रकाशन गर्ने तालिका बनाएको बोर्डले पूरक परीक्षा सञ्चालन २०८० साउन अन्तिम हप्ता गर्नेछ।

परीक्षाको तयारीमा विद्यालयहरूले अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन्। नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेको काभ्रे भकुण्डेबेशीको एक बोर्डिङ स्कुलमा अध्ययन गर्ने १५ वर्षकी बालिका (बालिकाको नाम गोप्य राखिएको) माथि भने शिक्षक सन्तोष बोलखेले कुकृत्य गरेका छन्।

शिक्षक बोलखेविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ अनुसार हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी परेको र थुनामा राखेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

२०७८, २९ फागुनमा चितवनको माडी नगरपालिका–१ स्थित सोमेश्वर उच्च माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछानेको कक्षा ९ मा अध्ययनरत बालिकामाथि यौन दुर्व्यवहारविरुद्ध गरेको आरोपमा विद्यार्थीहरूले ४ चैतमा माडीस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिए। जाहेरी दर्ता भएपछि शिक्षक लामिछाने पक्राउ परे।

कक्षा ७ मा पढ्ने छात्रालाई दुर्व्यवहार गर्ने मोरङको लेटाङ नगरपालिका ५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अनियन्त्रित भएको भीडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको २०७८, ६ चैतमा मृत्यु भयो।

काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले कथित बोक्सीको आरोपमा दिसा खुवाउँदै २२ मङ्सिर ०७३ मा निर्घात कुटपिट गर्दा २४ मङ्सिरमा मृत्यु भयो। ०६६ मा १२ कक्षामा पढ्ने ख्याती श्रेष्ठलाई आफ्नै शिक्षक वीरेन प्रधानले बीभत्स हत्या गरे।

शिक्षकबाट बालिका असुरक्षित भएका यी प्रतिनिधि घटना मात्रै हुन्। असल शिक्षा दिएर विद्यार्थीको उज्ज्वल भविष्य बनाउने जिम्मा पाएका शिक्षक नै विद्यार्थीको भविष्य बरबाद पार्न उद्यत भएको देखिएको छ।

शिक्षा नियमावली, २०५९ को परिच्छेद २२ मा शिक्षकको भूमिका विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनुपर्ने, आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनुपर्ने लेखिएको छ।

कानुनी व्यवस्था

शिक्षकको नाजायज हर्कतका कारण विद्यालयमा बालिका असुरक्षित बनिरहेका छन्। त्यस्ता शिक्षकलाई जन्मकैदसम्म हुन सक्ने कानुनी व्यवस्था मुलुकी फौजदारी संहिता २०७४ ले गरेको छ।

फौजदारी संहिताले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जाति हत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा जबरजस्ती करणी गरी ज्यान मारेको अपराधमा जन्मकैदको सजाय हुने व्यवस्था गरेको छ।

थप सजाय हुने जघन्य वा गम्भीर कसुरमा सजाय पाएको व्यक्तिले अर्को कसूर गरेमा निजले पछिल्लो पटक गरेको कसुरमा हुने सजायको दोब्बरसम्म सजाय हुने फौजदारी संहितामा लेखिएको छ।

संहिताको दफा ४८ मा अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने व्यवस्था छ। ‘यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसुर भएको कारणबाट त्यस्तो कसुरबाट पीडित व्यक्ति वा निजमा आश्रित व्यक्तिलाई तत्काल उपचार गराउनु पर्ने भएमा वा क्षतिपूर्ति वा कुनै प्रकारको राहत रकम दिनु परेमा त्यस्तो व्यक्तिलाई औषधोपचार गराउन वा अन्तरिम रूपमा क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउन अदालतले आदेश दिने सक्नेछ’ लेखिएको छ।

दफा ४८ को उपदफा (४) मा उपदफा (३) बमोजिम अदालतले आदेश दिएकोमा त्यस्तो कसुरदारले क्षतिपूर्ति वा राहत बापतको रकम पीडित राहत कोषमा जम्मा गर्नुपर्नेछ र निजले सो अवधिमा त्यस्तो रकम जम्मा नगरेमा फैसला भएको साठी दिनभित्र त्यस्तो कसुरदारको जुनसुकै जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने व्यवस्था छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading