अन्तर्राष्ट्रिय ट्रान्सजेन्डर सौन्दर्य रानी : बुवा अँगालो हालेर रुनुभयो, आमा मान्नु भएन

अन्तर्राष्ट्रिय ट्रान्सजेन्डर सौन्दर्य रानी : बुवा अँगालो हालेर रुनुभयो, आमा मान्नु भएन

काठमाडौँ : के ट्रान्सजेन्डरहरू पनि सौन्दर्य प्रतियोगितामा भाग लिन सक्छन्? यो प्रश्नको जवाफ हुन् अन्तर्राष्ट्रिय ट्रान्सजेन्डर सौन्दर्य रानी नाज जोशी। उनी भारतीय नागरिक हुन्।

नाजले ७ अन्तर्राष्ट्रिय र २ राष्ट्रिय सौन्दर्य प्रतियोगिता जितेकी छन्। उनी मोडल, ट्रान्सजेन्डर फेसन आइकन हुन्। उनले फिल्ममा पनि अभिनय गरेकी छन्।

तर, नाजको यहाँसम्मको यात्रा रोमाञ्चक र सहज थिएन। जब उनी जन्मिइन्, आमाबुवाले घरमा छोरो भनेर उत्सव मनाए। उनका बाबुआमाको खुसी उनी हुर्किँर्दै गर्दा खस्किँदै गयो। कारण उनमा छोरीका गुण र छोरीकै आनीबानी थिए। उनको बानी र शरीर दुवै देखेर बाबुआमा दुखी हुन थाले।

उनको हुर्काइसँगै बढ्दै गयो गाली र अपमानको दायरा। आफूले छोरो ठानेको बच्चा अर्कै वास्तविकतामा हुर्किँदै गर्दा बाबुआमाले पनि अपमानसँगै गाली गर्थे। उनका बाबुआमालाई नाजको वास्तविकतासँग आत्मग्लानि थियो। कारण उनीहरूले नाजलाई सानैमा आफूबाट अलग गराए। मुम्बईमा नाताले काका पर्नेको घरमा लगेर राखिदिए।

त्यहाँ उनलाई काकाले दुर्व्यवहार गरे। त्यसपछि अस्पतालमा छाडियो। त्यहाँबाट उनीजस्तै केही मानिसले लिएर गए।

सुरुमा पैसा माग्ने काममा लगाए। त्यसपछि उनलाई डान्स बारमा नाच्ने काम दिइयो। बार डान्सरबाट बिस्तारै देहव्यापारमा आइन्। त्यसपछि फेसन डिजाइनको कोर्स गरेपछि रितु कुमार र रितु ब्यारीसँग काम गरिन्।

त्यसपछि उनले लिङ्ग परिवर्तन गर्ने सोच राखिन्। पैसाको समस्या भयो। यसका लागि उनले मसाज पार्लरमा काम गरिन्। यहाँ पनि देहव्यापार छाडिनन्। लामो सङ्घर्षपछि उनी शल्यक्रिया गरेर केटाबाट केटी बनिन्।

लिङ्ग परिवर्तनपछि सन् २०१२ यता उनले ७ अन्तर्राष्ट्रिय र २ राष्ट्रिय सौन्दर्य प्रतियोगिता जितिसकेकी छन्। अहिले उनी फेसन शोको शोस्टपर पनि हुन्।

नाज जोशीको कथा सफलताको हो। तर यो सफलताको यात्रामा उनले थुप्रै कुरा भोगेकी छन्। उनको जीवन कथा दैनिक भास्करले उनकै शब्दमा प्रकाशित गरेको छ। जसको सम्पादित अंश यस्तो छ ः

मेरो जन्म ३१ डिसेम्बर १९८४ मा दिल्लीमा भएको थियो। म जन्मिएँ, त्यसपछि डाक्टरले मेरो आमाबुवालाई तिम्रो छोरा भयो भने। म घरको पहिलो सन्तान भएकोले यो खबरले सबै खुसी भए। तर मभित्र एउटी केटीको मन थियो। जसलाई मैले लामो समय चिनाउन सकिनँ।

केटीको बानीले आमाले पनि गिज्याइन्


म दिल्लीको सेन्ट जोसेफ एकेडेमी स्कुलमा भर्ना भएँ। स्कुलमा केटीहरूसँग मात्रै खेल्थेँ। स्कुलको समारोहमा पनि केटीको रूपमा पहिरन गर्थे। धेरै पटक मेरी आमा मेरो लागि स्कुलमा खाना लिएर आउनु हुन्थ्यो। त्यहाँ अरू बच्चाका आमाबुवाले मेरी आमालाई तिम्रो छोरो अलि फरक छ भन्थे। यो केटीहरू जस्तै छ भन्थे।

बिस्तारै घरमा पनि स्कुलबाट गिज्याउन थालियो। घर वरपरका छिमेकीले आमालाई भन्नुहुन्थ्यो, ‘तिम्रो छोरो केटीहरूमाझ बस्छ, उनीहरूसँग मात्रै खेल्छ। तिमीले हामीलाई झुट बोलेको होइन र? के तपाईँले नपुंसकहरू जन्माउनु भएको छैन? तिमी उसलाई नपुंसक समाजबाट बचाउन चाहन्छौ, त्यसैले हामीसँग झुट बोल्दै छौ।’

मेरी आमा मुस्लिम परिवारकी हुनुहुन्थ्यो। म जन्मनुअघि मेरी आमाले शिक्षण गर्नुहुन्थ्यो। उहाँले मेरो लालनपालनका लागि शिक्षण पेसा छोड्नु भयो। तर वरपरका मानिसको प्रश्न र खिस्सीका कारण मलाई मुम्बईस्थित काका नाता पर्नेको घरमा लगियो। परिवारबाट छुट्टिनु पर्‍यो। ती काका पर्ने मानिसलाई मेरो हेरचाहका लागि आमाले ५० हजार रुपैयाँ दिनु भएको थियो। यो सन् १९९१ को कुरा हो।

मुम्बई आउँदा म सात वर्षको थिएँ। यहाँ मलाई निक्कै असहज लाग्थ्यो। मेरा काकाको घर निक्कै सानो थियो। उनीहरू चरम गरिबीमा बाँचिरहेका थिए। उहाँका ८ छोराछोरी थिए। सबै काममा बाहिर जान्थे। मलाई घरको काम लगाउँथे।

मैले काकालाई थुप्रै पटक स्कुल लगिदिन भनेँ। उहाँले पैसा छैन भनेर इन्कार गर्नुभयो। तर मेरो पढाइका लागि मेरी आमाले उहाँलाई पैसा दिनु भएको थियो। काकाले स्कुल जाने भए बाहिर काम गर्नु पर्छ भने। मैले सहमति जनाएँ। काकाले फिल्मसिटीको सानो ढाबामा काम गर्न लगाए। ढाबा मालिक राम्रो थियो। उसले मलाई सानो बच्चा सम्झेर धेरै काम गर्न दिएन। ढाबामा काम गरेबापत मासिक २ सय ५० रुपैयाँ पाउँथे। त्यो पैसाले मैले सेन्ट जोसेफ, वडाला स्कुलमा भर्ना गरेँ। ढाबामा काम गर्दै गृहकार्य पनि भ्याउँथेँ।

म सानैदेखि केटी जस्तो देखिन्थे। केटाहरू मप्रति आकर्षित हुन थाले। उनीहरूले मलाई अनुचित रूपमा छुन खोजे। फिल्मसिटीमा यो सब भइरहन्थ्यो। सुटिङ हेर्न आउनेले भीडको फाइदा उठाएर यस्तो गर्थे। म बेवास्ता गर्थेँ। मलाई गाउँभन्दा मुम्बईमा बस्न गाह्रो भइरहेको थियो। यहाँ मानिसहरूले मलाई नपुंसक, छक्का भनेर जिस्काउने गर्थे। यहाँको एउटै राम्रो कुरा यो थियो, फिल्मसिटीमा कलाकारहरूसँग भेट्ने मौका। मैले श्रीदेवी, माधुरी दीक्षित, रविना टण्डन र सलमान खान आदिलाई भेटेको छु।

त्यसबेला म ११ वर्षको थिएँ। स्कुलबाट घरमा आउँदा कोही थिएनन्। घरमा डिस्को बत्ती बलिरहेका थिए। भित्र केही मानिस भाइसँग मदिरा पिइरहेका रहेछन्। मलाई केही खानेकुरा बनाउन भनियो। केही खानेकुरा बनाएर दिएँ, अनि सुत्न गएँ। उनीहरूले आफूसँगै बसेर मदिरा पिउन भने।

उनीहरूले रक्सीले पुरुष बनाउँछ भने। मैले मानिन। मलाई जर्बजस्ती पेप्सी खान दिए। त्यो खाएपछि चक्कर आयो। म बेहोस भएँ। भोलिपल्ट ब्युँझँदा सरकारी अस्पतालको बेडमा थिएँ। अस्पतालमा मलाई भेट्न आमा आउनु भएको थियो। उहाँले केही दिनमा लिन आउँछु भनेर जानु भयो।

तर अस्पतालले डिस्चार्ज गर्दा आउनु भएन। म अस्पतालबाहिर एक्लै बसिरहेको थिएँ। त्यहाँबाट मेरै समुदायका केही मानिसले मलाई उठाएर लगे। मेरा काकाले उनीहरूलाई जिम्मा लगाएर गएका रहेछन्। सुरुमा म उनीहरूसँग डराएँ। पछि मैले उनीहरूसँगै मिलेर थुप्रै सङ्घर्ष गरेँ। ताली बजाएर पैसा माग्न लगाइयो। तर स्कुल जान पाइनँ।

एक दिन चर्को स्वरमा रुँदै भनेँ, ‘म यहाँ बस्न चाहन्न।’ जब म रुन्थे मानिसहरू मलाई हेर्न भेला हुन्थे। अनि मलाई कुटिन्थ्यो। तर मेरो रुवाइले त्यहाँकी गुरुआमा आजित हुनुहुन्थ्यो। त्यहीँबाट डान्सबारको यात्रा सुरु भयो। सन् १९९६ मा १३ वर्षको उमेरमा डान्सबारमा पुगेँ। त्यहाँ एक जना काका भेटिए, जो दक्षिण भारतीय थिए। मैले उनलाई पढ्ने चाहाना सुनाएँ। उनले मेरो स्कुलमा गए आफू अभिभावक बनिदिने बताए। मेरो शुल्क तिरिदिए। आफ्नो घरमा बस्न दिए। मैले पढ्न पाएँ।

प्रेमीले धोका दिए

१४ वर्षको उमेरमा केटाको प्रेममा गरेँ। उसले मेरो फाइदा उठायो, मलाई शारीरिक दुर्व्यवहार गर्‍यो र फेरि कहिल्यै फर्केर आएन। त्यो बेला म धेरै रोएँ। म धेरै जवान थिएँ। मानिसहरूले मलाई देहव्यापारका लागि उक्साए। डान्सबारमा नाच्नुभन्दा यो काम मलाई पनि सजिलो लाग्यो। म यही दलदलमा फसेँ। म डान्सबारमा निकै लोकप्रिय भएँ। हिरोइन जस्तै जीवन बिताएँ, त्यसैले मलाई बलिउड क्वीन अफ बार भनियो।

म १८ वर्षकी थिएँ। मुम्बईमा डान्सबार बन्द भएको खबर आयो। यसै क्रममा मैले एउटी बहिनीलाई भेटेँ, जसले मलाई बाबा भेट्न लगिन्। उनले मलाई दिल्ली लगेर नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (निफ्ट) मा भर्ना गरिदिए। मैले निफ्ट परीक्षामा टप गरेँ।

यही समय मैले दिल्लीको एलजीबीटी समुदायलाई भेटेँ। मैले सन् २००५ सम्म यहाँ पढेँ। सन् २००५ मै मैले उत्कृष्ट डिजाइनरको अवार्ड र १० हजार रुपैयाँ पुरस्कार पाएँ। मैले रितु कुमारसँग क्याम्पस प्लेसमेन्ट पाएँ। यस्तो महान् डिजाइनरसँग काम गर्ने कल्पनासमेत गरेको थिइनँ। तर काम गर्न पाए। त्यतिबेला रितु कुमार फेमिना मिस इन्डियाका लागि काम गरिरहेकी थिइन्। उनीसँग सन् २००५ देखि २००७ सम्म काम गरेँ। हाम्रो पहिलो तलब २५ हजार रुपैयाँ थियो। त्यो बेला मैले पहिलो पटक भाडामा घर लिएँ।

तर यहाँ पनि मानिसहरूले हेर्ने दृष्टिकोण राम्रो थिएन। सन् २००७ मा रितु त्यहाँबाट हिँडिन्। म हताश भएँ। एक दिन दिल्लीमा भएको समलिङ्गी पार्टीमा सहभागी भएँ। त्यहाँ एक निक्कै सुन्दर महिला देखेँ। उनीसँग मैले कुरा गरेँ। उनले भनिन्, ‘एक दिन म पनि तिमीजस्तै थिएँ, तर पछि मेरो लिङ्ग परिवर्तन भयो।’ उनले आफ्नो फोन नम्बर दिइन्।

मैले पनि आफ्नो लिङ्ग परिवर्तन गर्ने सोच बनाएँ। त्यसका लागि पैसा जम्मा गर्नु पर्थ्यो। एक दिन पत्रिकामा मसाज पार्लरमा काम गर्ने मान्छे चाहिएको विज्ञापन देखेँ। त्यसबेला म बेरोजगार थिएँ। सन् २०११ म आईएमटी गाजियाबादमा काम गर्न गएँ। त्यहाँ म मसाजका लागि गएको थिए। तर देहव्यापार गर्न लगाइयो। मैले गरेँ। यहाँ मैले राम्रो पैसा कमाएँ।

यहाँ मैले २०१३ सम्म काम गरेँ। पैसा त कमाएँ तर यहाँको जीवन कति कष्टकर थियो भन्ने कुरा म शब्दमा व्यक्त गर्न सक्दिनँ। कसैले मेरो अनुहारमा रक्सी हालिदिन्थे। कतिले चुरोटले जलाइदिन्थे। कति सिकारीले जनावर झम्टिएझैँ झम्टिन्थे। तर मलाई पैसा कमाउनु थियो काम गरेँ।

सन् २०११ मा एक फोटोग्राफरसँग भेट भयो। उनी ‘ट्रान्सजेन्डर यौनकर्मी’माथि बायोपिक बनाउन चाहन्थे। उनले प्रत्येक सुटिङका लागि १५ सय रुपैयाँ दिने बताए। २०१२ मा सुटिङ सुरु भयो। २०१३ सम्म सुटिङ गरेँ। यसरी २०१३ सम्म पाँच लाख रुपैयाँ सङ्कलन गरे।

सन् २०११ देखि नै मेरो हर्मोन थेरापी सुरु भएको थियो। जब शल्यक्रियाको समय आयो, डाक्टरले आफन्त खोजे। डाक्टरले शल्यक्रियाका क्रममा मेरो मृत्यु भए जिम्मा लिने मानिस चाहिने भनेका थिए। तर, मेरो कोही थिएन। यो बेला शनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी भर्ना हुन सहयोग गर्ने बहिनीले साथ दिइन्। उनले अस्पतालमा मेरो धेरै हेरचाह गरिन्। म सन्चो भएपछि उनी गुडगाउँस्थित घर फर्किन्। मलाई उनले नयाँ जीवन दिए जस्तो लाग्छ।

ट्रान्सजेन्डर रानीको कथा


एक दिन मलाई राजस्थान डिजाइनर फेसन फेस्टिभलबाट फोन आयो। उनले त्यहाँ राजस्थान डिजाइनर फेसन फेस्टिभल भइरहेको बताए। र्‍याम्प मोडलिङमा जान भने। त्यहाँ अग्ली केटी चाहिएको बताए। म गएँ। त्यहाँ अभिनेत्री तथा मोडल अदिति गोवित्रीकरसँग र्‍याम्प वाकमा भाग लिएँ। यो मेरो पहिलो अनुभव थियो। मानिसहरूले मलाई मन पराए।

यो सन् २०१३ को कुरा हो। त्यतिबेला मेरो फोटो निक्कै भाइरल भयो। त्यसपछि मैले थुप्रै काम पाएँ। मैले थुप्रै कम्पनी र घटनाका लागि क्याटलगहरू खिचेँ। यसबाट राम्रो पैसा कमाएँ। म भारतको पहिलो ट्रान्सजेन्डर मोडल बनेँ। मलाई ट्रान्सजेन्डर रानी भनेर सम्बोधन गरिन्छ। म चाहन्छु हाम्रो समुदायको अर्को पुस्ताले ममाथिको जस्तो भेदभाव सहनु नपरोस्।

सन् २०१४ मा धेरै साना केटाकेटीहरू मकहाँ सिक्न आउन थाले। मैले घरको सानो कोठामा फोटोसुट र सहकार्य गर्ने तरिका सिकाउन थालेँ। तीमध्ये केही बच्चाहरूले राम्रो ब्रेक पनि पाए। केही ठुलो काम गर्नुपर्छ भन्ने लाग्यो। सन् २०१५ मा मलाई एउटा पत्रिकाबाट अफर आयो।

उनीहरूले भने, तपाईँलाई कभरमा देखाउन चाहन्छौँ। सीएनएन आईबीएनबाट दोस्रो कल आयो। उताबाट भने, ‘हामी तपाईँमाथि डकुमेन्ट्री बनाउन चाहन्छौँ। मैले भने, ‘ठिक छ।’ सन् २०१५ मा जब मेरो फोटो म्यागेजिनको कभरमा देखा पर्‍यो। त्यो मेरो पहिलो फ्रेम थियो। वृत्तचित्र पनि हिट भयो। निर्माताहरुले शनिवार र आइतबार गरी पाँच पटक चलाए।

बुवा अँगालो हालेर रुनुभयो, आमा मान्नु भएन

बुवाले मेरो डकुमेन्ट्री हेर्नुभयो। त्यसपछि च्यानलबाट मेरो नम्बर लिएर फोन गर्नुभयो। घर आउनु भन्नुभयो। घर छोड्दा म केटा थिएँ, तर फर्किदा केटी थिएँ। निकै डर लाग्यो। मैले कपाल बाँधेर टोपी लगाएँ। टी–सर्ट र जिन्स लगाएँ। घर पुग्दा बुवा ग्यालरीमा बसिरहनुभएको थियो। उहाँले मलाई अँगालो हाल्नुभयो। धेरैबेर रुनुभयो। तर आमाले मलाई स्वीकार गर्नुभएन।

धेरै उपाधि जितेँ, नाम कतै छापिएन


सन् २०१५ मा मैले ट्रान्सजेन्डर केटीहरूलाई प्रस्तुत गर्ने कार्यक्रम सुरु गरेँ। त्यतिबेला असम, ओडिशासहित टाढाका सहरबाट केटीहरूलाई ल्याएर अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, मिस युनिभर्स प्रतियोगितामा पठाउने गर्थे। सन् २०१६ मा अमेरिकामा मिस युनिभर्स हुन लागेको थियो। त्यसका लागि मेरो सहायकले मेरो फोटो पठायो।

त्यहाँ गएपछि मलाई थाहा भयो, ट्रान्सफरको अनुमति छैन। मैले भनेँ, हेर म यति टाढा आइपुगेँ, यसै फर्किएर जानु छैन। मलाई एक मौका दिनु। उनले भने, ‘हामी कसरी मौका दिन सक्छौँ।’ त्यहाँ मैले भनेँ, ‘यदि तपाईँ ट्रान्सजेन्डर हुनुहुन्छ। तपाईँले शल्यक्रिया गर्नुभएको छ र मानिसहरूले तपाईँ महिला हुनुहुन्छ भनी सोच्नुहुन्छ, त्यसपछि तपाईँ भाग लिन सक्नुहुन्छ।’

त्यही आधारमा मलाई कार्यक्रममा सहभागी हुन अनुमति दिइएको थियो। त्यतिबेला मैले उपाधि जित्न सकिनँ। तर मिस रिपब्लिक नेशन्सको राजदूत भएँ। त्यतिबेला खुसी थिएँ। भारत फर्किएँ तर कुनै पनि सञ्चारमाध्यमले यो खबर कभर गरेनन्।

सन् २०१७ मा सिंगापुर गएकी थिएँ। त्यहाँ पनि हामीले उपाधि जित्न सकेनौँ, तर मिस रिपब्लिक इन्टरनेशनल ब्युटी एम्बेस्डर भइनँ। मेरा सबै अन्तर्राष्ट्रिय शोहरू महिलालाई लिएर गरेकी छु। सन् २०१७ मा मिस वर्ल्ड डाइभर्सिटीको उपाधि जितेकी थिएँ। यो प्रतियोगिता दक्षिण अफ्रिकामा भएको थियो। मानुषी छिल्लरले मिस वर्ल्डको उपाधि जितेको एक साताअघि मैले उपाधि जितेकी थिएँ। यो खबर पनि कसैले कभर गरेनन्।

सन् २०१८ मा दुबईमा यो प्रतियोगिता आयोजना गर्दा फेरि ‘मिस वर्ल्ड डाइभर्सिटी’ जितेकी थिए। त्यो बेला केही सञ्चारमाध्यमले खबर बनाए। सन् २०१९ मा मैले तेस्रो पटक ह्याट्रिक गरेपछि धेरैले कभर गरेका थिए। किनभने त्यतिबेला म महिलालाई हराएर एउटै उपाधि तीन पटक जित्ने पहिलो अन्तर्राष्ट्रिय ट्रान्स ब्युटी क्वीन बनेकी थिएँ।

त्यो समय मैले निक्कै ख्याति कमाएँ। मेरो नाम अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो। तर म यहीँ रोकिनेवाला थिइनँ। सन् २०२० मा कोरोनाका कारण मेरो यात्रा रोकियो। सन् २०२१ मा ‘मिस इम्प्रेस अर्थ’ बन्न सफल भएँ। मिस युनिभर्स २०२२ मा डाइभर्सिटीका लागि दुबई पुगेँ। त्यहाँ पनि जित हासिल गरे।

सन् २०२२ मा मिस ट्रान्स ग्लोबल इन्डियाको उपाधि जितेँ। मैले ७ अन्तर्राष्ट्रिय प्रतियोगिता र एउटा मिस ट्रान्स क्वीन मिस इन्डियाको उपाधि जितेकी छु। त्यसपछि मलाई समाजका लागि केही काम गर्ने भन्ने हुटहुटी बढेर गयो। अहिले समाजका लागि काम गर्दै छु।

बिहे, सम्बन्ध विच्छेद अनि दुई धर्मपुत्र

मैले पनि २०१७ मा विवाह गरेको थिएँ। तर मेरो वैवाहिक जीवन लामो समय टिकेन। सन् २०१९ मा सम्बन्ध विच्छेद गरेँ।

त्योभन्दा अघि सन् २०१८ मा चार वर्षकी छोरी मणिकर्णिकालाई धर्मपुत्रीका रूपमा स्वीकार गरेँ। उनीसँग मेरो सम्बन्ध निक्कै राम्रो छ। भर्खरै मैले सिद्धान्त नामका एक छोरालाई धर्मपुत्रका रूपमा ग्रहण गरेकी छु।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading