निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सत्ता गठबन्धन विघटनको डिलमा

सत्ता गठबन्धन विघटनको डिलमा

542
SHARES

काठमाडौं : नयाँ सरकार बनेको एक महिनामै सत्ता गठबन्धन विघटनको डिलमा पुगेको छ। राष्ट्रपति चयन र गृह मन्त्रालयको विवादले गठबन्धन विघटनको डिलमा पुगेको हो।

सत्ता साझेदार दल नेकपा एमालेले एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएको छ भने नेकपा माओवादी केन्द्रले राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउन अग्रसर हुने बताएको छ।

एमालेले नागरिकता विवादमा पद मुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरसांसदको रूपमा मन्त्री बनाउन दबाब दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह आफैसँग राख्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले गृह मन्त्रालयमा फर्कन हतार गरेका लामिछानेलाई धैर्य गर्न आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता महराले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्ने बताएका हुन्। ‘किन भने उसको मुद्दामा अझै पूर्ण पाठ आएको छैन,’उनले भने,‘मन्त्रिपरिषद्मा के गर्ने भन्ने निर्णय गर्न बाँकी छ।’

माओवादी केन्द्रले सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृहमा लामिछानेलाई पद बहाली गर्न नसकिने अडान लिए पनि एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको मन्त्रालय दिन पूर्ण पाठ कुर्न नपर्ने बताएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी निर्णय गर्दा सत्ता समीकरणमा नै अप्ठ्यारो पर्न सक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीलाई ओली र रविको चेतावनी : गृह नदिए अप्ठ्यारो पैदा हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने रवि लामिछानेको विवादका कारण वर्तमान सत्ता समीकरण नफेरिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रचण्डले सत्ता समीकरण फेरिन लागेको हो? भन्ने पत्रकारको प्रश्नमा त्यस्तो नहुने जवाफ दिए।

सत्ता गठबन्धनमा राष्ट्रपति चयनका विषयमा पनि घोचपेच भइरहेको छ। पुस १० मा भएको सहमति अनुसार सभामुख पाइसकेको एमालेले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई सत्ता गठबन्धनको समर्थन रहने दाबी गरेको छ।

नेपाली काँग्रेसले राष्ट्रपतिको साझा उम्मेदवारको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव कुरिरहेको बताएको छ। काँग्रेस संसदीय दलका सचेतक रमेश लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले काँग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताए।

उनले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा काँग्रेसले थप निर्णय गर्ने समेत बताए। ‘प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि बोलाउनु भयो भने हामी छलफल गर्न तयार छौँ,’लेखकले भने,‘हामी आफू पनि राष्ट्रपति निर्वाचनका लागि तयारी गरिरहेका छौँ।’

उपाध्यक्षमा उम्मेदवारी दिने

नेपाली काँग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उम्मेदवारीबारे अन्य दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको उनले बताए। राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदै छ। त्यसका लागि माघ २२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो।

समाचार शेयर गर्नुहोस्
542
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.