गृह नदिने अडानबाट ‘ब्याक’ हुने प्रधानमन्त्रीको सङ्केत

गृह नदिने अडानबाट ‘ब्याक’ हुने प्रधानमन्त्रीको सङ्केत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिने सङ्केत गरेका छन्। पुस १० को सहमति अनुसार आफ्नो भागमा परेको गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको स्वतन्त्र पार्टीबाटै गृहमन्त्री बनाउने सङ्केत प्रधानमन्त्री प्रचण्डले गरेका हुन्।

दुई दिन अघिसम्म रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्री आफैसँग राख्ने अडान लिएका प्रचण्डको बोली फेरिएको छ।

सत्तारुढ दलको घेराबन्दीमा परेपछि प्रधानमन्त्री प्रचण्ड अडानबाट ब्याक हुन लागेका हुन्। पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधान हुने बताए। ‘अहिले मेरो कुरा हुँदै छ,’उनले भने,‘समस्या समाधान हुन्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मात्रै स्वतन्त्र पार्टीलाई गृह दिन सर्वोच्च अदालतको पूर्ण पाठ कुर्नु नपर्ने बताएका थिए। ओलीले शनिवार बिहान मात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह आफैसँग नराखी स्वतन्त्र पार्टीलाई फिर्ता गर्न भनेका छन्।

गृह नदिए अप्ठ्यारो पैदा हुन्छ

शनिवारसम्मको अल्टिमेटम दिएको स्वतन्त्र पार्टीले भने प्रधानमन्त्रीलाई आइतबारसम्म पर्खिने जनाएको छ। सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले अहिलेसम्म कुनै प्रगतिको खबर नआएको र आइतबार दिउँसो थप निर्णय गरिने बताए।

राष्ट्रपतिमा सहमतिको रटान

राष्ट्रपतिको निर्वाचन अघि सत्ता समीकरण भत्किने सम्भावना बढेको छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति नभए नयाँ समीकरण बन्न सक्ने सङ्केत गरेको हो।

नेता देवेन्द्र पौडेलले काँग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले सबै दललाई मिलाएर लैजानेमा माओवादीको जोड रहेको जानकारी दिए। शनिवार बसेको स्थायी कमिटी बैठकपछि उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहमति नभए बाँकी रहेका राज्यका जिम्मेवारीहरूमा बिचार मिल्ने दलसँग सहकार्य गर्ने बताए।

विवादै विवादमा निर्वाचन आयोग, संसद्ले पाएन बिजनेस

निर्वाचन आयोगले निर्वाचन कानुनको अपव्याख्या गरेर राष्ट्रपतिको कार्यकाल सकिनु ४ दिन अगाडि फागुन २५ गते राष्ट्रपति चयनका लागि मतदान हुने मिति तोकेको छ।

चुनाव आउन एक महिना बाँकी रहँदा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेस राष्ट्रपति पाउन समीकरण नै बदल्ने रणनीतिमा लागेको छ। त्यही रणनीतिसँग मेल खाने प्रधानमन्त्रीको अभिव्यक्तिलाई काँग्रेसले सत्ता गठबन्धनभित्रको विवादको रूपमा हेरेको छ।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ दलमा विवाद देखिएको बताए। ‘अहिले सरकारमै रहेका दलहरूका बिचमा सैद्धान्तिक, वैचारिक विषयमा पनि व्यापक विवाद उत्पन्न भएको छ,’लेखकले भने,‘सङ्घीय संसद्मा पनि त्यो विषय उठेको छ,यो सबै कुरालाई हामीले सूक्ष्म ढङ्गले हेरिरहेका छौ।’

एमालेसँगको सहकार्यमा सरकार बनाएका प्रचण्डलाई सत्ता लिप्साको आरोप लगाएको नेकपा एकीकृत समाजवादीले पनि सत्ता गठबन्धनमा खटपट सुरु भएको बताएको छ।

अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको आयु राष्ट्रपतिको निर्वाचनसम्म मात्रै रहेको भविष्यवाणी नै सुनाएका छन्।

‘कहिलेसम्म प्रचण्डलाई थेग्ने हो थाहा छैन, राष्ट्रपतिको चुनावसम्म थेग्ने स्थिति बन्ला,’नेपालले भने,‘तर त्यो भन्दा पहिला नै हामी देखिरहेका छौ,खटपट सुरु भइसक्या छ,यो तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो, यसै भन्न सकिने अवस्था छैन।’

बालुवाटारले नपत्याएका रविलाई बालकोटको भर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading