शीतल निवास

राष्ट्रपतिको मासिक तलब मात्रै डेढ लाख, भोजमा उठेन लाठीचार्जको कुरा

राष्ट्रपतिको मासिक तलब मात्रै डेढ लाख, भोजमा उठेन लाठीचार्जको कुरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई शीतल निवासमा भोज खुवाएकी छन्। सांस्कृतिक कार्यक्रमसहित सांसदहरूलाई राष्ट्रपति भण्डारीले भोज खुवाएकी हुन्।

शीतल निवासमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत दलका नेताहरूले सशस्त्र प्रहरी बलका कलाकारहरूको नृत्य अवलोकन गरेका छन्।

कार्यकाल सकिने दिन नजिकिँदै जाँदा राष्ट्रपति भण्डारीले शुक्रवार सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गरेकी थिइन। सम्बोधन सकेर शीतल निवास फर्कने क्रममा प्रहरीको लाठी प्रहारबाट चिकित्सक घाइते भएपछि राष्ट्रपति भण्डारीको चौतर्फी विरोध भइरहेको छ।

तर, शीतल निवासको भोजमा लाठी प्रहारबारे कुराकानी नभएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले जानकारी दिए। ‘अरू कुराकानी केही भएनन्,सामान्य कार्यक्रम थियो,’केसीले भने,‘भोज खाएर फर्कियो, अरू कुराकानी भएन।’

चौतर्फी विरोध

राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथि प्रहरीले कुटपिट गरेको विरोधमा चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरेको छ।

सङ्घले कुटपिट गर्ने प्रहरीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ अनुसार कारबाही गर्न माग गरेको छ। नेपाल प्रहरीले भने डा सिंहमाथि लाठी हान्ने वरिष्ठ हवलदार शम्भु गुरुङलाई निलम्बन गरेको जनाएको छ।

राष्ट्रपति भण्डारीकाे अन्तिम लाठीचार्ज

प्रहरीले चिकित्सकमाथि गरेको कुटपिटको विरोधमा शनिवार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘भिभिआइपी चाहिँदैन, जनता कुट्न पाइँदैन’लगायतका नारासहितका प्लेकार्ड बोकेर विरोध गरिएको हो।

प्रमुख दलका नेताहरूले पनि चिकित्सक माथिको आक्रमणलाई लिएर राष्ट्रपतिको आलोचना गरेका छन्। काँग्रेस महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनका नाममा सडक खाली गराएर नागरिकलाई दुःख दिने काम बन्द गर्नुपर्ने बताएका छन्।

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रहरीबाट कुटिएका डाक्टरसँग राष्ट्रपति भण्डारीले नै माफी माग्नुपर्ने बताएका छन्।

सरकारका पूर्वसचिव शान्तराज सुवेदीले अति विशिष्ट व्यक्तिको सवारी सर्वसाधारणलाई असर नपर्ने गरी गराउन सवारी मापदण्डमा सुरक्षा निकायले सम्झौता गर्न नचाहने उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा उनले यसलाई व्यवस्थित गराउन स्वयम् अति विशिष्ट व्यक्तिले नै पहल गर्नुपर्ने लेखेका छन्।

तलब डेढ लाख

राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० रुपैयाँ छ। उपराष्ट्रपति नन्दबहादुर पुनको १ लाख ८ हजार ३० रुपैयाँ छ। पोसाक सुविधा राष्ट्रपतिलाई वर्षको २५ हजार र उपराष्ट्रपतिलाई २० हजार रुपैयाँ दिने व्यवस्था राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा गरिएको छ।

राष्ट्रपतिले स्वदेशमा भ्रमण गर्दा ३ हजार ३ सय रुपैयाँ र विदेशमा भ्रमण गर्दा २५० अमेरिकी डलर दैनिक भत्ता पाउने व्यवस्था ऐनमा गरिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको बिमा रकम २५ लाख रुपैयाँ रहेको छ।

पूर्वराष्ट्रपति लगायत पूर्व पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगी समेत राज्यले उपलब्ध गराइरहेको छ।

पूर्वपदाधिकारी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष बुझिन्छ।

मासिक लाखौँ रुपैयाँ बुझ्दै आएका वर्तमान र पूर्व पदाधिकारी राज्यका लागि सेतो हात्ती बनिरहेका छन्। पूर्वपदाधिकारीहरूलाई राज्यले गर्ने खर्च भने बालुवामा पानी हाले सरह बनिरहेको छ।

७ वर्षको कार्यकाल सकेर अबको एक महिना पछि बिदा हुने राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पनले पूर्वराष्ट्रपति र पूर्वउपपराष्ट्रपतिले पाउने सेवा सुविधा लिँदा राज्यको खर्च थप बढ्नेछ।

नेपालमा अब दुई पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति बन्दा दलहरू तेस्रो राष्ट्रपतिको खोजीमा जुटेका छन्। आगामी राष्ट्रपतिको उम्मेदवार सार्वजनिक रूपमा प्रस्ताव नगरेर दलहरूले आफ्नो पार्टीको उम्मेदवार चुनाव अघि नै सार्वजनिक गर्नुपर्नेमा वाक युद्ध मात्रै गरिरहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading