दरबार हाइस्कूलमा अनसनरत न्यौपानेमाथि लछारपछार, अस्पताल भर्ना

दरबार हाइस्कूलमा अनसनरत न्यौपानेमाथि लछारपछार, अस्पताल भर्ना

काठमाडौं : नेपालको पहिलो विद्यालय दरबार हाइस्कूलमा अनसन बसेका प्रकाश न्यौपानेलाई वीर अस्पतालको आकस्मिक कक्षमा लगिएको छ। नगर प्रहरीले बलजफती उठाउँदा मुटुको धड्कन बढेकाले उपचारका लागि आफूलाई दरबारमार्ग प्रहरीले अस्पतालमा ल्याएको न्यौपानेले बताए।

सार्वजनिक विद्यालय सुधार अभियानको ब्यानरमा अनसन बसेका न्यौपानेलाई महानगर प्रहरीले लछारपछार पारेर अनसन स्थलबाट उठाएर दरबारमार्ग प्रहरीमा पुर्‍याएको थियो। ‘महानगर प्रहरीले मुटु रोगी भएको बताउँदा पनि लछारपछार पारेर बलजफती उठाएर दरबारमार्ग प्रहरीमा लग्यो,’न्यौपानेले पहिचानसँग भने,‘मुटुको धड्कन बढेको भनेर मलाई अहिले वीर अस्पतालको आकस्मिक कक्षमा ल्याएर राखिएको छ।’

उनले अस्पतालको आकस्मिक कक्षमै आफू अनसन बसेको बताए। उनले भने ‘जहाँ लगे पनि मेरो आमरण अनसन निरन्तर छ।’ गोर्खाका न्यौपानेले अनसन अघि शिक्षा मन्त्रीलाई सम्बोधन गर्दै आफ्ना माग सार्वजनिक गरेका थिए।

सार्वजनिक शिक्षा सुधारका १६ बुँदे माग सहित माघ २९ गतेबाट दरबार हाईस्कुलमा आमरण अनसन बसेका न्यौपाने मङ्गलवार बिहान महानगर प्रहरीको लछारपछारमा परेका हुन्।

निजी शैक्षिक संस्थामा आम नागरिकका बालबालिका पढ्न नसक्ने तर सार्वजनिक शैक्षिक संस्थाहरू दिन प्रतिदिन खस्कँदा आम नागरिकमा निराशा बढ्दै गइरहेको निष्कर्ष सहित उनले आमरण अनसन सुरु गरेको बताएका छन्।

गुणस्तरीय शिक्षा राजनीतिक दलका नारा मात्र भएको उनले बताए। शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले सार्वजनिक विद्यालय अभिभावक तथा बालबालिकाको पहिलो रोजाइको हुन नसकेको उनको निष्कर्ष छ।

न्यौपाने सार्वजनिक विद्यालय सुधार अभियानका संयोजक समेत हुन्। उनको पहिलो माग सार्वजनिक विद्यालयलाई सबै प्रकारका राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने भनेका छन्। साथै कुनै पनि शिक्षकले कुनै पनि राजनीतिक दलको भातृ संस्थाको सदस्य बन्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ।

विद्यालयको प्राज्ञिक नेतृत्वका रूपमा प्रधानाध्यापकलाई छुट्टै पदका रूपमा विकास गर्नुपर्ने, सम्पूर्ण प्राज्ञिक व्यवस्थापनको स्वायत्तता प्रधानाध्यापकलाई दिइनु पर्ने र शिक्षक सेवा आयोगले कम्तीमा पाँच वर्ष शिक्षण अनुभव भएका शिक्षकहरू मध्येबाट नेतृत्व परीक्षणको परीक्षा लिई प्रधानाध्यापकमा सिफारिस हुने व्यवस्था गर्नुपर्ने माग न्यौपानेले राखेका छन्।


मेधावी र क्षमतावान् व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्ने, विश्वविद्यालय शिक्षामा उच्च स्थान हासिल गरेका व्यक्तिलाई सोझै शिक्षण पेसामा प्रवेश गर्न सक्ने अवसर प्रदान गर्नुपर्ने उनको अर्को माग छ।

आधारभूत तहको शिक्षकको न्यूनतम योग्यता स्नातक तह र माध्यमिक तहको शिक्षकको लागि स्नातकोत्तर पास गरेको दक्ष शिक्षकको आपूर्ति हुनुपर्ने, निजी तथा सार्वजनिक विद्यालयको पाठ्यक्रममा एकरूपता, पोसाकमा एकरूपता, पढाउने माध्यममा एकरूपता ल्याई सबै विद्यालयहरूलाई एउटै ढाँचामा ल्याउनु पर्ने माग उनले राखेका छन्।

सङ्घीय सरकारले मुख्य पाठ्यक्रम निर्माण गर्ने, स्थानीय सरकारले ऐच्छिक र स्थानीय पाठ्यक्रम निर्माण गर्ने, महिनामा एक हप्ता निजीका शिक्षकहरूले सार्वजनिक विद्यालयमा र सार्वजनिकका शिक्षकहरूले निजी विद्यालयमा गएर पढाउनु पर्ने व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने उनले माग राखेका छन्।

प्रत्येक ५ वर्षमा शिक्षकको शिक्षण अध्यापन अनुमति पत्रको नवीकरण गर्नुपर्ने, शिक्षकहरूकै पोसाकमा एकरूपता नदेखिएकाले व्यवस्थापन समिति मार्फत पोसाक खरिद गरी शिक्षक शिक्षिकाले राष्ट्रिय पोसाक अनिवार्य लगाउनु पर्ने उनको माग छ।

सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मूल्याङ्कन छ। त्यसैले राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्ने उनले माग राखेका छन्।

कुनै पनि विद्यालयमा एक जना शिक्षक कार्यरत अवधि बढीमा पाँच वर्षको बनाउनुपर्ने, त्यसपछि स्वतः सरुवा हुने कानुनी रूपमा व्यवस्था गर्नुपर्ने र शिक्षकलाई घरपायक पर्ने गरी राख्न नहुने न्यौपानेको माग छ।

हरेक विद्यालयले खाली जग्गाको सदुपयोग गरी बगैँचा वा करेसाबारी बनाइ एक विद्यार्थी एक बिरुवा कार्यक्रम लागू गर्ने, बिरुवाले पाएको स्याहारको आधारमा प्रयोगात्मक परीक्षाको मूल्याङ्कन गरिनु पर्ने, प्रत्येक विद्यालयमा सफा चमेना गृह र पोषणयुक्त खानेकुरा हुनुपर्ने, विद्यालयको भित्तामा राम्रा राम्रा उक्तिहरू लेखिनु पर्ने माग उनले गरेका छन्।

शिक्षकको हाजिरी सूचना पाटीमा सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्ने, हरेक विद्यालयले एक शिक्षा परोपकारी वा कल्याणकारी कोष स्थापना गरी सो कोषमा समाजसेवी, चन्दादाता, पूर्व विद्यार्थी, व्यापारी वा जोसुकैबाट विद्यालय विकासको निम्ति दान वा आर्थिक सहयोग लिन सक्ने व्यवस्था गर्नुपर्ने, प्राविधिक शिक्षामा पहुँच स्थापित गर्नका लागि कक्षा ९ देखि साधारण र प्राविधिक तथा व्यवसायीक शिक्षाको धारको व्यवस्था गर्नुपर्ने, सरकारी कोषबाट तलब सुविधा उपयोग गर्ने हरेकले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्था गर्न उनले माग गरेका छन्।

‘नेपालको पहिलो शैक्षिक संस्था दरबार हाईस्कूल कहाँ छ?’ न्यौपानेले प्रश्न पनि गरेका छन्। ‘१९१० साल असोज २७ गते जङ्गबहादुर राणाले आधुनिक अङ्ग्रेजी शिक्षा दिन बेलायतबाटै अङ्ग्रेजी शिक्षक ल्याएर स्थापना गरेको दरबार हाईस्कूलाई बेलायतकै जस्तो गुणस्तरीय शिक्षा दिने गरी शैक्षिक हब बनाउनु पर्नेमा किन यो ऐतिहासिक स्कुलको नाम, कुन शैक्षिक माफियाको निर्देशनमा मेटाइयो? के जरुरत थियो यो इतिहास मेटाउन?’प्रश्न गर्दै उनले भनेका छन्,‘काठमाडौँको रानीपोखरीमा रहेको भानु मा.वि. र संस्कृत मा.वि.को ठाउँमा दरबार हाई स्कुल नै हुनुपर्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading