सरकारमा दुई दल मात्रै, एमाले प्रदेशको समीकरण बदलिने तरिका हेर्दै

सरकारमा दुई दल मात्रै, एमाले प्रदेशको समीकरण बदलिने तरिका हेर्दै

काठमाडौं : आगामी चैत ५ गतेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ। बुधवारदेखि चैत ५ गतेसम्म राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता लागु हुने भएकाले मन्त्रीपरिषद्ले पूर्णता नपाउने भएको हो।

निर्वाचन आचारसंहितामा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि काम गर्न नमिल्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। नयाँ कार्यक्रम, नयाँ योजना, आयोजना शिलान्यास गर्न भएन, नयाँ पद सिर्जना गर्ने, नियुक्ति गर्ने काम हुँदैनन्,’प्रवक्ता पौडेलले भने,‘सरुवा, पदस्थापन, वैदेशिक भ्रमण हुँदैनन्।’

तर देश नै अप्ठेरो अवस्थामा पुग्ने देखिए आयोगको परामर्शमा सानो आकारको मन्त्रिपरिषद् विस्तार हुन सक्ने आयोगले बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनमा नलेखे पनि मन्त्रिपरिषद् विस्तारमा आचारसंहिता लाग्ने बताए। ‘अब भोलि देशै नचल्ने भयो, हामीसँग परामर्श गरे भने दिने हो, तर परामर्श नगरी गर्न हुँदैन,’थपलियाले भने,‘हामीले भनिसकेका छौ, बुझे अनुसार मन्त्रिपरिषद् पछि नै विस्तार हुन्छ।’

आयोगले राष्ट्रपति निर्वाचनका लागि मङ्गलवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। राष्ट्रपतिमा काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ भिड्दै छन्। फागुन २५ गते मतदान हुने छ।

आयोगले २५ गते नै मतदान सकिए लगत्तै मतगणना सुरु गरेर नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। उपराष्ट्रपति पदका लागि चैत ३ गते निर्वाचन हुँदैछ।

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री प्रचण्डले अहिले १६ वटा मन्त्रालय आफैसँग राखेका छन्। मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमत पार्टी मात्रै सहभागी छन्। सरकारमा सहभागी हुनेबारे दलहरूबिच छलफल भएको छैन। तर, काँग्रेससहित चुनाव अघिको पाँच दलीय गठबन्धन सरकारमा सहभागी हुने देखिएको छ।

केन्द्रदेखि प्रदेशसम्मका सरकारमा काँग्रेस सहभागी हुने महामन्त्री गगन थापाले बताए। ‘केन्द्रमा पनि पाँच दलको गठबन्धनको सरकार बन्छ, सातै वटा प्रदेशमा पनि पाँच दलीय गठबन्धनको सरकार बन्छ,’महामन्त्री थापाले भने,‘४ सय भन्दा बढी स्थानीय सरकार हाम्रो छ,अब हामीले काम गर्न सकेनौ भने कसैलाई दोष दिन पाउँदैनौ।’

पुस १० मा बनेको सत्ता समीकरण नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरु भएपछि भत्किएको छ। प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमाले सरकारबाट बाहिरिएको छ। उसले समर्थन फिर्ता लिइसकेको छ।

सरकार : एमाले बाहिरिन बाध्य, राष्ट्रिय स्वतन्त्र पार्टीलाई अझै आस

सरकारमा सहभागी दल बाहिरिएको र अरू दल सहभागी हुन चाहेकाले नयाँ समीकरणबारे छलफल हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन। उनले सरकारमा सहभागी हुने दलको टुङ्गो लगाइसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइन।

काँग्रेसले पनि नयाँ सरकार गठनको छलफल सुरु नभएको बताएको छ। काँग्रेस नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत नलिएसम्म नयाँ सरकार गठन हुने सम्भावना नदेखेको बताए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चयन अघि नै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी भने गरेका छन्।

एमालेसँग काँग्रेसको बदला, अब सरकार नयाँ बन्ने प्रचण्डको सङ्केत

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्ड संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने तयारीमा रहनु भएको मन्त्री शर्माले जानकारी दिइन। ‘तिथि मिति किटान गरेका छैनौ, तर संवैधानिक परिधि, सीमा बाहिर नजाने गरेर यो विश्वासको मत लिने कार्यक्रम हुन्छ,’मन्त्री शर्माले भनिन्,‘ठ्याक्कै मिति निश्चित नभएकाले थप भन्न सक्ने स्थिति रहेन।’

सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी दल बनेको एमालेले नयाँ सत्ता समीकरणबारे पर्ख र हेरको नीति लिएको छ। केन्द्र सरकारबाट बाहिरिएको एमालेले तत्काल प्रदेश सरकार भने नछोड्ने भएको छ।

एमाले सचिव योगेश भट्टराईले संसद्मा पार्टीको भूमिका प्रतिपक्षको हुने बताए। जनता र राष्ट्रको पक्षमा एमालेले भूमिका खेल्ने उनले बताए। ‘गलत कामको विरोध गर्छ र राम्रो कामको समर्थन गर्छ,’एमाले सचिव भट्टराईले भने,‘सामान्यतया माथिको सत्ता समीकरण बदलिएपछि तलको पनि बदलिन्छ,तर त्यो कुन तरिकाबाट बदलिन्छ हेरौँ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading