एमालेसँग काँग्रेसको बदला, अब सरकार नयाँ बन्ने प्रचण्डको सङ्केत

एमालेसँग काँग्रेसको बदला, अब सरकार नयाँ बन्ने प्रचण्डको सङ्केत

काठमाडौं : नेकपा एमालेले आफूहरू पुस १० गतेको सहमतिमा अडिग रहेको भन्दै तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ। अहिले सरकारमा रहने वा नरहने विषय नै नभएकाले राष्ट्रपतिको उम्मेदवारका विषयमा मात्रै निर्णय भएको एमालेले बताएको छ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकारबाट बाहिरिएको छ। राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

राप्रपाबाट मन्त्री बनेका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि यसको असर प्रदेश सरकारमा पनि देखिएको छ। प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको राप्रपाका बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा बुझाएका छन्।

राप्रपाका १३ सांसद रहेको बागमतीमा राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, डम्बर बहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री थिए। थापाले प्रदेशसभामा राप्रपा प्रतिपक्षी दल बनेको बताएका छन्।

गण्डकी प्रदेशमा भने राप्रपाका सांसद सरकारबाट बाहिरिँदा सरकार अल्पमतमा पर्ने भएको छ। गण्डकीमा राप्रपाबाट सरकारमा नेतृत्व गरेका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले पार्टीको निर्देशनअनुसार राजीनामा दिने बताएका छन्।

गण्डकीमा पहिलो पटक समानुपातिक प्रणालीबाट राप्रपाका दुई सांसद निर्वाचित भएका थिए। दुई सांसदसहित ३२ सांसदको समर्थनले बहुमत पुर्‍याएर नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद आवश्यकता पर्छ। नयाँ सत्ता समीकरण अनुसार गण्डकीमा काँग्रेस र माओवादी मिलेर सरकार बन्ने देखिएको छ। गण्डकीमा काँग्रेसका २७ सांसद छन्।

राष्ट्रपति चुनाव : पौडेल ढुक्क, नेम्वाङलाई प्रचण्डकै आश

प्रदेश १ सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले पार्टीको निर्णय अनुसार राजीनामा दिने बताएका छन्। उनले आइतबार राजीनामा बुझाउने बताए। उनी गत पुस २५ गते बिना विभागीय मन्त्रीमा नियुक्त भएका थिए।

राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र सङ्घीयता स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्य जटिल हुने अनुभव सुनाएका छन्।

सरकारमै बसेर सङ्घीयता खारेज गर्नुपर्ने राप्रपाका मन्त्री र राजतन्त्र ब्युँताउनुपर्ने एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँको अभिव्यक्तिमा अङ्कुश लगाउन नसकेका प्रधानमन्त्री प्रचण्डले एमालेलाई प्रतिपक्षमा बस्ने ठाउँ रहेको बताए।

उनले एमाले पनि कतै जान सक्ने स्थिति नभएको बताए। ‘उहाँहरू प्रतिपक्षमा जान सक्नुहुन्छ, आज मात्रै राप्रपाका सबै मन्त्रीहरूले राजीनामा दिनुभयो,सम्भवतः अब कानुनी हिसाबले हामी नयाँ प्रक्रिया तिर जानु नै पर्छ,’प्रचण्डले भने,‘सरकार नयाँ गठन हुन्छ, पुनर्गठन हुन्छ आदि इत्यादि।’

प्रधानमन्त्री प्रचण्डले स्वाभाविक र सहज रूपमा नयाँ कोर्स सुरु गरेको बताए। ‘सङ्घीयता र गणतन्त्र स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय मात्रै पैदा गर्छ,’उनले भने,‘दुई महिना भित्रै त्यो तितो अनुभव गरे।’

एमालेसँग काँग्रेसको बदला

नयाँ गठबन्धन र नेकपा एमाले राष्ट्रपतिमा जित निकाल्ने रणनीतिमा लागेका छन्। ८ दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेसँगै दुवै जित निकाल्ने तयारीमा जुटेका हुन्।

प्रतिनिधिसभाको ठुलो दल भएर पनि सत्ता विहीन हुनु परेको बदला काँग्रेसले ६२ दिनमै सत्ता गठबन्धन फुटाएर लिएको छ। सरकारलाई विश्वासको मत दिएर काँग्रेसले राष्ट्रपतिमा डोक्सा थापे पनि माछा नपर्ने अभिव्यक्ति दिएका एमाले अध्यक्ष ओलीलाई अहिले काँग्रेसले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न भनेको छ।

काँग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले फागुन २५ गतेसम्म नै धमिलो पानीमा माछा मार्ने खेल हुने बताए। ‘उहाँहरूको कुरो अझै यो २५ गतेसम्म केही गर्न सकिन्छ कि,अझै धमिलो पानीलाई निलो बनाउन सकिन्छ कि भन्ने उहाँको आशय होला,’महतले भने,‘तर त्यो सम्भावना कुनै देखिएको छैन।’

राष्ट्रपतिको चर्चामै सीमित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने त्रिशङ्कु संसद्मा यस्ता गठबन्धनको आयु धेरै नहुने बताउँछन्।

खनालले अहिले बनेका गठबन्धनलाई काँग्रेस भ्यागुताको धार्नीको संज्ञा दिँदै कुन भ्यागुतो कति बेला उफ्रन्छ थाहा नहुने बताए। ‘गठबन्धन भनेको भ्यागुताको धार्नी जस्ता हुन्छन्,कुन भ्यागुतो कति बेला उफ्रन्छ थाहा छैन, यी गठबन्धनहरूबाट देशले धेरै ठुलो फाइदा पाउनेछ भन्ने कुरामा मलाई विश्वास छैन,’खनालले भने,‘यो त्रिशङ्कु संसद्मा कुनै पनि गठबन्धनको आयु धेरै लामो हुँदैन।’

नेकपा एमालेले राष्ट्रपतिमा प्रस्ताव गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने पौडेल राष्ट्रपतिमा निर्वाचित हुने आशा गरिरहेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading