विश्वकप लिग टु

मौसम ढकाललाई चोट, स्थान लिन सन्दीप युएईमा

मौसम ढकाललाई चोट, स्थान लिन सन्दीप युएईमा

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत बिहीबार हुने युएई विरुद्धको खेलमा सन्दीप लामिछानेले खेल्ने भएका छन्।

नेपाली समय अनुसार बिहान १२ः४५ बजे युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा सन्दीपले मौसम ढकालको स्थानबाट खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।

बलात्कार आरोपी लामिछानेले सर्वोच्च अदालतबाट विदेश खेल्न जाने सुविधा पाए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले स्वीकृति दिन आनाकानी गर्दा विदेश यात्रा ढिला भएको हो।

घोषणा भइसकेको टोलीका कुनै पनि खेलाडी घाइते भएमा बाहेक अन्य खेलाडी टोलीमा राख्न नपाउने आइसिसीको नियमका कारण सन्दीपले टोलीमा ठाउँ पाउने सम्भावना न्यून थियो। क्यानका महाप्रबन्धक वृत्तान्त खनालले सहभागी हुने सम्भावना जटिल बनेको बताएका थिए।

तर नेपाल क्रिकेट सङ्घ क्यानले अभ्यासका क्रममा मौसम ढकालको काँधमा चोट लागेको कारण देखाउँदै सन्दीपको नाम राखेर पत्र पठाएपछि आइसिसीबाट स्वीकृति पाएको जनाएको छ। आइसिसीको स्वीकृतिसँगै सन्दीप बुधवार नै युएई उडे।

सर्वोच्चको सुविधामा युएई जाने सन्दीपको सम्भावना न्यून, आइसिसीको आनाकानी

लामिछानेले घाइते स्पिनर ढकालको स्थान लिने छन्। मौसम मङ्गलवार अभ्यासको क्रममा नेटमा ब्याटिङ गर्दा घाइते भएका थिए। अघिल्लो साता आइसिसी विश्वकप लिग २ मा सन्दीपले स्कटल्यान्ड र नामिबियाविरुद्ध ४ खेलमा १३ विकेट लिएका थिए।

किशोरी बलात्कारको आरोप लागेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्दै विदेश जान प्रतिबन्ध लगाएको थियो। विदेशमा गएर खेल्न पाउनुपर्ने माग गर्दै लामिछाने सर्वोच्च पुगेपछि फास्ट ट्र्याकबाट मुद्दाको किनारा लगाउँदै अनुमति दिएको थियो।

सन्दीपलाई सर्वोच्चको सुविधा, आइसिसी विश्वकप लिग खेल्न युएई जाने

निकै महत्त्वपूर्ण मानिएको युएई विरुद्धको खेल जित्न नेपाली टोलीले प्रशिक्षण जारी राखेको छ। सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो। नेपालले बिहीबार युएईसँग खेल्दै । शुक्रवार पपुवा न्युगिनी र ६ मार्चमा युएईसँग खेल्ने तालिका छ।

बिहीबार नै १९ वर्ष मुनिको नेपाली टोलीले विश्वकपको एसिया छनोटमा युएईसँगै प्रतिस्पर्धा गर्दैछ। नेपालले खेलमा जित हासिल गरे सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ।

नेपालले ८ वर्षपछि विश्वकप खेल्न पाउने ढोका खोल्न पनि बिहीबारको खेलमा जित निकाल्नै पर्ने दबाब छ। नेपाल पराजित भएमा युएईले विश्वकप खेल्नेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.