प्रतिनिधिसभा

प्रमुख विपक्षी काँग्रेस कि एमाले?

प्रमुख विपक्षी काँग्रेस कि एमाले?

काठमाडौं : प्रमुख प्रतिपक्षी दलमा दाबी गर्ने काँग्रेस र एमालेको विवादले प्रतिनिधिसभाको बैठक सरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएको नेपाल मजदुर किसान पार्टीले आफू मात्रै प्रमुख प्रतिपक्षी दल भएको दाबी गरिरहँदा एमालेले पनि प्रमुख विपक्षी दलकै दाबी गरेको हो।

संसद्को सबै भन्दा ठुलो दल काँग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन संसद् सचिवालयमा पठाएको पत्र विचाराधीन रहेको छ।

प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि पत्र पठाएको काँग्रेस अहिले सरकारमा सहभागी हुन आतुर देखिएको छ। एमालेले सरकारमा सहभागी नभएको काँग्रेसलाई सत्तापक्षमा राख्न भनेको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रमुख प्रतिपक्षी दल आफूले पाउनुपर्ने दाबी गरेको छ। काँग्रेस भने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्म नै प्रमुख प्रतिपक्षी दलको दाबी समातेर बस्ने भएको छ।

सत्तापक्ष र प्रतिपक्षी दलको विवादले प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। पुस १० को समीकरण बदलिए पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन्।

सरकारमा दुई दल मात्रै, एमाले प्रदेशको समीकरण बदलिने तरिका हेर्दै

एमालेसँगको समीकरण तोडेर काँग्रेस सहित आठ दलीय गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्। काँग्रेस पनि राष्ट्रपति चुनाव अगाडि नै सरकारमा सहभागी नहुने भएको छ।

भविष्यमा काँग्रेस सरकारमा सहभागी हुने आकलन गरेर अहिले नै प्रमुख प्रतिपक्षी दलमा एमालेले दाबी गर्नुको कुनै अर्थ नरहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।

‘हामी भोलिका दिनमा सरकारमा जाउँला, सत्तापक्ष बनौला, त्यो बेग्लै पाटो भो,त्यो हुन्छ भविष्यमा होला,’लेखकले भने,‘तर हामी सरकारमा नजाँदासम्म प्रतिनिधिसभामा विपक्षी दल हो, शेरबहादुर देउवा विपक्षी दलको नेता हो, एमाले र संसद्ले राम्रोसँग बुझेको छ, त्यसमा कुनै द्विविधा छैन।’

काँग्रेसले प्रतिपक्षी दाबी गरे पनि एमालेले काँग्रेस सत्ता पक्ष नै हुने बताएको छ। काँग्रेस सत्तामा नगएर प्रतिपक्षी बस्न चाहे उसको कुरा भएको एमाले सांसद छविलाल विश्वकर्माले बताए। ‘यसमा निरूपण गर्ने काम सचिवालयको हो,’उनले भने,‘नेकपा एमाले अहिले प्रमुख प्रतिपक्षी हो भनेर औपचारिक रूपमा भनिनै सकेका छौ।’

काँग्रेस सरकार गए एमालेले स्वतः प्रमुख प्रतिपक्षी दलको मान्यता पाउने छ। तर अहिले काँग्रेस न सत्तामा न प्रतिपक्षमा परिचय दिन नसक्ने अवस्थामा छ।

विश्वासको मत दिएको काँग्रेस सत्तापक्ष वा प्रतिपक्ष हैसियत खुल्न नसकेको एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले टिप्पणी गरेका छन्। ‘हामी हिजो सरकारको नेतृत्वमा रहँदा काँग्रेस सत्ता पक्षमा पनि बसेन, प्रतिपक्षमा पनि बसेन,’एमाले सांसद गैरेले भने,‘काँग्रेस के हो? त्यसको परिचय के हो? आजसम्म खुलेको छैन।’
प्रमुख प्रतिपक्षमा काँग्रेस र एमालेको विवादमा बुधवार बस्ने बैठक चैत ५ गतेसम्मलाई स्थगित गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भने फागु पूर्णिमा, राष्ट्रपति निर्वाचन, सभामुखको बहराइन भ्रमण लगायतका कारणले बैठक सारिएको बताउँछन्।

संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन अगावै विश्वासको मत लिने सम्भावना पनि सकिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading