‘विकसित देशका उद्योगले विकासोन्मुख देशमा प्रदूषण बढाए’

‘विकसित देशका उद्योगले विकासोन्मुख देशमा प्रदूषण बढाए’

काठमाडौं : काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन बुधवार सकिएको छ। व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नैतिक र सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै अनुसन्धानकर्ता डा.अशोक भण्डारीले प्रतिस्पर्धा वृद्धि गर्न सामाजिक उत्तरदायित्वपूर्ण व्यापारिक अभ्यास गर्नुपर्ने बताए।

उनका अनुसार विगतमा व्यापारीले नाफा मात्र हेर्थे तर आजभोलि ट्रेन्ड अलिकति परिवर्तन भएको छ। उनीहरूले आफ्नो नाफाको निश्चित प्रतिशत व्यावसायिक सामाजिक उत्तरदायित्वका लागि पनि राख्ने गरेका छन्।

नेपालको औद्योगिक व्यवसाय ऐनले पनि नाफाको निश्चित प्रतिशत यस्ता कार्यमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। ‘निजी क्षेत्रले यस्तो लगानीको प्रतिफल जमिनमा अझै देखिन बाँकी रहेका बताउन थालेका छन्,’ भण्डारीले भने।


अनुसन्धानकर्ता दीपशिखा गुरुङले महिला उद्यमीका लागि प्रविधि सबैभन्दा राम्रो साथी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिन्। उनले धेरै महिलाका हातमा अहिले मोबाइल फोन र सामाजिक सञ्जालमा पहुँच रहेकोले कृषि व्यवसायमा लागेका महिलालाई आवश्यक ज्ञान पुर्‍याउन सरकारलाई सजिलो भएको बताइन्।

भारतकी अनुसन्धानकर्ता निशा प्रकाशले के उदारीकरणले अर्थतन्त्र बढाउँदै छ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिन्। उनले भारतको उदाहरण दिँदै विकसित देशका उद्योगधन्दा विकासोन्मुख देशमा आएर प्रदूषण बढाउन भूमिका खेलको बताइन्। क्लाईमेट चेन्ज सम्बन्धी पेरिस सम्झौताको परिपालन गर्न विकसित देशका उद्योग विकासोन्मुख देशमा आएको तर तिनले उत्पादन बढाए पनि उच्च कार्बन उत्सर्जन पनि गरिरहेको उनको भनाई थियो।

‘खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना’

अनुसन्धानकर्ता सरोज कुमार अर्याल र विनायक मल्लले नेपाली विदेश पढ्न जाने प्रवृत्तिको बारेमा कार्यपत्र प्रस्तुत गरे। उनीहरूका अनुसार नेपाली युवाहरू विदेशमा पढ्न गए पनि कमै मात्र फर्केर आउने गरेको बताए। उनीहरू विदेश अध्ययन गर्न जानुको मुख्य कारण अन्तर्राष्ट्रिय डिग्री लिन भएको र यसले गर्दा रोजगारी पाउन सजिलो हुने युवाको विश्वास रहेको उनीहरूको धारणा थियो।

नेपाली विश्वविद्यालयले दिने कम गुणस्तरको शिक्षाले पनि उनीहरूलाई बिदेसिन उत्प्रेरित गरेको उनीहरूको धारणा थियो। ‘विदेश गएपछि सम्बन्धित देशमै राम्रो अवसर पाउने भएकोले उनीहरू सामान्यतया फर्कँदैनन्,’ उनीहरूको निष्कर्ष छ। सम्मेलनको पहिलो दिन विज्ञहरूले खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने बताएका थिए।

दुई दिने सम्मेलनमा अनुसन्धानकर्ताहरूबाट २८ वटा कार्यपत्र प्रस्तुत भएका थिए। ती कार्यपत्र नेपाल र भारतबाट प्राप्त भएको काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले जनाएको छ।

२८ कार्यपत्र प्रस्तुत कर्ता मध्ये उत्कृष्ट कार्यपत्रलाई ५०/५० हजार नगदसहित अवार्ड दिइएको छ। जसमा नेपालको तर्फबाट जलवायु परिवर्तन, मानव बसाइसराइ र सम्भावित व्यापार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने प्रज्ज्वल ढुङ्गानालाई अवार्ड दिइएको छ।

त्यस्तै भारत र नेपालका उद्योगहरूको निर्यात प्रतिस्पर्धात्मकता मूल्याङ्कन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने प्रतिभा वेंकटेशमूर्ति, डा. जीवनानन्द एस, र डा. सङ्गीता महरोलियाको कार्यपत्रलाई अवार्ड दिइएको छ।

विश्व व्यापार सङ्गठनको डब्ल्यु टी ओ चेयरस प्रोगामका अन्तरगत काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले यो सम्मेलन आयोजना गरेको हो। काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले यो कार्यक्रम चार वर्ष (२०२२–२०२६) कार्यान्वयन गर्नेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading