राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष : ४ मत बदर, एउटा मतपत्र खाली

राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष : ४ मत बदर, एउटा मतपत्र खाली

काठमाडौं : नेपालको नयाँ उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। सङ्घीय संसद्का १८४ र प्रदेश सभाका ३२९ निर्वाचक मण्डलका सदस्यको मत पाएर यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यादवको मतभार ३० हजार ३२८ रहेको छ।

उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार पाइन। उनले सङ्घीय संसद्का १०४ र प्रदेशका १६९ निर्वाचक मण्डलका सदस्यको मत पाइन।

उपराष्ट्रपति चुनावमा ४ मत बदर भएको छ। ३ मत उम्मेदवारको नाम भएको कोष्ठ बाहिर परेकाले बदर भएको छ भने एउटा मतपत्र खाली परेको छ।

बदर ३ मत उपराष्ट्रपतिकी उम्मेदवार शाक्यको रहेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘प्रदेशको ४ मत बदर भयो,३ मत त शाक्यको बदर भयो,’बर्तौलाले पहिचानसँग भने,‘एउटा मत पत्र खाली थियो।’

राष्ट्रपतिमा पौडेलको एक र नेम्वाङको ४ मत बदर, उपराष्ट्रपति पनि पुरुष नै!

उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले २ हजार ५३७ र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरिन्। उपराष्ट्रपतिमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले मत दिएका हुन्। कुल मतभार ५२ हजार ६२८ रहेकोमा यादवले त्यसको बहुमत भन्दा बढी ३० हजार ३२८ मतभार ल्याएर निर्वाचित भए।

जसपाबाट उपराष्ट्रपतिकी उम्मेदवार प्रमीलाकुमारीले सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन्। सत्ता गठबन्धनकै जनमत पार्टीले भने ममता झालाई उम्मेदवार बनाएको थियो।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपराष्ट्रपति यादव जसपाका संसदीय दलका नेता समेत हुन्। २०६४ मा बारा–२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा बारा २ बाटै निर्वाचित भए।

पार्टी अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएपछि प्रतिनिधिसभामा जाने यादवको प्रयासमा ब्रेक लागेको थियो। उपराष्ट्रपतिमा रामसहायप्रसाद निर्वाचित भएकाले बारा २ मा अब उपनिर्वाचन हुनेछ। उपेन्द्र बारा २ बाट उपनिर्वाचन लडेर सांसद बन्ने तयारीमा लागेका छन्।

उपेन्द्रको सांसद बन्ने चाहना पुरा गरिदिन सत्ता गठबन्धनका काँग्रेस, माओवादी, एकीकृत समाजवादीले संविधानमा भएको राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था व्यवस्थामै सीमित गराइदिएका छन्।

राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष निर्वाचित भएका छन्। रामचन्द्र पौडेलले फागुन २९ गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हालिसकेका छन्। पहिलो राष्ट्रपति डा. रामबरण यादव थिए भने उपराष्ट्रपतिमा परमानन्द झा थिए।

संविधान जारी भएपछिको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी थिइन भने उपराष्ट्रपतिमा नन्दबहादुर पुन थिए। चौथो कार्यकालका लागि राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित पौडेल र यादव भने दुवै पुरुष छन्।

निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्ने उजुरीलाई काम नलाग्ने बनाइदिएपछि जसपाले प्रमीलाकुमारीको उम्मेदवारी निष्क्रिय बनायो। प्रमीलाकुमारी राष्ट्रिय सभाकी सदस्य हुन्। उपेन्द्रको राष्ट्रिय सभामा चाहना कम र प्रतिनिधिसभामा धेरै हुँदा रामसहायले उपराष्ट्रपति बन्ने अवसर पाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading