‘प्रदेश सरकार पुनर्गठन, आलोपालो प्रणालीमा नेतृत्व’ सकसमा एमाले

‘प्रदेश सरकार पुनर्गठन, आलोपालो प्रणालीमा नेतृत्व’ सकसमा एमाले

काठमाडौं : नयाँ सरकार बनेको तीन महिना पुग्न नपाउँदै पुरानो गठबन्धन ब्युँतिएपछि केन्द्रजस्तै प्रदेश सरकारहरू पनि पुनर्गठन हुने भएका छन्। राष्ट्रपति निर्वाचनमा दश दलीय समीकरण बनेसँगै अब प्रदेश सरकारमा पनि गठबन्धनका दलहरूबिच आलोपालो प्रणाली सुरु हुने भएको छ।

यसअघि एमालेलाई सघाएको माओवादीले समर्थन फिर्ता लिएर नयाँ प्रदेश सरकार बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए।

संसदबाट दोस्रो पटक विश्वासको मत लिएको भोलिपल्ट आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले अब सङ्घ सरकारलाई पूर्णता दिनेदेखि प्रदेश सरकार बनाउनेसम्मको छलफल गठबन्धन दलहरूबिच सुरु भइसकेको बताए।

‘प्रदेश सरकार पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिइनेछ,’उनले भने,‘ त्यसबाट पनि जनताको विकास निर्माण र संवृद्धिको आकाङ्क्षा सम्बोधन गर्न एकीकृत रूपमा काम अगाडि बढाइने छ।’

केन्द्रमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पनि बुधवार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक विश्वासको मत लिने भएका हुन्।

विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमरकट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। एमालेले भने प्रदेश सरकार छाडेको छैन। बागमती प्रदेश सरकारको ४ मन्त्रालयको नेतृत्व गरिरहेको एमालेले मुख्यमन्त्रीलाई विश्वासको दिन्छ या सरकारबाट बाहिरिन्छ भन्ने निर्णय गरेको छैन।

पार्टी केन्द्रसँगको निर्देशनमा प्रदेशसभा बैठकअघि बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय गर्ने एमालेका एक नेताले बताए। एमालेले छोड्ने बित्तिकै बागमती प्रदेश सरकारको नेतृत्वमा नेपाली काँग्रेसले दाबी गर्ने तयारी गरेको छ। प्रदेशसभाको सबैभन्दा ठुलो दलको रूपमा रहेको काँग्रेसले सरकारको नेतृत्व आफूले गर्नेबारे छलफल जारी रहेको जनाएको छ।

एक्लियो एमाले

पुरानै गठबन्धन ब्युँतिएपछि नेकपा एमाले सत्ता राजनीतिमा एक्लो भएको छ। पुस १० मा एमालेलाई काँध हालेको राष्ट्रिय स्वतन्त्र पार्टीले साथ छोडेको छ। केन्द्रदेखि प्रदेशसम्मै एमाले एक्लो पर्ने देखिएको छ।

एमालेलाई सत्ताबाट निकालेर इन्ट्री गरेको काँग्रेस हौसिएको छ। एमालेसँगको गठबन्धन भत्काएपछि राष्ट्रपति हात पारेको काँग्रेसले सरकारमा जाने दिन गनेर बसेको छ। अबको केही दिनमा सरकारमा सहभागी हुने तयारी काँग्रेसको छ।

शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले अब सरकार सञ्चालनमा कमजोरी गर्ने छुट काँग्रेसलाई नहुने बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा भएको कार्यक्रममा काँग्रेस नेता कोइरालाले यसअघिका भुल सुधार गर्ने गरी सरकारमा जानुपर्ने बताए। ‘नेपाली काँग्रेस केही दिन भित्रैमा सरकारमा जाँदै छ,अब नेपाली काँग्रेसलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ,’नेता कोइरालाले भने,‘कुनै किसिमको कमी कमजोरी अब नेपाली काँग्रेसबाट हुनुहुँदैन।’

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी हुन पार्टी अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल नै गठन गरेको छ। पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा नेपालको नेतृत्वमा उपाध्यक्षहरू प्रमेश हमाल र वेदुराम भुसालसहितको कार्यदल गठन गरेको हो। उसले गृह मन्त्रालयसहित महत्त्वपूर्ण तीन मन्त्रालयमा दाबी गर्दै आएको छ।

जनतामा निराशा

जनतामा निराशा देखिएको छ। जुन सरकार बने पनि जनताको नाम मात्रै भजाउने काम भएपछि जनताको निराशा सडकमा पोखिन थालेको छ। मूल्यवृद्धि र बैङ्क तथा वित्तीय संस्थाको ब्याजदरका कारण आजित बनेका जनता आक्रोशित भएका छन्।

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नजिकै रहेका युवाले सरकारविरुद्ध नारा लगाएका छन्।

बैङ्कको व्याज मिनाहा गर भन्दै नारा लगाएका युवाको मुख थुन्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अरू युवाले जनताको मुख थुन्न पाइँदैन भन्दै नारा लगाए।

आफ्नो तेस्रो कार्यकालमा काम धेरै भाषण कम गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री प्रचण्ड सत्ता र शक्तिमै केन्द्रित भएको आरोप खेपिरहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading