उपेन्द्रलाई संसद् छिर्न नदिन सिके राउतले भित्र्याए माओवादी

उपेन्द्रलाई संसद् छिर्न नदिन सिके राउतले भित्र्याए माओवादी

काठमाडौँ : मधेसका मसिया ठान्ने उपेन्द्र यादवलाई संसद् प्रवेश गर्न नदिने रणनीतिमा लागेका छन् सिके राउत। यादवलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् उनी।

बारा–२ मा राउतसँग पराजित यादव वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा भएसँगै संसद् प्रवेश गर्न नदिने रणनीतिमा लागेका हुन् राउत। मङ्सिर ४ को चुनावमा ३५४ मतले पराजित नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेर राउतले यादवको मधेस राजनीतिमा रहेको पकड भत्काउने योजना सार्वजनिक नै गरेका छन्।

रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि खाली रहेको सिटमा वैशाख १० गते हुने उपनिर्वाचनमा जनमत पार्टीले माओवादीबाट पराजित कुशवाहलाई पार्टी प्रवेश गराएको मात्रै छैन, उम्मेदवार नै बनाउने घोषणा गरेको छ।

उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेको कुशवाहले बताएका छन्।

उपराष्ट्रपति चुनाव : सांसद बन्न उपेन्द्रको छटपटी, अप्ठ्यारो पार्ने सिके राउतको रणनीति

जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउन आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए। ‘सिके राउतजी मधेसको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो। अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ। त्यहाँका जनताको भावना विपरीत सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौँ,’पत्रकार सम्मेलन गरेर उनले भने,‘त्यसको सामना मात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु।’

उनले आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगे पनि जनताको चाहना र आग्रहअनुसार जनमत पार्टीमा प्रवेश गरेको बताए। ‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो। हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट वञ्चित गर्न खोजेको थियो, जनताको भावना पनि वञ्चित गरिएको छ। मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ,’उनले भने,‘जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस् भनेपछि मैले जनताको भावनाअनुरूप जनमत पार्टी रोजेँ।’

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी जनताको उद्धारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरूको उद्धारका लागि बनेको दाबी गरे। माओवादीका कारण कुशवाह पटक–पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई थियो। उनले कुशवाहलाई वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा जितको अग्रिम शुभकामना दिँदै षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको आरोप लगाए।

‘षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो। बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो। त्यहाँका जनताको जनमतको अपमान भयो,’राउतले भने,‘भोट दिएको तीन महिना नपुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो।’ उनले बारा–२ मा उपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने दाबी गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading