फलोअप

तेस्रोलिंगी घटाउनु पर्ने सांसदको अभिव्यक्तिले समुदाय सशङ्कित

तेस्रोलिंगी घटाउनु पर्ने सांसदको अभिव्यक्तिले समुदाय सशङ्कित

काठमाडौँ : २०७४ सालको स्थानीय तह निर्वाचनमा तेस्रोलिंगी यम बहादुर राना (आनिक) रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदमा उम्मेदवार बनिन्।

बाबुराम भट्टराईले नेकपा माओवादी छोडेर गठन गरेको नयाँ शक्ति नेपाल पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएकी थिइन आनिक रानाले।

उम्मेदवारी दर्ता नै जित भएको खुसी मानेकी राना वडा अध्यक्षमा निर्वाचित हुन सकिनन्। २०७९ वैशाखमा भएको दोस्रो स्थानीय तहको चुनावमा उनी उम्मेदवार बनिन्। नयाँ शक्ति पार्टी नै कोल्याप्स बनाएर डा.बाबुराम भट्टराईले नयाँ दल खोलेपछि त्यसमा आबद्ध नेता कार्यकर्तालाई भट्टराईले सँगै लिएर जान सकेनन्।

राष्ट्रिय जनमुक्ति पार्टीले रानालाई गत चुनावमा पनि उम्मेदवार बन्न आग्रह गरेको थियो। संविधान कार्यान्वयन पछिको दोस्रो चुनावमा राना उम्मेदवार बनिनन्।

‘यो पटक राना उम्मेदवार बनेको भए नेपाली काँग्रेसले पनि टिकट दिन्थ्यो,जनमुक्ति त उहाँहरूको पार्टी छदै थियो,’लुम्बिनी प्रदेशमा तेस्रोलिंगी आनिक रानासँग चिनजान भएका काँग्रेसका एक नेताले पहिचानसँग भने,‘खोइ किन उहाँले यो चुनावमा चासो दिनु भएन, टेलिभिजन कार्यक्रम मार्फत पनि उहाँ (आनिक)ले आफूलाई चिनाउनु भएको थियो,सायद चुनाव जित्न सक्नुहुन्थ्यो।’

लकडाउनका बेला आनिकले रुपन्देही, नवलपरासी र कपिलवस्तु तीन वटै जिल्लाका सेवामा पहुँच नभएका साथीहरूको पहिचान गर्दै उहाँहरूलाई सहयोग गरेकी थिइन। ‘हामी भोकै मर्ने हो कि केही गर्ने ?’ भनेर प्रश्न गर्ने साथीहरूलाई तीन वटै जिल्लाका स्थानीय समाजसेवी र वडा कार्यालयसँग राहतको लागि समन्वय गरिरहेकी थिइन रानाले।

स्वास्थ्य समस्याका कारण गत चुनावमा उनी उम्मेदवार नै बनिन्। चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार पछि तङ्ग्रिएकी आनिक अहिले भने कार्यक्रमहरूमा सहभागी हुन थालेकी छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले पहिचान अनुसारको नागरिकता पाउनु पर्ने रिटमा सर्वोच्च अदालतको आदेश लिएर ‘अन्य’ लिङ्गको नागरिकता लिएकी राना कानुन बनाउने सांसदको अभिव्यक्ति सुनेपछि भने आत्तिएकी छन्।

‘सांसदलाई नै बुझाउन सकिएको रैनछ,बुटवल भलवारिको जिके पेट्रोलपम्पबाट ६ मिटर भित्रको एक तले घरमा पहिचानसँग कुरा गर्दै रानाले भनिन्,‘तेस्रोलिंगी र अपाङ्गता भएका व्यक्ति जन्मनै दिन नहुने पो भन्छन् सांसद? त्यस्तो पनि हुन्छ र?’

तेस्रोलिंगी आनिक रानाले बल्ल पाइन पहिचान अनुसारको नागरिकता

संविधान जारी भएको एक वर्षमा आनिकले अन्य लैङ्गिक पहिचानको नागरिकता प्राप्त गरेकी हुन्। ‘जन्मँदा म केटै हो त,पछि हुर्कँदै जाँदा केटी बन्ने तिर मन गएको हो र त अहिले तेस्रोलिंगी (मध्यमलिंगी) भएकी हुँ’कार्यक्रमहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको पहिचान गराउँदै आनिक सुनाउँछिन्।

भारतीय सेनामा कार्यरत रुपन्देहीको तिलोत्तमा–८ ज्योतिनगरका रनबहादुर राना र लालसरिको कोखबाट जन्मिएका यामबहादुर राना (आनिक) छोराका रूपमा जन्मिएका थिए। रानाको बाल्यकाल रुपन्देहीमै बित्यो। ‘जब ६ कक्षामा पुगे, अन्य पुरुष वा बालकभन्दा आफू फरक भएजस्तो महसुस हुन थाल्यो,’रानाले मिडियाहरूमा दिएका अन्तरवार्तामा भन्ने गरेकी छन्,‘सँगै पढ्ने केटा साथीहरूभन्दा केटी साथीसँग नजिकिन मन हुँदै गयो।’

जन्मँदा छोरा र हुर्कँदै बढ्दै जाँदा छोरीको हाउभाउ स्वभाव देखेर बुवाआमाले ‘तलाइँ हामीले यस्तो जन्माएको होइन, कसरी यस्तो स्वभाव देखाउन थालिस्’ भन्थे। परिवारको यातना र दुर्व्यवहाले र १६ वर्षको उमेरमा पढाइ, समाज र परिवार छाडेर घरबाट निस्केको उनको स्टोरी अनलाइन संचारमाध्यममा संग्रहित छन्।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) बालकृष्ण पन्थीले आनिकलाई तेस्रोलिंगी भएको डाक्टरी प्रमाण लिएर आउन भने।

संविधानले दिएको लिङ्गका आधार नागरिकता पाउनबाट वञ्चित गराइएको भन्दै मानवअधिकार आयोग हुँदै गृह मन्त्रालयसम्म पुगिन् उनी। कतै सुनुवाइ नभएपछि रानाले ७५ वटै जिल्लाका प्रजिअलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालिन। २०७२ माघमा सर्वोच्चको फैसलापछि उनले प्रशासनबाट यामबहादुर राना आनिक भनेर अन्य लैङ्गिक पहिचानमा नागरिकता लिइन।

२०७९ फागुनसम्म नेपालमा अन्य लैङ्गिक पहिचानमा नागरिकता लिनेको सङ्ख्या १३९८ जना पुगिसकेको छ। जन्मँदा पुरुष या महिला नै जन्मने हुन्। जन्मजात समलिङ्गी तेस्रोलिंगी हुने होइन।

जर्मन नागरिक टोविससँग समलिङ्गी विवाह गरेका अधिप पोखरेलले पहिचानसँग कुरा गर्दै भनेका थिए,‘आफू समलिङ्गी भएको कुरा २७ वर्षको उमेरमा बुबा आमालाई भन्न सके,उहाँहरूले स्वीकार गर्नुभयो र त मैले समलिङ्गी विवाह गरे।’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकै अधिकारका लागि वकालत गर्दै आएकी राना अमेरिकी सहयोग नियोग युएसएआइडीको अनुदानमा एसिया फाउन्डेसनले गरेको जनगणनाको प्रतिवेदनमा आधारित रहेर लैङ्गिक समानता र समावेशीकरण कार्यक्रमका निम्तालु सांसद इन्द्रजित थारुको अभिव्यक्तिले त्रसित भइन। चैत १६ गते एसिया फाउन्डेसनको कार्यक्रममा सांसद थारुले दिएको अभिव्यक्तिको शब्द शब्द टिपोट गरेकी थिइन राणाले। पत्रकार पनि उपस्थित थिए कार्यक्रममा।

लिङ्ग पहिचान गरेर पतन गराउन सांसद नै उक्साउँछन्, कसरी हुन्छ कानुन कार्यान्वयन?

कानुन बनाउने थलो संसद् सदस्य थारुको अभिव्यक्तिको समाचार बनेर आउँला र सांसद थारुले आफ्नो अभिव्यक्ति फिर्ता लेलान् भन्ने आनिकको आशा बुटवलका सञ्चारमाध्यमको विषय नै बनेन।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको अवस्था र आवश्यकताबारे लघु कथानक चलचित्र नीलो फूल नेपाल पत्रकार महासङ्घको राष्ट्रिय मिडिया सम्मेलनमा प्रदर्शन गरेको भोलिपल्ट पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले ‘सांसदहरूले सार्वजनिक रूपमा यस्ता अभिव्यक्ति दिइरहेका बेला हामी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले कसरी सुरक्षित महसुस गर्ने?’ सामाजिक सञ्जाल फेसबुकमा लेखे।

पन्तले स्ट्याटस लेख्नु अघि नै पहिचानले एसिया फाउन्डेसनको चैत १६ गते कै कार्यक्रमको रिपोर्टिङ गर्ने पत्रकार उषा किरण पन्तलाई सम्पर्क गरेर सांसद थारुले तेस्रोलिंगी र अपाङ्गता भएका व्यक्तिको सङ्ख्या घटाउनु पर्ने अभिव्यक्ति दिनु भएको हो भनेर सोध्दा उनले सांसद थारुको यस्तो अभिव्यक्ति कार्यक्रममा नसुनेको बताएकी थिइन।

तर सांसद थारुले भने एसिया फाउन्डेसनको कार्यक्रममा आफूले तेस्रोलिंगी र अपाङ्गता भएका व्यक्तिको सङ्ख्या घटाउनु पर्ने अभिव्यक्ति दिएको पुष्टि गरेका छन्।

‘मैले चाही प्राकृतिक रूपमा अपाङ्ग जन्मन दिनु हुँदैन, अपाङ्ग पनि घटाउनु पर्छ, त्यसपछि तेस्रोलिंगी पनि घटाउनु पर्छ,गर्भपतनको अधिकार दिएकै छ,हामीले राम्रै सपाङ्गै बच्चा पनि गर्भपतन गरिरहेको अवस्थामा तेस्रोलिंगी भ्रूणमै पहिचान गरेर जन्मिनै नदिए अझै राम्रो,’उनले पहिचानसँग भने,‘तेस्रोलिंगीको सङ्ख्या बढ्दै गयो भने समाज विकास प्रक्रिया नै अवरुद्ध हुन्छ,अपाङ्ग मात्रै जन्मिन थाले भने त्यसले पनि असर पुर्‍याउँछ,अपाङ्ग बच्चा बच्ची नजन्मिउन्, तेस्रोलिंगी नजन्मिउन् भन्ने तिर पनि ध्यान दिनुपर्छ भनेको हो।’

लुम्बिनी प्रदेश सभा सदस्य थारुको अभिव्यक्तिमा एसिया फाउन्डेसन भने मौन बसेको छ। उसले अहिलेसम्म प्रतिक्रिया जनाएको छैन। सांसद थारुको अभिव्यक्तिको अडियो पहिचान मिडियाले सुरक्षित राखेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading