उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने उम्मेदवारलाई आयोगले दियो १० बुँदे निर्देशन

उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने उम्मेदवारलाई आयोगले दियो १० बुँदे निर्देशन

काठमाडौं : निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको जनाएको छ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने आयोगले जनाएको छ।

उपनिर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन उम्मेदवारको मनोनयनको समयमा राजनीतिक दल र उम्मेदवारहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले १० बुँदे निर्देशन दिने निर्णय गरेको छ।

निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर नजान निर्देशन दिएको छ। उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिन्ह र झन्डा सहित जान नहुने निर्णय आयोगले गरेको छ।

उम्मेदवारको मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने, उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गालीगलौज र टीकाटिप्पणी नगर्ने नगराउने भनिएको छ।

उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति प्रयोग गर्न नहुने, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने, उम्मेदवारको मनोनयनका समयमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने, मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नहुने, हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने र नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने निर्देशन आयोगले दिएको छ।

उम्मेदवार मनोनयनको अघिल्लो दिन आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

नागरिकता विवादमा मुद्दा दायर गरेकै युवराज पौडेल सफलले आज लामिछानेको राहदानी प्रकरणमा महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको हो। महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेसँगै पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले दोहोरो राहदानी लिएको भन्ने आरोपबाट क्लिनचिट पाएका थिए।

उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन नेकपा एमालेले बारा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको छ। बारामा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाएको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

वैशाख १० गते हुने उपनिर्वाचनका सत्ता गठबन्धनबाट काँग्रेसले तनहुँ र चितवनमा उम्मेदवार चयन गरेको छ भने बारामा जसपाका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। लोकतान्त्रिक समाजवादी पाटी लोसपाले पनि यादवलाई नै समर्थन गर्ने निर्णय गरेको छ।

कारबाही फुकुवा

नेपाली काँग्रेसले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरूको मात्र कारबाही फुकुवा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ, चितवन र बाराका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

कारबाही फुकुवा हुनेहरूमा जगन्नाथ पौडेल, केन्द्रीय सदस्य दिनेश कोइराला, गोविन्दराज जोशी छन्।

काँग्रेसले दुई जना महामन्त्रीलाई उपनिर्वाचनको कमान्डर बनाउने निर्णय पनि गरेको छ। तनहुँ–१ मा महामन्त्री गगन थापा र चितवन २ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमान्डर बनाएर पठाउने निर्णय काँग्रेसले गरेको हो।

रवि लामिछाने : सत्ता र प्रतिपक्षको अनुभव, पुनः चुनाव जित्नेमा ढुक्क

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading