पूर्वराजा ज्ञानेन्द्रले भने, पुरानो गौरव फर्काउनका लागि उठौँ

पूर्वराजा ज्ञानेन्द्रले भने, पुरानो गौरव फर्काउनका लागि उठौँ

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन एकजुट हुन आव्हान गरेका छन्। ज्ञानेन्द्रले अब राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ भनेका छन्।

नेपालगन्जमा भएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले यसको निम्ति के पुरुष, के महिला, के आजका जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबैलाई अब जुट्न आव्हान गरे।

राजनीतिक दलका नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ज्ञानेन्द्रले राजनीति र राज्य व्यवस्था जनमुखी नभई नेताद्वारा नेताका निम्ति र दलद्वारा दलका निम्ति मात्र भइरहेको बताए। उनले कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको टिप्पणी गरे।

उनले गरिबी नियति बनेको उल्लेख गरेका छन्। लिखित भाषण गरेका ज्ञानेन्द्रले अहिलेको राजनीति जनताका लागि हुन नसकेको बताए।

‘दुई छाक खान र एक धरो लाउन हामी धेरैलाई धौ धौ छ। हाम्रा विकसित सहरहरू, गाउँहरू आज उजाड छन्। हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन्,’ज्ञानेन्द्रले भने,‘त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण बिदेसिन बाध्य छन्। त्यसै भएर त नेपालगन्ज जस्तो पुरानो उन्नत आर्थिक केन्द्र स्थलमा उभिएर हामी आजको कटु यथार्थता देख्न, भोग्न र भन्न बाध्य छौ।’

उनले अब राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ भनेका छन्।

ज्ञानेन्द्रको लिखित भाषण

आज नेपालको यो ऐतिहासिक,औद्योगिक र व्यापारिक महत्त्वको नेपालगन्ज नगरमा आएर तपाईँहरू सामु दुईचार कुरा बोल्न पाउँदा मलाई खुसी लागेको छ। यो अवसर दिनु हुने आयोजक तथा उपस्थित यस क्षेत्रका जनसमूह प्रति आभार व्यक्त गर्दछु।

बाँकेको यो नेपालगन्ज हाम्रो यस क्षेत्रको केन्द्रवर्ती स्थल हो। बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको यो भूभाग परिबन्दले हामीबाट केही समय गुमे पनि कालान्तरमा त्यो हामी भित्रै समाहित भयो। त्यो हाम्रो गौरवको विषय हो। हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राख्दछौँ र त्यसमा गर्व गर्दछौँ। यस्तो गौरवको गति हामीले सदा राख्नु पर्दछ। हाम्रो यही मान्यता हो।

नेपालको यो स्थापित पुरानो सहरमा पाहिला टेकेपछि स्वभावतः मलाई यहाँ रहेको परम आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आयो। अस्ति सोमबार साँझ म देवी भगवती बागेश्वरीको सन्ध्या आरतीमा संलग्न भए। मलाई अन्तरआत्मा देखि नै अपार आनन्दको अनुभूति भयो। त्यहाँ तपाईँहरू नेपालगन्जवासीको समेत उत्साहपूर्ण साथ रहेकोमा मलाई हर्षको पनि अनुभूति भयो।

आज भन्दा चौसट्ठी वर्ष अघि यही भूमिमा उभिएर हाम्रा स्वर्गवासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतना मूलक सम्बोधन भएको हो। लामो अन्तरालपछि फेरी पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु। मलाई दुःख लाग्छ – यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ। देश बनाऊँ—देशवासीको अवस्था सुधारौँ, व्यवस्था र पद्धति बसालौँ, जनतालाई शान्ति, सुख समृद्धि दिऊँ—हाम्रो भावना धारणा र नारा आज पनि यही छ।

नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति हो। तर अहिले पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिँदैन। हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो। तर विडम्बना भन्नुपर्छ —हाम्रो राजनीति तथा हाम्रो राज्यव्यवस्था नेताद्वारा नेताका निम्ति दलद्वारा दलका निम्ति भइरहेको छ।

विक्रम सम्बतको दुई हजार दशको दशक देखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविष्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रक्रियाका कामहरू भए।

महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा सहरी विकास–शिक्षा तथा स्वास्थ्य केन्द्रको स्थापना, मुलुकी ऐन,भूमि सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन। सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसङ्घको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सक्रिय भूमिका र शान्ति क्षेत्रको घोषणा सम्म पनि यसै अवधिमा भएको हो।

तर यता आएर ती पूर्वाधार ती औद्योगिक आधार–ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन। भए गरेका संरचना भत्काउँदै जाने, रूपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भरता तिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ। त्यसैले चौसट्ठी वर्ष पूर्वको चेतनाको त्यो झिल्को कताकता अहिलेको खाँचो झैँ झल्किरहेको छ।

हाम्रो प्रकृति, हाम्रो श्रम शक्ति र हाम्रो बुद्धि गरिब छैन–गरिबी हाम्रो नियति बनेको छ। दुई छाक खान र एक धरो लाउन हामी धेरैलाई धौ धौ छ। हाम्रा विकसित सहरहरू, गाउँहरू आज उजाड छन्। हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन्। त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण बिदेसिन बाध्य छन्। त्यसै भएर त नेपालगन्ज जस्तो पुरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यथार्थता देख्न, भोग्न र भन्न बाध्य छौ।

अब म भन्छु –अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ। यसको निम्ति के पुरुष, के महिला, के आजका जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नु पर्दछ।

अन्त्यमा बाँके, बर्दिया, दाङजस्ता उर्वर भूभाग भएको र सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला, धनगढी र भैरहवा सम्मको पहुँच केन्द्र रहेको नेपालगन्ज ठुलो व्यापारिक, उत्पादक, वितरक र प्रेरक केन्द्र मानिन्छ – तर पनि जुन रफ्तारमा यसको चौतर्फी प्रभावकारिता हुनु पर्ने हो त्यो भइरहेको छैन। आपस आपसमा मिलेर बस्ने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नु पर्ने भूमिका गहन छ।

विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय थलो नेपालगन्जको आगामी अवधिमा धेरै प्रकारले फड्को मार्नु पर्ने खाँचो देखिन्छ। नेपालको वृहत् सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भूभागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगन्जले अग्रणी स्थान राख्न सक्दछ–त्यसतर्फ कदम बढोस् भन्ने हाम्रो आकाङ्क्षा हो।

धन्यवाद

जय नेपाल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading