पाँच महिनामा सरकारले पायो पूर्णता

पाँच महिनामा सरकारले पायो पूर्णता

काठमाडौँ : सरकार गठन भएको पाँच महिनामा बल्ल मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। पुस ११ मा प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल प्रचण्डले बल्ल मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

११ औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले एक मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद्लाई २५ सदस्यीय बनाएका छन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादव नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण र प्रमीला कुमारीलाई शिक्षा राज्यमन्त्रीको नियुक्त गरेका हुन्। मङ्गलवार एक मन्त्री र एक राज्यमन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ।

पुस ११ मा प्रधानमन्त्री नियुक्त प्रचण्डले ३, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत, ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय पुर्‍याएका थिए। मङ्गलवार मन्त्रिपरिषद्मा दुई सदस्य नियुक्त गरेर प्रधानमन्त्री बनेको पाँच महिनामा प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

मङ्गलवार थपिएका दुवै जना जसपाबाट हुन्। जनता समाजवादी पार्टीका वीरेन्द्र कुमार महतो सिराहा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन्। प्रमीला कुमारी जनता समाजवादी पार्टीबाट राष्ट्रिय सभा सदस्य हुन्।

२५ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खानेपानी, सङ्घीय मामिला तथा सामान्य प्रशासन गरी ७ मन्त्रालयको जिम्मेवारी पाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माओवादीले राज्यमन्त्री नियुक्त गरेको छ। माओवादीबाट सरकारमा ७ मन्त्री र एक राज्यमन्त्री बनेका छन्।

काँग्रेसले नौ मन्त्रालयको जिम्मेवारी पाएको छ। सरकारमा नेपाली काँग्रेसले रक्षा, कानुन, न्याय तथा संसदीय मामिला, अर्थ, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएको छ।

नेकपा एकीकृत समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ। समाजवादीले कृषि तथा पशुपक्षी विकास र भौतिक पूर्वाधार तथा यातायातको जिम्मेवारी पाएको छ।

जनता समाजवादी पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ। जसपाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र राज्यमन्त्री र वन तथा वातावरण मन्त्री बनेका छन्। मन्त्रिपरिषद्मा जसपाले ३ सदस्य पाएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading