बजेटमा अर्बपति चौधरीको टिप्पणी : निजी क्षेत्र उत्साहित हुन सकेन

बजेटमा अर्बपति चौधरीको टिप्पणी : निजी क्षेत्र उत्साहित हुन सकेन

काठमाडौं : नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले बजेटले नेपाली काँग्रेसले अङ्गालेको लिबरल इकोनोमीक पोलिसी र प्राइभेट सेक्टरलाई थप अगाडि बढाउने प्रयास गरेको बताएका छन्।

प्रतिनिधिसभामा बजेटमाथि जारी छलफलमा सांसद चौधरीले खेतीपाती लगाउने सिजनमा किसानहरू मलका लागि तड्पिरहनु परेको उल्लेख गरेका छन्। अहिले पनि किसानको आवश्यकताको २५ प्रतिशत मात्रै रासायनिक मल उपलब्ध गराउन सक्ने अवस्था रहेको उनले बताए।

‘बजेटमा हरित अर्थतन्त्र, दिगो विकासको मन्त्र भन्ने नारा त दियौँ तर त्यो नारा सफल पार्ने जिम्मेवारीमा रहेका किसानलाई कहिल्यै मल सम्म दिन सकेनौँ,’सांसद चौधरीले भने,‘जब धान रोप्ने बेला सुरु हुन्छ सरकार रासायनिक मलको खोजीमा हतारिइरहेको अवस्था देखिन्छ। ‘जब पर्‍यो राती तब बुढी ताती’ भन्ने हाम्रो उखान नै छ। यस्तो प्रवृत्तिलाई कायमै राखेर हामीले हाम्रा किसानको अनुहारमा अलिकति पनि खुसी भर्न सक्नेछैनौँ।’

तर, चौधरीले भनेको जब पर्‍यो राती तब बुढी ताती भन्ने उखान भने संसद्को रेकर्डबाट डिलिट भएको छ। महिला सांसद दिपा शर्माले प्रतिष्ठित उद्योगपति चौधरीको शब्दप्रति नियमापत्ति जनाउँदै यस्ता उखान संसद्मा फेरि प्रयोग नगर्न चेतावनी दिएपछि संसद्को रेकर्डबाट हटाइएको हो।

अर्थमन्त्री महतले किन पढेनन् बजेटका ६ बुँदा?

रासायनिक मल र सिँचाइको अभाव, महँगो ज्यालाका कारण देशको उत्पादन छिमेकी मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए। रासायनिक मल वितरणका लागि पेट्रोलियम पदार्थमा जस्तै जिटुजी बेसिसमा नेपालको कुल माग धान्ने गरी स्थायी र भरपर्दो रूपमा आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन? उनले प्रश्न गरे। यो समस्याको स्थायी समाधान सम्बन्धी प्रस्ताव विभिन्न सरकारी निकायमा थन्केर बसेको उनले उल्लेख गरे।

उनले बजेटबाट निजी क्षेत्र उत्साहित हुन नसकेको बताए। देशको समग्र अर्थतन्त्रको ट्रान्सफरमेसनका लागि अत्यन्तै फराकिलो सोच लिन सक्नुपर्ने उनले बताए। ‘हामी स्पष्ट हुनुपर्छ– अर्थतन्त्रलाई अर्को तहमा (नेक्स्ट लेभल)मा पुर्‍याउन हामीसँग दुई वटा विकल्प छन्,’उनले भने,‘पहिलो, जलविद्युत्को निर्यात र दोस्रो, पर्यटन प्रवर्धन।’

छिमेकी मुलुक भारत र चीनसँगको कूटनीतिलाई प्रभावकारी बनाए आगामी ५ वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउन सकिने उनले सुनाए। ‘५० लाख पर्यटक नेपाल भित्रिनु भनेको हाम्रो बेरोजगारीको समस्या करिब सत्प्रतिशतले समाधान गर्नु मात्र नभई हाल विदेशमा रहेका करिब ५० लाख नेपालीलाई पनि स्वदेश फर्काउन सकिन्छ,’उनले भने,‘काठमाडौं, पोखरा र भैरहवाबाट भारत र चीनका सेकेन्ड टायर सिटिजहरूमा ‘सिटी टु सिटी’ उडानको व्यवस्था मिलाउनु अत्यन्तै जरुरी छ। भारतका गोरखपुर र दरभंगाका एयरपोर्टहरूमा ‘उडान’ नामक स्किमले ल्याएको रूपान्तरणकारी परिवर्तन हाम्रो आँखा अगाडि छ।’

बजेट १७ खर्ब ५१ अर्बको : ४ खर्ब ५२ अर्ब ७५ करोड ऋण खोज्नु पर्ने

चालू आर्थिक वर्षमा २ प्रतिशतको हाराहारीमा मात्रै आर्थिक वृद्धिदर हासिल हुने पृष्ठभूमिमा यो लक्ष्य हासिल गर्न कडा मेहनत गर्नुपर्ने उनले सुनाए। यो लक्ष्य हासिल गर्न कति लगानी आवश्यक छ भन्ने हिसाबकिताब सहित सरकार एक्सनमा उत्रिन सक्नुपर्ने सांसद चौधरीले बताए।

देश आर्थिक मन्दीबाट गुज्रिरहँदा निजी क्षेत्रले ३० देखि ६० प्रतिशत टर्नओभर घटेको तथ्याङ्क पेस गरिरहेका छन्। मन्दीका कारण बजारमा करिब ४० प्रतिशतसम्म सटरहरूमा ताला लागेको उनले उल्लेख गरे।

बजेटले वैदेशिक लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने कार्यक्रम अगाडि सारेको छ। ‘गोरु पिट्ने हलो अड्काउने’ व्यवहारमा परिवर्तन गरेर मात्रै लगानी सम्मेलन आयोजना गर्नु उचित हुने उनले बताए।

‘हाम्रा सेजहरू किन ‘गौचरण’ मा परिणत हुदैछन् भन्ने कुराको आत्मबोध नगरी आयोजना हुने लगानी सम्मेलन फेरी पनि दुई दिनको मेला मात्रै साबित हुन सक्नेछ,’उनले भने,‘युवालाई स्वरोजगार बनाउने प्रयोजनका लागि स्टार्टअप र उद्यमशीलतालाई प्रवर्द्धन गर्न युवाहरूलाई तालीम दिने स्टार्टअप फन्ड (बीउपु“जी) मार्फत वित्तीय स्रोत उपलब्ध गराउने कार्यक्रम विगत डेढ दशकदेखिका बजेटमा परिरहेको छ। तर प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading