पशुपतिनाथमा किन पुगे प्रचण्ड?

पशुपतिनाथमा किन पुगे प्रचण्ड?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका छन्। भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुगेर गेरु वस्त्र सहित पूजापाठ गरेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेको ५ महिनापछि पहिलो पटक पशुपतिनाथ पुगेका हुन्।

आफ्नै देशका मन्दिरहरूलाई कम महत्त्व दिइएको भन्दै चर्को आलोचना खेपेका प्रचण्डले भारत भ्रमणबाट फर्केपछि शनिवार साँझ पशुपतिनाथ मन्दिर पुगे।

भारतको मन्दिरमा गेरु वस्त्र लगाएर पूजापाठ गर्ने प्रचण्डले आफ्नै देशको पशुपतिनाथ मन्दिर भने नगएको भनेर चर्को आलोचना भइरहेको थियो। त्यही आलोचनालाई मत्थर पार्न प्रचण्डले शनिवार साँझ पहिलो पटक पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरे।

प्रधानमन्त्री प्रचण्डले पशुपति क्षेत्रको अवलोकन निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ। पशुपति मन्दिरको पनि अवलोकन गरेका प्रचण्डलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए।

प्रधानमन्त्रीले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए। निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती लगायत पनि सहभागी थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आध्यात्मिक बनेका प्रधानमन्त्री पुगेका प्रचण्डले भारत भ्रमणका क्रममा नेपालीको शिर उच्च रहने गरी सम्झौता भएको दाबी गरे।

संसदमा गाईजात्रा, प्रधानमन्त्रीलाई र्‍याखर्‍याखती

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताए। वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको आरोप प्रचण्डले लगाए।

विकासको राजनीतिमा पूर्वाग्रह राख्न नहुने र विकास गर्न राजनीतिक सहमति र राष्ट्रिय सङ्कल्प चाहिने प्रचण्डले बताए। तर, प्रधानमन्त्रीको भारत भ्रमणलाई तारो बनाएको एमालेले अझै उछितो काढ्न छाडेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको भ्रमणमा भारतसँग चुँईक्क बोल्न नसकेको भन्दै गठबन्धन सरकारमाथि नै धारे हात लगाएका छन्।

ठुला र स्थापित दलहरू एक अर्काप्रति खनिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने आगामी निर्वाचनमा बहुमत ल्याउने देखिएपछि अन्य दलहरूले घेराबन्दी गरेको आरोप लगाएका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा लामिछानेले रास्वपाको आगामी बाटो सहज नरहेको समेत बताए।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको टिप्पणी उनले गरे। अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको लामिछानेको भनाइ छ।

पछिल्लो विभिन्न घटना क्रमहरूले दलहरूलाई पार्टी जोगाउन नै नसकिने हो कि भन्न चिन्ता परेका बेला नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवाले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। गठबन्धन गरेर चुनाव लडेकै कारण काँग्रेस ठुलो पार्टी बनेको भन्दै देउवाले एक हुनुको विकल्प नरहेको बताए।

देउवाले एकताका लागि गठबन्धनलाई बलियो बनाउन आह्वान गर्दै गर्दा गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी पार्टीले भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेको छ। अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड र केपी ओली तयार हो भने नेकपा ब्युँताउन आफू तयार रहेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading