नक्कली शरणार्थी : न्यायाधीशको प्रश्नमा वकिल नाजवाफ

नक्कली शरणार्थी : न्यायाधीशको प्रश्नमा वकिल नाजवाफ

काठमाडौं ः नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्न रचिएको अपराधमा पक्राउ परेकाहरूको थुनछेक बहस लम्बिने भएको छ।

प्रतिवादीहरूको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरूको भिड लागेपछि थुनछेक बहस लम्बिने भएको हो।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पक्राउ परेका १८ जनाको थुनछेक बहस चलिरहेको छ।

न्यायाधीश न्यौपानेले मङ्गलवारसम्म बहस सक्न अनुरोध गरेका थिए। तर, मङ्गलवार दिनभर पूर्वमन्त्री बालकृष्ण खाँणको तर्फबाट कानुन व्यवसायीहरूले प्रतिरक्षा बहस गरिरहे।

खाँणका तर्फबाट थुनछेक बहसमा भाग लिएका कानुन व्यवसायीहरूले खाँणलाई राज्य नै लागेर फसाइएको जिकिर गरे। खाँणका कानुन व्यवसायीलाई न्यायाधीश न्यौपानेले राज्यविरुद्धको अपराधमा राज्य नलागेर को लाग्छ त? भनेर प्रश्न गरे।

नक्कली शरणार्थी : मानवीय व्यवहार गर्न न्यायाधीशको आदेश

न्यायाधीशको प्रश्नमा खाँणका कानुन व्यवसायीहरू नाजवाफ बने। खाँणको तर्फबाट पङ्कजकुमार कर्ण, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, यकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले बहस गरेका छन्।

बहसका क्रममा उनीहरूले बयानका आधारमा खाँणलाई ठगी, किर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरेका छन्।

कानुन व्यवसायीहरूले अभियोग पत्र वाचन गर्न थाले पछि न्यायाधीश न्यौपानेले पटक पटक विषयमा आउनुहोस् भनेर अनुरोध नै गर्नु परेको थियो। खाँणका कानुन व्यवसायीहरूको बहस लम्बिए पछि न्यायाधीश न्यौपानेले अदालतलाई निरीह बनाइएको गुनासो गरेका छन्।

खाँणका तर्फबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका थिए। शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये मङ्गलवारसम्म १३ जनाको थुनछेक बहस भएको छ। खाँणसँगै अझै पाँच जनाको थुनछेक बहस हुन बाँकी छ।

बुधवार पनि खाँणका कानुन व्यवसायीले प्रतिरक्षा बहस गर्नेछन्। त्यसपछि मात्रै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, काँग्रेस नेता आङ्टावा शेर्पा, नेपाल प्रहरी अस्पतालमा कार्यरत लक्ष्मी महर्जन, हज समितिका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनको बहस हुनेछ।

प्रतिवादीहरूका तर्फबाट बहस सकिएपछि सरकारी वकिलको तर्फबाट जवाफी हुने छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading