प्रचण्डका चुनौती : सरकार जोगाउने कि सुशासन कायम गर्ने?

प्रचण्डका चुनौती : सरकार जोगाउने कि सुशासन कायम गर्ने?

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल बिरामी परिरहेका छन्। राष्ट्रपतिमा निर्वाचित भएसँगै उनको भारतको अस्पतालमा उपचार गरेर फर्किएका छन्।

उपचार खर्चको विवाद तत्कालका लागि सेलाएको भए पनि राष्ट्रपति पौडेलको सचिवालयले खर्चको विवरण सार्वजनिक गरेको छैन।

मुटुमा समस्या देखिएपछि शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचार गरेर पौडेल बुधवार बिहान मात्रै डिस्चार्ज भएका छन्।

बोहराटारबाट शीतल निवास पुगेका पौडेलको स्वास्थ्यमा पहिलेदेखि नै समस्या थियो र राष्ट्रपति भएपछि च्यापेको भनेर सचिवालयले जानकारी दिएको छैन।

उनी पहिले जस्तो बोहराटारको निजी निवास भित्र छैनन्। अहिले त उनी देशको राष्ट्रपति पदमा आसीन छन्। राजतन्त्र अन्त्यपछि देशको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित पौडेल नेपाली काँग्रेसका वरिष्ठ नेता समेत हुन्।

राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले काँग्रेसको साधारण सदस्यबाट राजीनामा दिइसकेका छन्। उनी कुनै पार्टी विशेष, कुनै व्यक्ति विशेषका मात्रै होइनन्, देशकै अभिभावक समेत हुन्।

राष्ट्रपति पौडेल सरकारको सिफारिस अनुसार अघिल्लो संसद्ले दुई पटक पारित गरेर प्रमाणीकरण रोकिएको नागरिकता विधेयकका कारण विवादमा परेका छन्। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय मगाएर तत्काल कार्यान्वयनमा रोक लगाएको छ।

राष्ट्रपति पौडेलले पहिलो पटक प्रमाणीकरण गरेको कानुन नै विवादमा परेको छ। नागरिकता माग्दै केही युवाहरूले काठमाडौँको माइतीघरमा आत्मदाहको प्रयास समेत गरेका छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले प्रस्तुत गरेको नागरिकता कानुनमा राष्ट्रपति पौडेल मुछिएका छन्।

पौडेल अस्पतालमा भर्ना भएकै राती पूर्वप्रधानमन्त्री देउवा श्रीमती आरजुको साथमा उपचार गराउन सिंगापुर गएका छन्। उनी फलोअप चेकजाँच गराएर एक सातामा फर्कने देउवाको निजी सचिवालयले जनाएको छ।

२०७९ मङ्सिर ४ मा भएको चुनावी परिणामले पहिलो दल बनेको काँग्रेस, माओवादी नेतृत्वको सरकारमा सहभागी छ। काँग्रेसबाट सरकारको नेतृत्व देउवा नफर्के सम्मका लागि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले गरेका छन्।

चुनावको समीक्षा समेत गरेको छैन काँग्रेसले। जिल्ला जिल्लाबाट चुनावमा अन्तर्घात गर्नेहरूको नाम लिस्ट मगाएको काँग्रेसले सिङ्गो केन्द्रीय समिति बैठक राखेर छलफल समेत गरेको छैन। सभापति देउवा गुटको मात्रै नेता बनेको भन्दै महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममै राजीनामा दिन आग्रह गर्दै आएको थिए।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्न रचिएको प्रकरणमा देउवाका विश्वासपात्र पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा छन्। व्यक्तिले गर्ने अपराधमा पार्टी जिम्मा बस्न नहुने अभिव्यक्ति महामन्त्री थापाले दिँदै आए पनि सभापति देउवा सिंगापुर पुगेका छन् कार्यवाहक पूर्णबहादुरलाई दिएर।

पूर्णबहादुरले काँग्रेसबाट सरकारको नेतृत्व गरेका छन् भने राष्ट्रपतिमा पूर्व काँग्रेसी पौडेल छन्। नारिएर चुनावमा भाग लिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री छन्।

एमालेको समर्थनमा तेस्रो पटक देशको प्रधानमन्त्री बनेका प्रचण्डले काम गर्न सहज देखेर काँग्रेसको समर्थन लिए लगत्तै एमाले प्रतिपक्षी बनेको छ।

सरकारमा काँग्रेसको इन्ट्री भए लगत्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ नै संलग्न भएको रिपोर्ट सार्वजनिक मात्रै भएन पक्राउ नै परे।

काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि फरार रहेका एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरी हिरासतमा पुगे। जिल्ला अदालत काठमाडौँमा प्रतिवादी खाँण र रायमाझीको तर्फबाट थुनछेक बहस भइसकेको छ।

पक्राउ परेका १८ मध्ये बुधवार बाँकी ५ जना प्रतिवादीको थुनछेक बहस सकाउने जिल्ला न्यायाधीश प्रेम प्रसाद न्यौपानेले तयारी गरेका छन्। पक्राउ परेका खाँण, रायमाझी देखि पूर्वगृह सचिव टेकनारायण पाण्डेसम्मका कानुन व्यवसायीले आफ्नो पक्ष निर्दोष रहेको दलिल गरेका छन्।

खाँण गृहमन्त्री हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल हुँदा नक्कली शरणार्थी बनाउने काम गरेको अभियोग लगाइएको छ।

प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए

सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नक्कली शरणार्थी बनाउने काममा तत्कालीन मन्त्रिपरिषद् नै संलग्न रहेको आक्षेप लगाइरहेका छन्।

उच्चपदस्थलाई जोगाउन सबै अभियोग आफूमाथि लगाउने आशङ्का समेत रिजालले व्यक्त गर्दै आएका छन्। उनी भुटानी राजाको अत्याचारविरुद्ध सङ्घर्ष गर्दा १० वर्ष जेल जीवन बिताएर दुई दशकदेखि नेपालको शरणमा बसिरहेका छन्।

तेस्रो देश पुर्नवास नभई भुटान नै फर्कन पाउनु पर्ने माग गर्दै आएका रिजाल पनि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर नेपाल प्रहरीको हिरासतमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएको बताएका छन्।

बुधवार बिहान पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका दिवङ्गत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार आफ्नो लागि ठुलो कुरा नभएको बताए। ‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशङ्का गरेको देख्छु–सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने,’प्रधानमन्त्री प्रचण्डले भने,‘तर प्रस्ट रूपमा भन्छु– सरकार मेरा लागि ठुलो कुरा होइन। ठुलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन, झुकिँदैन।’

यसअघि बुधवार बिहान प्रेस सेन्टर नेपालको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका थिए। ‘जनतालाई प्रत्यक्ष सेवा दिने कुरा, विदेशमा गएका नेपालीहरूलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमणमा गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ,’प्रचण्डले भने,‘यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अतालिएका छन्।’

प्रधानमन्त्री प्रचण्डले बोलेर मात्रै नहुने अवस्था छ। काम गरेर देखाउनु पर्ने चुनौती छ। भ्रष्टाचारमा संलग्नलाई खोजिखोजी कारबाही गर्न रोकावट छैन। जनता आजित भइसकेका छन् भ्रष्टाचारका कारण देश खोक्रो भएको देखेर।

वाहवाही कमाउनकै लागि पनि भ्रष्टाचारमा मुछिएकाहरू कानुनी कारबाहीको दायरामा ल्याउँदा प्रचण्ड नेतृत्व सरकारको हाइट बढ्ने राजनीतिक पण्डितहरू बताउँछन्।

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading