महिला वडा सदस्यको हत्या : प्रहरीले पायो कुटपिट गरेको भिडियो

महिला वडा सदस्यको हत्या : प्रहरीले पायो कुटपिट गरेको भिडियो

काभ्रे : नमोबुद्ध नगरपालिका वडा नं ११ की महिला सदस्य ज्ञानी बिकलाई श्रीमान् ४८ वर्षीय शम्भु बिकले कुटिकुटी हत्या गरेका छन्। २९ जेठमा डोरी बाँधेर निर्घात कुटपिट गरेर श्रीमती महिला सदस्य बिकको हत्या गर्ने शम्भुलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीलाई डोरीले बाँधेर कुटपिट गरेका शम्भुले कुटपिटको भिडियो बनाएका थिए। शम्भुले श्रीमतीलाई कुटपिट गरेको भिडियो प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। काभ्रेका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले कुटपिट भएको भएको भिडियो मृतक ज्ञानीकी छोरीले उपलब्ध गराएको जानकारी दिए।

उनले घटना भएकै राती ज्ञानीको उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको बताए। ‘मादक पदार्थ सेवन गरेका शम्भुले विवादपछि श्रीमतीलाई कुटपिट गरेको खबर आयो,’प्रहरी प्रमुख ढकालले पहिचानसँग भने,‘यो घर भित्र भएको हिंसा हो, श्रीमान् शम्भुलाई पक्राउ गरिएको छ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डुण्डीराज न्यौपानेले कुटपिट गरेको जानकारी प्रहरीलाई प्राप्त भए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर ज्ञानीलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताए।

कुटपिटबाट टाउको र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएकी ज्ञानीको उपचारको क्रममा बिहीबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको न्यौपानेले बताए। प्रहरीले वडा सदस्यका श्रीमान् शम्भुलाई घटनास्थलबाटै नियन्त्रण लिएको हो।

वडा सदस्य ज्ञानीको शव धुलिखेल अस्पतालमा नै राखिएको छ। उनका दुई छोरा र एक छोरी छन्। एक जना छोरा भकुण्डेबेशीको एक हार्डवेयर पसलमा काम गर्छन्। अर्का छोरा रोजगारीका लागि खाडी मुलुक पुगेका छन्।

उनी आमाको मृत्युको खबर सुन्ने बित्तिकै छुट्टी मिलाएर शुक्रवार नै नेपाल फर्कदैछन्। ‘शव धुलिखेल अस्पतालमा राखिएको छ,’प्रहरी नायब उपरीक्षक न्यौपानेले भने,‘छोरा आएपछि शव उठ्ने भनिएको छ।’

नमोबुद्ध वडा नं २ का निवर्तमान वडा अध्यक्ष सञ्जीव ढकालले नेकपा एमाले नमोबुद्ध नगर कमिटी सदस्य एवं नमोबुद्ध नगर सभा सदस्य (नमोबुद्ध–११ बाट निर्वाचित वडा सदस्य) ज्ञानी बिकको असामयिक निधनको खबरले अत्यन्त मर्माहत बनाएको लेखेका छन्। ‘यो दुःखद घडीमा मृतक कमरेडप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछु’ ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नमोबुद्ध नगरकी महिला विकास अधिकृत तारा सुनुवारले भेट हुँदा कहिल्यै घर परिवारको कुरा नगर्ने सदस्य बिकको मृत्यु भएको सुन्दा पत्याउनै कठिन भएको बताइन। ‘उहाँसँग भेट भइरहन्थ्यो,भेट हुँदा कहिल्यै परिवारको बारेमा कुरा गर्नु भएन,’उनले पहिचानसँग भनिन्,‘उहाँ अघिल्लो पटक पनि निर्वाचित सदस्य, दोस्रो कार्यकालमा पनि निर्वाचित भएर आउनु भएको थियो, अहिले त श्रीमानले कुटेर हत्या गरेको भन्ने सुन्छु, के भएको होला?’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading