ललिता निवास प्रकरण : हदम्याद लागू नहुने

ललिता निवास प्रकरण : हदम्याद लागू नहुने

काठमाडौं : नक्कली भुटानी शरणार्थी पछि नक्कली मोही खडा गरेर ललिता निवासको सरकारी जग्गा झ्वाम्म पार्ने प्रकरणका आरोपी पक्राउ परेका छन्। प्रहरीले ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको जनाएको छ।

सिआइबीले जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना सहित विभिन्न चार चरण गरेर जग्गा हडप्न खोज्ने ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको जानकारी दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधवार पत्रकार सम्मेलन गर्दै १४३ रोपनी जग्गा हडप्न खोजिएको अनुसन्धानले पुष्टि गरेको बताएको छ।

प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा पक्राउ परेका सात जनामध्ये तीन जना अदालतको स्टे अर्डरमा रिहा भएका छन्। पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

पक्राउ परेका मध्ये भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरुङ बाहेक अन्य तीन जना मालपोत कै कर्मचारी रहेको प्रहरीले जनाएको छ। गुरुङको भूमिका बिचौलियाको रहेको प्रहरीले जनाएको छ।

तत्कालीन मालपोतका अधिकृत धर्म प्रसाद गौतम, मालपोतकै कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका कर्मचारी एवं पूर्वनिर्वाचन आयुक्त सुधिर शाह पक्राउ परेका छन्।

ललिता निवास प्रकरण : पक्राउ परकै दिन ३ जना रिहा

ब्युरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी किरण बज्राचार्यले ललिता निवास प्रकरणमा हदम्याद लागु नहुने बताइन। ‘सानो माछा र ठुलो माछा भन्दा पनि अपराधमा संलग्नता कति छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ,’उनले भनिन्,‘हामी त्यो आधारमा जान्छौ।’

एआइजी बज्राचार्यले सानो भन्दा सानो मुद्दा चलखेल गर्ने पक्ष रहने भन्दै ती पक्षहरूलाई जवाफ दिने यथेष्ट प्रमाण रहेको बताइन। ‘त्यसैले यो मुद्दा सही ढङ्गले अगाडी बढ्छ भन्ने कुरामा म र हाम्रो टिम विश्वस्त छ,’उनले भनिन्,‘हदम्याद लागू हुँदैन।’

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कुनै पनि मूल्यमा विकृति विरुद्धको लडाँईमा लड्ने सङ्कल्प गर्दै प्रधानमन्त्री निवास नै निल्न खोज्नेलाई नछाड्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सिआइबीको कामलाई बल पुग्ने गरी अभिव्यक्ति दिए। ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने प्रकरणका अभियुक्त पक्राउ पर्न थालेका छन्,’उनले भने,‘मिटरब्याजी र सहकारीका ठगहरू माथि कारबाही सुरु भइसकेको छ।’

ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत किर्ते मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading