सिंहदरबारका १८ उपसचिवको मधेस सरुवा

सिंहदरबारका १८ उपसचिवको मधेस सरुवा

काठमाडौं : सिंहदरबारमा अखडा जमाएर बसेका २६ जना कर्मचारी मधेस प्रदेशका विभिन्न स्थानीय तहमा सरुवा भएका छन्।

निमित्त मार्फत सञ्चालन भइरहेको धनुषाको जनकनन्दि गाउँपालिकामा गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृत उत्तम शर्मा, धनकौल गाउँपालिका सर्लाहीमा गृह मन्त्रालयकै गणेश गौतम सहित गृहका अन्य ६ जना शाखा अधिकृतलाई सर्लाहीका विभिन्न स्थानीय तहमा खटाएका छन्।

१८ जना उपसचिवको पनि सरुवा भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव बेदराज फुयाँलको नराइन नगरपालिका धनुषामा सरुवा भएको छ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत उपसचिव काजीबहादुर विष्टको विदेह नगरपालिकामा सरुवा भएको छ। युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लवराज जोशीको शहिदनगर नगरपालिका धनुषामा सरुवा भएको छ।

सिंहदरबारका कर्मचारी सरुवा गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मधेस प्रदेशका स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्यमा झारेका छन्।

पदभार ग्रहण गरेदेखि नै निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानमा लागेका मन्त्री मोदीले मधेस प्रदेशका सबै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त बनाएका हुन्। योसँगै मधेस प्रदेश अब निमित्त प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको मन्त्री मोदीको सचिवालयले दाबी गरेको छ।

मधेस प्रदेशका विभिन्न स्थानीय तहमा अलग सेवा समूह, कृषि, वन, स्वास्थ्य, शिक्षा, प्राविधिक लगायत क्षेत्रका कर्मचारीले प्रशासकीय अधिकृतको रूपमा कामकारबाही गर्दै आएका थिए। त्यस्तै नगरपालिकामा शाखा अधिकृत वा नायब सुब्बा स्तरका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए भने गाउँपालिकामा नायब सुब्बा, खरिदार तहका कर्मaचारी प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए।

यसअघि मधेस प्रदेशमा कोही पनि कर्मचारी जान नखोज्ने बेथिति थियो। मधेस प्रदेशमा सरुवा भएका कर्मचारीहरू हाजिर गर्न जान नखोज्ने र जनप्रतिनिधिले पनि हाजिर गर्न नदिनेजस्ता बेथितिले जरा गाडेको थियो। यहीबिचमा सुशासनको क्षेत्रमा नयाँ फड्को मार्ने गरी मन्त्री मोदीले भटाभट कर्मचारी सरुवा गरेका हुन्।


"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading