"/>
काठमाडौँ : ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ कार्यक्रममा डिल्ली अधिकारीले दिएको अभिव्यक्तिको भुटान पिपल्स पार्टीले आपत्ति जनाएको छ। ‘भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा अभियन्ता डिल्ली अधिकारीले दिएको ऐतिहासिक तथ्य निराधार, तथ्यहीन, कपोलकल्पित र यथार्थभन्दा कोसौँ परको थियो,’पार्टीका अध्यक्ष बलराम पौड्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘जसप्रति हामी खेद व्यक्त गर्दछौँ।’
अधिकारीको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। अमेरिका बसेर पैसा कमाए भन्दैमा इतिहास बङ्ग्याउने अभिव्यक्ति दिन मिल्दैन,’तेस्रो देश पुर्नवास भएका शरणार्थीहरूले सामाजिक सञ्जालमा लेखेका छन्,‘अधिकारीको अभिव्यक्तिको जति आलोचना गरे पनि कम हुन्छ।’
अमेरिकामा रहेका भुटानी नागरिक भक्त घिमिरेले डिल्ली अधिकारीलाई ‘पण्डित’को संज्ञा दिएका छन्। ‘यस्तै हो भने अलि वर्षपछि ‘सन् १९८८ मा भुटान पस्न खोजेका नेपालीहरूलाई सन् १९९० मा आफ्नै देशतिर फर्काइएको थियो’ भन्ने इतिहास बनाउने भए ‘पण्डित’ले,’घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन्,‘सिकार नखेलेको भए राम्रो हुन्थ्यो।’
नेदरल्याड्सको हेगमा रहेका भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले अधिकारीको गलत अभिव्यक्तिले मन खिन्न बनाएको प्रतिक्रिया दिएका छन्। ‘ऐतिहासिक तथ्यलाई बङ्ग्याउने अभिव्यक्तिले भ्रम पैदा गरेको छ,’कार्कीले भने,‘कृपया यस्ता अभिव्यक्तिको भ्रममा नपर्न आग्रह गर्दछु।’
कार्कीले इतिहासको तोडमोड गर्ने अभिव्यक्ति सच्याउन डिल्ली अधिकारीलाई अनुरोध गरेका छन्। उनले भुटानभित्र रहेका नेपाली भाषी साथसाथै अन्तर्राष्ट्रिय जगतमा रहेका भुटानीको अस्तित्वमा गम्भीर चोट लाग्ने अभिव्यक्ति नदिन र अनुसन्धान नगरी हल्का रूपमा प्रस्तुत नहुन पनि भनेका छन्।
‘भुटानमा नेपाली भाषी भुटानी १६२४ देखि नै बसोबास गरेको इतिहास पाइन्छ। भुटानमै जन्मेका आमा बुबा अहिले ९० वर्षको हुनुहुन्छ, उहाँहरूको कोखमा म १९७० मा जन्मिएको हुँ,’कार्कीले भने,‘अहिले आएर १९७२ देखि भुटानमा नेपाली लगेको भन्ने डिल्ली अधिकारीको भनाई तथ्यहीन, कपोलकल्पित र अनुसन्धान नगरी हल्का हिसाबले प्रस्तुत गरेकोमा उहाँले यो विषयमा गम्भीर भएर गल्ती सच्याउनु पर्छ।’
अधिकारीको अभिव्यक्ति ऐतिहासिक तथ्यलाई मनगढन्ते कहानीद्वारा धुमिल गराउने उद्देश्यको भएको पौड्यालले बताएका छन्। ‘उनको भनाई अध्ययन कमीको उपज हो र ऐतिहासिक भूल हो’ पौड्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ। उनले यस प्रकारका आधारहीन र इतिहास सम्बन्धका झुटा अभिव्यक्तिलाई सच्याउन अधिकारीलाई आग्रह पनि गरेका छन्।
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशि पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेकी थिइन।
विज्ञप्ति यस्तो छ :
नब्बेको दशकमा भुटानको निरङ्कुश सरकारले बलपूर्वक गलहत्त्याइएपछि धेरै भुटानी नागरिकहरू छिमेकी मुलुक भारत प्रवेश गरे। तर भारतले आश्रय नदिँदा सबै विस्थापित भुटानी नेपाल प्रवेश गर्न बाध्य भए। अझै पनि हामीसहित करिब ७ हजार नेपालमा आश्रित छौँ। दुई दशकसम्म नेपालमा शरण लिएका करिब ९० प्रतिशतभन्दा धेरै विस्थापितहरू पुनर्वास प्रक्रिया अन्तर्गत विभिन्न विकसित देशमा पुगे। ती मध्ये धेरैले समाज सेवालाई प्राथमिकता दिँदै अघि बढे।
अमेरिकामा पुनर्वास भएका मध्येबाट डिल्ली अधिकारीको अध्यक्षतामा इन्स्ट्रा फाउन्डेसन स्थापना भएको छ। र यो पनि समाज सेवामा संलग्न छ। नेपालमा छुटेका आश्रित परिवार जो अन्यायपूर्ण तौरबाट एक्लो पारिए। बिना राहत र आफन्तबाट टाढा भएर बाच्न विवश तुल्याइए। त्यस्ता असहाय बृद्धबृद्धालाई यो फाउन्डेसनले आर्थिक सहयोग दिने गरेको छ। शरणार्थी बालबालिकाको आधारभूत शिक्षा र स्वास्थ्य सेवाको आंशिक सुविधातर्फ पनि यस फाउन्डेसनको योगदान छ। यस कार्यप्रति निर्वासित भुटानीहरूको तर्फबाट भुटान पिपल्स पार्टी हार्दिक आभार प्रकट गर्दछ।
विश्वभर छरिएका नेपाली समुदायभित्र लुकेका कला, संङगीत र आवाजलाई खुल्ला मञ्चमा प्रस्फुटन गराउने उद्देश्यले इन्स्ट्रा फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ निकै स्वागतयोग्य कार्यक्रम थियो। जो निर्विघ्नताका साथ सम्पन्न भइसकेको छ। उक्त कार्यक्रमको समापन समारोहमा इन्स्ट्रा फाउन्डेसनका प्रमुख कार्यकारी अभियन्ता डिल्ली अधिकारीले दिएको सारगर्वित मन्तव्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको देखिन्थ्यो। विश्व भरिका नेपाली मनलाई एकै थलोमा सूत्रबद्ध गर्ने फाउन्डेसनको प्रयासलाई हामी पनि सम्मान गर्दछौँ। तर, भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा अभियन्ता डिल्ली अधिकारीले दिएको ऐतिहासिक तथ्य चाहिँ निराधार, तथ्यहीन, कपोलकल्पित र यथार्थभन्दा कोसौँ परको थियो। जसप्रति हामी खेद व्यक्त गर्दछौँ।
वास्तवमा, भुटानका नेपाली समुदायको इतिहास सन् १६२४ बाट आरम्भ हुन्छ। सन् १६२४ मा तत्कालीन भुटानका धार्मिक प्रमुख साब्डुङ्ग नवाङ्ग नाम्ग्येलले तत्कालीन गोर्खाका राजा राम शाह र सन् १६४० मा काठमाडौँका राजा शिवसिंह मल्लसँग मैत्री सम्बन्ध स्थापित गरी आधिकारिक रूपमा भुटान लगिएका सन्तान हुन् नेपाली समुदायमा भुटानीहरू। सन् १९०७ मा भुटानमा राजतन्त्र स्थापना गर्ने अभियानमा भुटानमा शताब्दी औँ देखि बसोबास भएका गर्जमान गुरुङ, जङ्गबहादुर प्रधान, धनवीर बुढा, कीर्तिमान क्षेत्री, बलबहादुर नेपाल, गुमानसिंह थापा, गञ्जबहादुर क्षेत्री, लालवीर तामाङ, पूर्णसिंह कटुवाल, लालसिंह गुरुङ र नन्दलाल क्षेत्रीले काठमाडौँका राजा र कलकत्ताका बेलायती अधिकारीहरूको समर्थन लिनका लागि अहम् भूमिका निर्वाह गरेको इतिहास साक्षी छ। यस्तो ऐतिहासिक तथ्यलाई मनगढन्ते कहानीद्वारा धुमिल गराउने उद्देश्यको त्यो उनको भनाई अध्ययन कमीको उपज हो र ऐतिहासिक भूल हो।
भुटानका नेपाली समुदायको घरघरमा नेपालका राजा रानीका तस्बिर सजाइन्थे भन्ने उनको अभिव्यक्ति पनि सर्वथा नेपालको सरकार र नेपालका नेपाली नागरिकको मन आफूप्रति आकर्षित गराउने मनगणन्त प्रयास देखिन्छ। यद्यपि भुटानमा हरेक घरदैलोमाथि चार राजाहरू साथसाथै विश्वका प्रतिष्ठित व्यक्तिहरूको तस्बिर, आफन्तहरूको तस्बिर सजाएर राख्ने चलन थियो र एकाध परिवारले नेपालका राजा रानीलाई पनि सजाउँथे। तर त्यसलाई समग्र नेपाली समुदायको सम्मान हो भन्ने आधारहीन तथ्य मान्न सकिँदैन। यसर्थ यस प्रकारका आधारहीन र इतिहास सम्बन्धका झुटा अभिव्यक्तिलाई सच्याउन म अधिकारीज्यूलाई आग्रह गर्दछु।
डिल्ली अधिकारीबाट नेपालमा रहेका भुटानी शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि सार्वजनिक मञ्चबाट नेपालका प्रधानमन्त्रीलाई प्रत्यक्ष आह्वान गरेको विषय अत्यन्तै सान्दर्भिक छ, हामी स्वागत गर्छौँ। संसारभरका नेपाली समुदायलाई भावनात्मक एकतामा बाँध्ने उनको प्रयासलाई हामी पनि सम्मान गर्छौ। तर कहिले भावनामा बगेर ‘हामी बेचिएका नेपाली रहेछौँ’ भन्ने, कहिले ‘हामी राजा जिग्मी दोर्जीको शासनकालमा भुटान लगिएका नेपाली हौँ’ भन्ने अभिव्यक्ति उनको निजी भावना हो, यसले समग्र भुटानका नेपाली समुदायको अभिव्यक्ति र अस्तित्वलाई प्रतिविम्वित गर्दैन।
किन भने दोस्रो राजाको पालोमा नेपाली समुदायका अभिभावक गर्जमान गुरुङ र गुलिङ्ग गजमेर मारिए। महासुर क्षेत्रीलाई ज्यूँदै छालाको धोक्रोमा हाली हत्या गरियो। तेस्रो राजाको पालोमा जनताको बोल्न पाउने अधिकारमाथि बन्देज लाग्यो। चौथो राजाले गरेको नरसंहारका कारण तीन दशकअघि लाखौँ नागरिक शरणार्थी बन्न पुगे। त्यसैले इतिहास, जनताको योगदान, नागरिकको अधिकार र अस्तित्वलाई आफ्नो निहित स्वार्थका लागि बदल्ने वा मेटाउने दुस्साहस कसैले गर्नु हुँदैन। इतिहास मानव अस्तित्वको धरोहर हो। यसलाई कसैको भावनामा साट्नु अपराध हुन्छ। त्यो क्षमायोग्य पनि हुँदैन।
बलराम पौड्याल
अध्यक्ष
भुटान पिपल्स पार्टी
निर्वासनका अघिल्ला अध्यायहरु
नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४
भुटानमा ३० वर्ष जेल बिताएका मधुकर बास खोज्दै नेपालमा
नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११
नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०
टेकनाथसँगै जेल पर्यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९
रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)
टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७
नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५
भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४
अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३
राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)
नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.