भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्यालले दिए प्रशासनमा उजुरी

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्यालले दिए प्रशासनमा उजुरी

काठमाडौँ : भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको कैफियत प्रतिवेदनमाथि आउँदो बिहीबार सुनुवाइ हुँदै छ। नक्कली भुटानी शरणार्थी मुद्दामा जेल परेका रिजालसहित १८ जनाकै पुनरावेदन निवेदनमा एकमुष्ट सुनुवाइ हुन लागेको हो।

काठमाडौँ जिल्ला अदालतले दिएको फैसला अनुसार रिजाल जेल परेपछि शरणार्थी शिविरमा रहेका नागरिकको स्वदेश फर्कने आशा धमिलो बन्दै गएको छ। उच्च अदालतमा रिजालसहितका आरोपीले दिएको पुनरावेदन निवेदन बिहीबार पेशीमा चढ्ने अदालतका प्रवक्ता प्रेम खड्काले जानकारी दिए।

बिहीबार नसकिए निरन्तर सुनुवाइका लागि अर्को हप्ता बिहीबार पुन पेशीमा चढ्ने खड्काले बताए। ‘बिहीबार मुद्दा पेशीमा चढ्छ, सुनुवाइ हुन्छ,’उनले पहिचानसँग भने,‘वकिलहरूको सङ्ख्या कति हुन्छ, त्यसअनुसार त्यही दिन सुनुवाइ नसकिए अर्को बिहीबारलाई निरन्तर सुनुवाइमा पनि रहन सक्छ।’ थुना बाहिरै रहेर मुद्दा लड्न पाउनु पर्ने जिकिर रिजालसहितका आरोपीको छ।

परिबन्दमा पारेर फसाइएको दाबी गर्दै आएका रिजालको न्यायिक सुनुवाइका लागि उनकी श्रीमती कौशिला रिजालले अनुरोध पनि गरेकी छन्। सन् १९८९ मा भुटानी राजाको अत्याचार सहन नसकेर शरण लिन नेपाल आएका रिजाललाई तत्कालीन पञ्चायती सरकारले भुटानमै सुपुर्दगी गरेको थियो।

‘आखिर नेपाल सरकारले मलाई पक्राउ गरेर भुटान सरकारसमक्ष किन सुम्पियो?’रिजालले आफ्नो निर्वासन पुस्तकमा प्रश्न गरेका छन्। रिजाललाई नेपालबाट पक्राउ गरेर भुटान पुर्‍याएको बेला भारतमा राजीव गान्धी प्रधानमन्त्री थिए भने नेपालमा वीरेन्द्र राजाको शासनकाल थियो। ‘नेपाली जाति कुन हदसम्म देशप्रति प्रेम गर्छन् र राजतन्त्रप्रति आस्थावान् छन् भन्ने गहिराइमा नपुगी यदि म र ल्होत्साम्पा समुदायप्रति नेपाल सरकारले धारणा बनाएको थियो र मलाई भुटान सरकार समक्ष सुम्पेको हो भने यो नेपालको ठुलो कूटनीतिक भूल थियो’ रिजालले पुस्तकमा लेखेका छन्। (निर्वासन अध्याय १८ सुन्नुहोस्)

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याललाई २३ वर्ष अघि बुढाथोकी हत्या प्रकृतिकै धम्की

रिजाल अहिले ७६ वर्षका भए। तर, पूर्वभुटानी शरणार्थी डिल्ली अधिकारीले सन् १९७२ मात्रै नेपालीहरूलाई भुटानका तेस्रो राजाले भुटानमा स्वागत गरेको अभिव्यक्ति दिएपछि नेपालमा रहेका र तेस्रो देश पुर्नवास भएका भुटानी नागरिक रिसाएका छन्। अधिकारी संस्थापक अध्यक्ष रहेको इन्ट्रा फाउन्डेसनले गत वर्ष गरेको ‘मेरो भ्वाइस कप’ मा ‘हामी त बेचिएका नेपाली पो रहेछौँ’ भनेर अधिकारीले दिएको अभिव्यक्ति प्रति पनि नेपाली भाषी भुटानीले आपत्ति जनाएका थिए।

यो वर्ष ‘सन् १९७२ मा नेपालीहरूलाई भुटानका तेस्रो राजाले भुटानमा स्वागत गरेको र चौथो राजाले देशबाट निष्कासन गरेको’ अभिव्यक्ति दिएपछि अधिकारी फेरी चर्चाको पात्र बनेका छन्। नर्वेस्थित युनिभर्सिटी अफ स्टाभांगरका विद्यावारिधि अध्येता रमेश गौतमले रियालिटी सोमा भुटानी इतिहासको अपव्याख्या शीर्षकमा ‘आर्थिक सम्पन्नताले सृजित प्रशंसाले मातिएर डिल्ली अधिकारी स्वघोषित रूपमा भुटानी नेपालीहरूको प्रतिनिधित्व गर्दै काठमाडौँको मञ्चबाट राज्यसत्ताको भाष्यका अगाडि आत्मसमर्पण गर्दै छन्’ लेखेका छन्।

पत्रकार एवं लेखक भक्त घिमिरेले पौड्याललाई धम्की दिनु चरम असभ्यताको नमुना भएको बताएका छन्।

भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले डिल्ली अधिकारको तर्फबाट उल्टै विज्ञप्ति सच्याउन दिएको धम्कीविरुद्ध प्रशासन कार्यालयमा उजुरी दिएका छन्। पौड्यालले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका हुन्। धम्की दिने व्यक्ति अमेरिकामा बसोबास गर्ने भुटानी नागरिक नै रहेको शङ्का गरिएको छ। नेपालको सिमबाट पौड्याललाई धम्की दिएका व्यक्तिको पहिचान भने भएको छैन।

अध्यक्ष पौड्यालले ज्यानको सुरक्षा र धम्की दिने व्यक्तिलाई खोजी गरी कारबाही गर्न उजुरी दिएका हुन्। उनले उजुरी प्रशासन कार्यालयमा दर्ता गराए पनि प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क भने हुन नसकेको बताए। ‘धम्कीविरुद्ध उजुरी दर्ता गराएको छु,’उनले पहिचानसँग भने,‘सुरक्षाको माग गरेको छु,धम्की दिने व्यक्ति पहिचान गर्न भनेको छु।’

पौडेललाई दिइएको धम्कीको सम्पादित अंश :

बलराम पौड्याल र बिबी बस्नेत भनिएका व्यक्तिबीचको संवादको सम्पादित केही अंश यस्तो छ:

पौड्यालः म पराय मान्छे नै होइन, डिल्ली अधिकारीले राम्रो काम गर्नु भएको छ। इतिहासलाई बङ्ग्याउने काम मात्र नगर्ने काम गर्नु भयो। त्यसलाई सच्याउनु पर्छ भन्ने मात्रै आशय हो। अरुथोक त केही छैन। उहाँले गरेका काम धेरै छन्। त्यो विज्ञप्तिमै मैले जनाएको छु। त्यस्तो अप्ठ्यारो त केही पनि लाग्दैन मलाई। उहाँले बेलडाँगीमा गएर पनि बोल्नु भएको छ। त्यतिबेला पनि इतिहास हाम्रो यस्तो हो, त्यो छोटकरीमा भन्दा गलत सम्झिए कसैले; वास्तवमा त्यो होइन भन्या भए सकिजान्थ्यो। उहाँले फेरि अलिकति त्यहाँ बेलडाँगीमा पनि त्यही दोहोर्‍याउनु भयो जस्तो लाग्छ मलाई है। मेरो उहाँसँग अरू कुनै प्रतिशोध होइन।

बस्नेत: होइन, मचाहिँ के भन्छु भने त्यो बारेमा केटाहरू धेरै आक्रोशित छन् । उहाँको पनि तपाईँले लेखेपछि र त्यो मिडियामा प्रेस विज्ञप्ति गरेपछिको कुरा धेरै आक्रोशमा आएको छ फेरि हैन ! वाट्यापमा, मिडियामा धेरैले धेरै कुरा लेखेका छन्; हजुरले सच्याउनु पर्छ त्यो । एक त हिसाबकिताबले; उहाँको त्यो भनाइ कुन तार्किक हिसाबमा भन्नुभएको थियो; उहाँलाई हिस्ट्री थाहा नहुने कुरै होइन । उहाँ त अब ….(कुनै डिग्रीको नाम भनेजस्तो तर, नबुझिने) गरेको मान्छे । धेरै पहिलाको मान्छे, त्यस पछाडि क्याम्प सचिव पनि गर्नुभएको हो । त्यसो हुँदा खेरी अहिले हाम्रो भुटानी समाजले मात्रै नभएर उहाँलाई सारा नेपाली संसारलाई जोड्ने उहाँले कार्य गर्दै हुनुहुन्छ भने हजुरले लेखेको कुराहरूलाई सच्याइदिन अनुरोध गर्छु । त्यो कुरो माथि जानुभन्दा पहिले हजुरले सच्याइदिनुहोला । म तपाईँको शुभचिन्तक भएर सुझाव गरेको हो । यहाँ कोही पनि बिग्रनु हुन्न, होइन? कुनै युवाहरू चाहिँ अगाडि बढ्दै छन् भने खुट्टा तानेर तल झार्नु हुँदैन सर । हामीले अलिकति के हो त…!

पौड्यालः तपाई तेस्रो मुलुक जानु भएन र?

बस्नेत:…होइन, म यूएसमै छु निः । अहिले काम विशेषले पोखरा छु के । र…साथीहरूले धेरै आक्रोशमा कुरा गरे । तपाईँलाई डेफिनेट्ली अख्तियार लाग्नेवाला छ । जहाँसम्म मैले बुझेँ, धेरै धेरै आक्रोशमा आउनुभएको छ, मैले बुझेँ साथीहरू ! हजुर एकदमै त्यो बारेमा सचेत रहनु होला । होइन: अ…अब त्यस्तो कुरो छ ।

पौड्यालः तपाईँको नाम पो के हो? म त बिर्सी पो हाल्छु हौ, बुढो भइयो !

बस्नेत: मधुरो स्वरमा …मेरो नाम डिबी बस्नेत हो। (उनले नाम बताउँदा डिबी वा बिबी भन्ने स्पष्ट छैन। पौड्यालले डिबी बस्नेत भनिरहँदा उनले सफाइमा नाम सुधारेका पनि छैनन्। बरु पुरानो शरणार्थी शिविरको ठाउँ ठेगाना बताएका छन्)

पौड्यालः त्यस्तो केही छैन । उहाँले त्यस्तो लिनै हुँदैन क्या । खासमा इतिहास यो हो भनेर उहाँले भन्दिँदा सकिजान्छ । मैले के सच्याउनु र? मैले कुनै क्राइम गरेको होइन । उहाँले पनि क्राइम गरेको होइन । खाली हाम्रो इतिहास बांग्यो भनेर सचेतता हो, जिग्मे वाइ. थिन्लेले जे भन्थ्यो, त्यही कुरा भयो क्या । विशेष गरी । उहाँले छोटोमा भन्नु भाको होला, भन्न थाल्नु भाको होला तर, ७२ मा त हामी गएका होइनौँ नि त !

बस्नेत: उहाँले अर्कै विषय सोचेर चाहिँ उहाँले भन्नुभएछ हैन ! तर, अँ…उहाँको गुनासो र उहाँको भनाइ के भने प्रेस विज्ञप्ति निकाल्नुभन्दा अघि उहाँलाई एक पटक कल गर्नु भएको भए… उहाँलाई हामीले यति मानेको मान्छे भनेर उहाँको एकदमै ठुलो आक्रोश छ । …बलराम जिले फिर्ता लिनु भएन भने चाहिँ म ….भनेर उहाँको त्यस्तो छ है । उहाँको चैँ यदि बलरामजीले त्यो फिर्ता गर्नुभएन भने मचाहिँ अख्तियार विभागमा मुद्दा हाल्छु, गुप्तचर विभागमा जान्छु भन्ने उहाँको भनाइ रहेको छ । र, अरू साथीहरू पनि आक्रोशमा छन् । त्यसले गर्दा खेरी साथीहरूले मलाई किन त्यस्तो लेखेछन्, तपाईँहरू सँगसँगै हिँडेका मान्छे: तपाईँले कल गरेर बुझिदिनुस् भने । त्यही भएर मैले तपाईँलाई कनट्याक्ट गरेको हो ।

पौड्यालः त्यस्तो होइन, गुप्तचर के के भन्ने कुरो आफैँ माथि फर्केर थुक्नु भन्छन् नि। ‘उँभो फर्केर थुक्दा आफ्नै अनुहारमा आउँछ ।’ त्यस्तो ठुलो क्राइम कसैले गरेको छैन । उहाँले पनि गर्‍या छैन । हामीले पनि गरेको छैन । खाली बोली रड्केको कुरा हो । त्यसलाई सच्याउनु पर्छ भन्ने हाम्रो कुरो हो । हामी त त्यही विषयमा समस्या परेर…हामीलाई हिजो अस्ति गएको भन्दै खेदेको हुनाले; त्यसैको वकालत गरिरहेका छौँ । उहाँ पनि त्यही पीडाबाट शरणार्थी बन्नु भएको । त्यो कुरो किन बिर्सेको भनेर सम्झाउन खोजेको मात्रै हो । अख्तियार जाने खोइ त्यो त ! उहाँको आफ्नो विषय होला । त्यहाँ नै जाने त्यस्तो क्राइम के नै छ र त्यो?

बस्नेत: मेरो कुरा के भने त्यो हजुरले विज्ञप्ति फिर्ता लिनु पर्‍यो । कि त अख्तियार र गुप्तचर विभाग फेस गर्न तयार हुनुपऱ्यो !

पौड्यालः के यो तपाईँको धम्की हो?

बस्नेत: धम्की होइन, साथीहरू, केटाहरू धेरै आक्रोश भएका छन्; धम्की त होइन सर । म त हजुरको धेरै शुभचिन्तक हो । कोही पनि नबिग्रिऊँ भन्ने मेरो चाहिँ सोचाई हो ।

पौड्यालः यसलाई म के सम्झिऊँ? धम्की सम्झिऊँ कि सल्लाह सम्झिऊँ?

बस्नेत: सल्लाह सम्झिनुस् न । हजुरको शुभचिन्तक भएकोले गर्दा म बाट हजुरलाई सल्लाह ।

पौड्यालः होइन गल्ती त यस्तो निः अब डिल्ली अधिकारीलाई त्यस्तो लाग्या छ भने आफैँ फोन गर्दा पनि त उहाँको आफन्तै हुँ । परचक्री होइन । हामी बसेर छलफल गर्दा हुन्छ । एक ठाउँ बसेर एउटा निर्णयमा पुगेर संयुक्त प्रेस विज्ञप्ति निकाल्दा पनि हुन्छ । त्यो त गाह्रै छैन नि।

बस्नेत: हजुरले उहाँलाई कनट्याक्ट गरेर कुरा गरे हुन्छ नि । उहाँसँग मेरो भेट पनि छैन ।

पौड्यालः उहाँको नम्बर मलाई दिनु न त ।

बस्नेत: म खोजी गरेर पाए भने पठाइदिन्छु नि त ।

पौड्यालः एसएमएस गरिदिनु नि त। त्यस्तो क्राइम भन्ने कुरा केही होइन। अख्तियार, केही भन्ने त त्यो धम्कीको भाषा हो । अख्तियार नै जाँदा त हामी पनि जान सक्छौँ नि गाह्रो हुँदैन । नेपालको अख्तियारमा के नै तलमाथि गरेका छौँ र जानुपर्छ? त्यो बुझ्ने कुरा हो । ठिकै छ मलाई नम्बर दिनू । हामी छलफल गरौँला ।

बस्नेत: साथीहरूसँग बुझेर नम्बर उपलब्ध गराउँछु।

पौड्यालः हुन्छ भाइ धन्यवाद ।

अधिकारीलाई आफ्नो अभिव्यक्ति सच्याउन अनुरोध गरेको भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले उल्टै धम्की पाएका छन्। अधिकारीको धम्कीको प्रवाह नगरी ग्रेटर क्लिभल्यण्ड भुटानी समाज अमेरिकाका अध्यक्ष तोया नाथ खतिवडाले संसारभर छरिएका तमाम नेपाली भाषी भुटानी, सामाजिक अभियन्ता र बौद्धिक जगत् समक्ष विवादास्पद अभिव्यक्तिको सार्वजनिक खारेजीको लागि अपिल गरेका छन्।

अपिल यस्तो छ :

गत मिति अगस्ट १९ तारिख सन् २०२३ का दिन काठमाडौँ नेपालमा इन्ट्रा फाउण्डेशनद्धारा आयोजित ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स’ को समापन समारोहमा आयोजक संस्थाका संस्थापक अध्यक्ष डिल्ली अधिकारीले नेपाली भाषी भुटानीको ऐतिहासिकताबारे गरेको अपरिपक्व टिप्पणी प्रति ग्रेटर क्लिभल्यण्ड भुटानी समाजको गम्भीर ध्यानाकर्षण भएको छ। ऐतिहासिक प्रमाणहरूले स्वतः खारेज गर्ने उहाँको अपरिपक्व अभिव्यक्तिबारे समुदायको धारणा यहाँ सार्वजनिक गरिएको छ। ‘सन १९७२ मा तत्कालीन राजा जिग्मे दोर्जीले नेपालबाट नेपाली भाषी भुटान लगेको र तीनै जनतालाई चौथो राजा जिग्मे सिङ्गेले लखेटेको’ भनेर जसरी डिल्ली अधिकारीको निराधार अभिव्यक्ति आएको छ, त्यसले सदियौँदेखि भुटान देशको निर्माणमा समर्पित रहिआएको नेपाली भाषी भुटानीको इतिहास मेटाउने दुष्प्रयास गरेको छ। यस कुराले भुटान भित्रका नेपाली भाषी देखि लिएर संसारभर छरिएका निर्वासित भुटानीहरूको इतिहास र अस्तित्वमाथि गम्भीर षड्यन्त्रको आशङ्का पैदा गराएको छ।

तमाम ऐतिहासिक स्रोत र प्रमाणहरूले भुटानको सुव्यवस्थित निर्माण गर्ने निर्णायक जनसमुदायको रूपमा नेपाली भाषी जनसमुदायको योगदान, भूमिका इतिहासले प्रमाण गरिसकेको परिप्रेक्ष्यमा डिल्ली अधिकारीको अपरिपक्व धारणा स्वतः खारेज हुन्छ। सन १९७२ भन्दा दशकौँ पहिले भुटानमा जन्मिएका अग्रज बृद्धबृद्धा अझै जीवित रहेको र उहाँहरूले समेत भुटानमा आफ्नो जातिको सदियौँ पुरानो इतिहासको वकालत गरिरहेको तथ्य सर्वविदितै छ।

अग्रज नेपाली भाषी भुटानी जानकारहरू मध्ये धेरैले सन १६२४ लाई आधिकारिक समय मानेका छन् भने केहीले त्यस कालखण्ड भन्दा सदियौँ पहिलेको समयतर्फ सङ्केत गरेका छन्। प्रायः विदेशी इतिहासकारले समेत १८६५ आस–पासको कालखण्डमा नेपाली भाषी जनता भुटान प्रवेश गरेको हुन सक्ने अनुमान गरेका छन्। चौथा राजा जिग्मे सिङ्गेले समेत सन १९५८ भन्दा अगाडि देखिको बसोबास र कर तिरेको प्रमाण खोजेको र सन १९४० देखि १९५० को दशकमा जय गोरखा र सत्याग्रह आन्दोलन भएको तथ्य जस्ता जीवित सबुतहरू आज पर्यन्त भेटिन्छन्। सन १९५८ मा नेपाली भाषी जनसमुदायको पहलमा पहिलो पटक संसद गठन भएको र एक प्रकारको प्रतिनिधित्व प्रणाली सुरु भएको इतिहासको समेत जीवित सबुत छदैछन। यस अतिरिक्त सन १९०७ मा राजतन्त्र स्थापना गर्ने समारोहमा नेपाली भाषीहरूको संलग्नताबारे स्वयं राजतन्त्र स्थापना गराउने अङ्ग्रेज, जे.सी. वाइटले लेखेका छन्। त्यस्तै राजतन्त्रको उदय हुनुभन्दा अगाडिकै कालखण्डहरूमा नेपाली भाषी जनसमुदायको बसोबासलाई लिएर अनगिन्ती प्रमाण हुँदाहुँदै तेस्रो राजा जिग्मे दोर्जीको मृत्यु भएर चौथो राजा जिग्मे सिङ्गेले गद्दी आरोहण गरेको साल अर्थात् सन १९७२ बाट नेपाली भाषी समुदाय भुटान प्रवेश गरेको भन्नु यात चरम अज्ञानता हो या त इतिहासलाई तोडमरोड गर्ने बदनियत हो।

अस्तित्व सङ्कटको यस घडीमा सार्वजनिक व्यक्तित्वको रूपमा उदाइसकेका एक जना सफल उद्यमीबाट ऐतिहासिक तथ्य विपरीत यस्तो जाती विरोधी अभिव्यक्ति सार्वजनिक हुनु खेदजनक छ। कुनै पनि व्यक्ति वा संस्थालाई बिना ठोस प्रमाण इतिहासको तोडमरोड वा पुनर्व्याख्या गर्ने अधिकार हुँदैन। हामी ग्रेटर क्लिभल्यण्ड भुटानी समाज यस अभिव्यक्तिको घोर भर्त्सना गर्दै अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफीमा इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी समक्ष माग गर्दछौँ। साथै हामी संसारभर छरिएका तमाम नेपाली भाषी भुटानी, सामाजिक अभियन्ता र बौद्धिक जगत् समक्ष उक्त विवादास्पद अभिव्यक्तिको सार्वजनिक खारेजीको लागि अपिल गर्दछौँ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading