काठमाडौं : मिसन ८४ अघि नै सत्तारुढ दलभित्र सरकारको नेतृत्वका विषयमा खटपट सुरु भएको छ। काँग्रेसका सभापति शेरबहादुर देउवा इतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अराजक भइसकेको भन्दै सरकारको नेतृत्व बदल्ने अभिव्यक्ति दिन थालेको छ।
काँग्रेस नेता शेखर कोइरालाले देशको प्रधानमन्त्री अराजक भइसकेको बताएका हुन्। ‘देशको प्रधानमन्त्री अराजक भइसक्नु भयो, मलाई जिताउनुहोस्, म जातीय राज्य दिन्छु भन्नुभयो,उहाँ पार्टीको सभापति भएर बोलेको भए केही अप्ठ्यारो हुँदैन,’कोइरालाले भने,‘तर देशको प्रधानमन्त्रीले गैरजिम्मेवार कुरा गर्न मिल्दैन,त्यस कारण नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुनु जरुरी छ।’
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्प कलम दाहाल प्रचण्डसँग स्थानीय तहको चुनावका बेला गठबन्धन गर्नु नै भुल भएको उनले बताए। दोस्रो पटक गठबन्धन गरेर अर्को भूल गर्न पुगेको उनले सुनाए।
नेपाली काँग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिवार भरतपुरमा सम्बोधन गर्दै काँग्रेस नेता कोइरालाले प्रधानमन्त्री अराजक भइसकेको भन्दै अब सरकारको नेतृत्व काँग्रेसले गर्नु पर्ने बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने कमजोर बनाउन विभिन्न दलहरूले विभिन्न ढङ्गबाट प्रहार गर्ने क्रम भइरहेको बताएका छन्। उनले एक ढिक्का हुनुको विकल्प नरहेको सुनाए।
गोरखाको अजिरकोट गाउँपालिकाको कार्यक्रममा भ्रष्टाचारका विषयमा सरकारले चलाएको अभियानले एक थरी मान्छेलाई बिछिप्त बनाएको बताए। ‘हामीले सुशासनको पक्षमा भ्रष्टाचारका विरुद्ध ठुलो अभियान नै छेडिएको छ, यसले एक थरी मान्छेलाई बिछिप्त बनाएको छ,’प्रधानमन्त्री प्रचण्डले भने,‘आम जनतालाई अब यो राज्य हाम्रो हो भन्ने सन्देश राम्रैसँग गएको छ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कोशी प्रदेशमा नेकपा एमाले सरकार जोगाउन आफूहरूको पछि लागेको बताएका छन्। अध्यक्ष नेपालले सँगै जान एमालेले आग्रह गरिरहेको बताए।
आफूहरूको सङ्ख्या, खेल्न सक्ने भूमिका, व्यक्तित्वका कारण समस्या पर्दा दलहरूले आफ्नो पार्टीलाई सम्झिने उनले दाबी गरे।
‘नेपालको राजनीतिमा हाम्रो पार्टीको विशेष भूमिका छ। सबैले हामीसँग आशा गरिरहेका हुन्छन्। कतै समस्या भयो हाम्रो पार्टीलाई खोज्छन्,’उनले भने,‘अहिले कोशी प्रदेशमा समस्या खडा भएको छ। हाम्रा साथीको पछि लागेको लाग्यै छन्। मिलौँ न मिलौँ न, सँगै जाऊँ न भनिरहेका छन्। यसको महत्त्व र उपयोगिता देखेर न हो। सङ्ख्या र व्यक्तित्व देखेर पछि लागिरहेका छन्। सङ्ख्या मात्रै महत्त्वपूर्ण हुँदैन।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.